फित्काैली डटकमप्रगतिशील लेखक संघ मधेश प्रदेशको दोश्रो सम्मेलन सम्पन्न
मार्क्सवादी सौन्दर्य चिन्तनलाई आधार बनाएर प्रगतिशील लेखन अघि बढेकोले यसलाई अझ प्रभावकारी रूपले अघि बढाउन स्रष्टाहरूले जनताका कुरालाई प्राथमिकतामा राखेर कलम चलाउनु पर्ने बताइएको थियो ।

महोत्तरी, बर्दिवास, २०८० माघ २७ गते । प्रगतिशील लेखक संघ नेपाल मधेश प्रदेशकोे दोश्रो प्रदेश सम्मेलन शनिबार नयाँ नेतृत्व चयन गर्दै समापन भएको छ ।
महोत्तरी जिल्लाको बर्दिबास स्थित बर्दिवास उद्योग वाणिज्य संघको सभाहलमा भएको सो भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् प्रलेस नेपालका केन्द्रीय महासचिव डा.देवी दुलाल क्षेत्रीले मार्क्सवादी सौन्दर्य चिन्तनलाई आधार बनाएर प्रगतिशील लेखन अघि बढेकोले यसलाई अझ प्रभावकारी रूपले अघि बढाउनु स्रष्टाहरूले जनताका कुरालाई प्राथमिकतामा राखेर कलम चलाउनु पर्ने बताउनु भएको थियो ।
प्रलेस केन्द्रीय समितिका महासचिव समेत रहनु भएका डा. दुलालले वर्गीय चिन्तनका कुरा आए पनि जनतामा यति बेला निराशा छाएकोले समाज परिवर्तनका लागि र समाजलाई समाजवाद उन्मुख बनाउन लेखकहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।
सो कार्यक्रममा विशिष्ठ अतिथि मधेश प्रदेशसभा सदस्य माननीय शारदा थापाले संस्था चलाउन सहज नभएको तर संस्थामा पद ओगटेर काम केही नगर्ने प्रवृति हावी भएकोले त्यसमा लेखकहरूले सुधार गर्नु पर्ने कुरामा जोड दिनु भएकाे थियो ।
बर्दिवास नगरपालिकाकी उपमेयर सुनिता सिं बुढाथोकीले लेखक साहित्यकारहरूले धेरै कुरा लेख्न बाँकी रहेको र समाजलाइ नयाँ बाटोमा लैजान समाजको उन्नति प्रगतिका लागि बाटो देखाउने तरिकाले लेख्नु आजको आवश्यकता भएको बताउनु भएको थियो ।
प्रलेसकी केन्द्रीय सदस्य पार्वती राउतको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रम प्रलेस केन्द्रीय उप महासचिव तथा प्रलेसका मधेश प्रदेश इन्चार्ज बालमुकुन्द कार्कीको अध्यक्षता तथा प्रलेस महोतरीका सचिव भिमकुमार राउतको सञ्चालनमा भएको सो कार्यक्रममा मधेश प्रदेशसभाका प्रदेशसभा सदस्य शारदा थापा, प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रे, केन्द्रीय सदस्यहरू बोधकुमार घिमिरे, पार्वती राउत थापा, र प्रलेस राष्ट्रिय परिषद सदस्य प्रेम घिमिरे, भारतको सितामाढी क्षेत्रका जनवादी लेखक महम्मद कमरुद्दिन नदाफ, प्रलेसका केन्द्रीय सदस्य जीवन स्पर्शी, बर्दिवास उद्योग वाणिज्य संघका महासचिव उत्तम कुमार श्रेष्ठ, रुद्रसिं विश्वकर्मा लगायतका वक्ताहरुले शुभ कामना मन्तव्य दिएका थिए ।
सो सम्मेलनले ३९ सदस्यीय प्रदेश कार्य समिति गठन गर्नु पर्नेमा पछि सदस्यहरू थप गर्ने गरी हाल नारायण घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरेको छ । यसैगरी महिला उपाध्यक्षमा धनुषाबाट किरण झा, अर्का उपाध्यक्षमा रुद्रसेन विश्वकर्मा, सचिवमा भिमकुमार राउत, सहसचिवमा सर्लाहीबाट मिना देवकोटा, कोषाध्यक्षमा फुलगेन महतो रहेका छन् भने अन्य ७ जना सदस्यहरू रहेका छन् ।
०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा सम्प्रेषित ।
Subscribe
Login
0 Comments
Oldest






































