फित्काैली डटकमकृति लाेकार्पण, सम्मान र कविता प्रतियाेगितासँगै साधारण सभा
बेलबारीका ४७ जनाको संयुक्त कवितासङ्ग्रह ‘निहारिका’, तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ र धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को संयुक्त रूपमा लोकार्पण भएको छ ।

बेलबारी, माेरङ २०८० माघ २७ । बेलबारीका ४७ जनाको संयुक्त कवितासङ्ग्रह ‘निहारिका’, तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ र धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को संयुक्त रूपमा लोकार्पण भएको छ ।
पूर्व सांसद तथा वरिष्ठ साहित्यकार हर्कमान तामाङले २०८० माघ २७ गते शनिबार आयोजित एक कार्यक्रममाझ उक्त तीनओटै कृतिको लोकार्पण गर्नुभएको हो ।
संयुक्त कवितासङ्ग्रह ‘निहारिका’ मा बेलबारीका ४७ जना कविको एक एकओटा कविता, तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ मा उहाँका छोटा किसिमका ६९ ओटा कविता र धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ मा उहाँका ५१ ओटा कविता सङ्गृहित गरिएका छन् ।
लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ को टिप्पणी डा. रमेश घिमिरेले, संयुक्त कवितासङ्ग्रह ‘निहारिका’ को टिप्पणी ईरानराईले तथा पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को टिप्पणी उमानाथ भट्टराईले गर्नुभएको थियो ।
सन्दर्भमा साधारण सभा पनि
बेलबारी साहित्य विकास समिति, बेलबारी, मोरङको छैटौँ साधारण सभाको अवसरमा उक्त कृति सार्वजनिक गरिएका हुन् । उक्त अवसरमा रु. २५ हजारसहित साहित्यकार केशु विरहीलाई ‘बेलबारी साहित्य पुरस्कार’ र रु. १५ हजार नगदसहित ललितकलाकार गणेश लामा ‘आँसु’ लाई ‘बेलबारी कला पुरस्कार’ प्रदान गरिएको थियो ।
‘बेलबारी साहित्य पुरस्कार’ हर्कमान तामाङ, रमेशकुमार तामाङ र ईरानराईलाई प्रदान गरिसकिएको थियो भने ‘बेलबारी कला पुरस्कार’ श्याम गौतम, शिव छाङ्छा राई र मेखराज कार्कीलाई प्रदान गरिसकिएको छ ।
स्कुले बालबालिकालाई भाषा–साहित्यतर्फ प्रोत्साहित गर्न आयोजना गरिएको ‘बालकविता तारा’ वीरेन्द्र मावि, बेलबारी–६ की छात्रा भावना तामाङलाई रु. ५ हजारसहित पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट बालकविहरूलाई क्रमश: रु. ४ हजारसहित दोस्रो कसेनी मावि, बेलबारी–४ का छात्र सोलोमन राई, रु. ३ हजारसहित तेस्रो मोरङ चिनारी, बेलबारी–२ की छात्रा जेनिसा कार्की र रु. १ हजारसहित सान्त्वना जनता मावि बेलबारी–१ की छात्रा मनिका बराललाई पुरस्कृत गरिएको थियो ।
उक्त प्रतियोगिताको अन्तिम निर्णायकमा सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचाका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, चर्चित कवयित्री बादलदेवी चाम्लिङ तथा छन्दकवि छवि वैरागी घिमिरे हुनुहुन्थ्यो ।
नयाँ कार्यसमिति
साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा रमेश निरौला, उपाध्यक्षद्वयमा लक्ष्मी रेग्मी सुवेदी र गोविन्दराज चोङवाङ, सचिवमा उमा सिजापती, सहसचिवमा विमला सुवेदी तिम्सिना, कोषाध्यक्षमा शिव पराजुली सहयात्री र सहकोषाध्यक्षमा राजु परियार निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका अध्यक्ष ईरानराईले घोषणा गर्नुभयो ।
त्यसैगरी सदस्यहरूमा विष्णु भण्डारी, रिपुमर्दन खड्का, सन्देश तामाङ, राजकुमार राई, मुना मिश्रा, लीला सुवेदी, कृतिका खतिवडा र तारा चम्लागाईँ हुनुभएको छ ।
लेखा संयोजक तीर्थराज सिग्देल र सदस्यहरूमा शिव छाङ्छा राई तथा शारदा दाहाल चयन हुनुभएको छ ।
कार्यक्रममा साहित्यकारहरू मधु गुरुङ, भूपेन्द्र कोइराला, गणेशप्रसाद दाहाल, जेबी थुलुङ, परशुराम सुवेदी, शङ्कर गुरुङ, सञ्जीव धिमाल, सुन्दर भट्ट, प्रेम गुरुङको आतिथ्य रहेको थियो ।
कार्यक्रम अध्यक्ष तिला लेकालीको अध्यक्षता तथा सचिव धनजित पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































