फित्काैली डटकम‘दश थुङ्गा फूल’ समालोचनासङ्ग्रह प्रकाशित हुने
डा इन्दुल केसीको सभापतित्वमा बसेको यस बैठकबाट ‘दश थुङ्गा फूल’ शीर्षकको समालोचनासङ्ग्रह तयार पारी अनुशीलन नेपाल, बालकोट, भक्तपुरले प्रकाशन गर्ने निर्णय गरियो ।

भक्तपुर, २०८० पुस ११ । अनुशीलन नेपालको आयोजनामा ११ जना साहित्यकारहरुको भेटघाटसहितको बैठक आदर्श मावि, लाय्क, ठिमीमा बस्यो ।
डा इन्दुल केसीको सभापतित्वमा बसेको यस बैठकबाट ‘दश थुङ्गा फूल’ शीर्षकको समालोचनासङ्ग्रह तयार पारी अनुशीलन नेपाल, बालकोट, भक्तपुरले प्रकाशन गर्ने निर्णय गरियो ।
बैठकमा साहित्यकारहरू डा इन्दुल केसी, जीवनाथ अधिकारी, पदम दाहाल, दुण्डीराज पोखरेल, बुद्धिकुमार घो, साधुराम गिरी, डा सीता सुवेदी पन्थी, सुनिल सापकोटा र चुडाप्रसाद चौलागाईंको सहभागिता रह्यो । साहित्यकार विष्णु ओली देशबाहिर र प्रजापति तिमल्सिना विशेष कारणले बैठकमा उपस्थित हुन सक्नुभएन ।
यसअघि नै उल्लिखित दशजना साहित्यकारका विविध विधाका दश कृतिको एकअर्काले समालोचना गरी सङ्ग्रह तयार पार्ने र त्यसलाई प्रकाशन गर्ने निर्णय गरिएको थियो । कविता, निबन्ध, समालोचना, लेखनिबन्ध विधाका दश कृतिहरूको दश जनाले गरेका समालोचनाहरूको सङ्ग्रह ‘दश थुङ्गा फूल’ शीर्षकमा कृति तयार पार्ने त्यही निर्णयलाई आजको बैठकबाट कार्यान्वयनमा लैजाने प्रक्रियाको आरम्भ गराइएको छ।
पुस्तकको सम्पादन डा. सीता सुवेदी पन्थीबाट हुनेछ भने प्रकाशन अनुशीलन नेपालबाट हुनेछ। सङ्ग्रह माघको पहिलो हप्ता प्रकाशित हने कुरा अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीले बताउनुभयो ।
अनुशीलन नेपालले यसअघि नौओटा पुस्तक प्रकाशन गरिसकेको छ भने ‘दश थुङ्गा फूल’ १० औँ प्रकाशनोपहार हुनेछ।
०००
Subscribe
Login
0 Comments
Oldest





































