फित्काैली डटकमलोककवि सुरेशकुमार भट्ट हरि उत्कृष्ट प्रतिभा पुरस्कारद्वारा सम्मानित
हरि सांस्कृतिक केन्द्र गोरखाले आफ्नै सभाकक्षमा एक साहित्यिक समारोहको आयोजना गरी लोककवि सुरेशकुमार भट्टलाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०७९ द्वारा सम्मानित गरेकाे छ ।

गगेरखा, २०८० फागुन २ । हरि सांस्कृतिक केन्द्र गोरखाले आफ्नो स्थापना दिवसको अवसरमा गोरखा सदरमुकाम स्थित शक्तिमार्गमा रहेको आफ्नै सभाकक्षमा एक साहित्यिक समारोहको आयोजना गरी लोककवि सुरेश कुमार भट्टलाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०७९ द्वारा सम्मानित गरेकाे छ ।
प्रत्येक वर्ष सरस्वती पूजाका दिन कार्यक्रम गरी स्रष्टा सम्मान गर्दै आएको यस संस्थाले यस वर्ष स्रष्टा सम्मानका अतिरिक्त साहित्यिक कृति लोकार्पण, साहित्यिक रचना वाचन र अन्तर माध्यमिक विद्यालय स्तरिय निबन्ध प्रतियोगिताका विजयीहरूलाई पुरस्कार समेत वितरण गरेकाे हाे ।
गोरखाको मसेलमा जन्मेका लोककवि सुरेशकुमार भट्टले हराउँदै गएका लोकउक्ति र परम्पराको खोजी गरी तिनलाई नविनतम प्रयोग सहित साहित्यमा प्रयोग गर्दै आएर लोक संस्कृतिको संरक्षणमा पुर्याएको योगदानको लागि नगद रु २५,०४६ सहित सम्मान पत्रले सम्मान गरिएको कुरा हरि सांस्कृतिक केन्द्रले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि गैडाकोट प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्द विनोदीले लोककवि भट्टलाई सम्मान अर्पण गर्नुभएको थियो। लोककवि भट्टका सोली डोली -लोक वेद, लोक काव्य – साइनु, उक्तक लगायत लोक विधामा आधारित कृतिहरू प्रकाशित छन्।
कार्यक्रममा ‘पर्यावरणमा विकासको असर’ विषयमा आयोजित अन्तर मा. वि. निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमश युनाइ एकेडमी इङ्लिस बोर्डिंगकी साधना थापा मगर, जनता मा. वि. की मन्दिरा भुजेल र मिर्कोट मा. वि. की आस्था पाण्डेलाइ नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरियो।
प्रतियोगितामा सहभागी भइ सान्त्वना स्थान प्राप्त गर्ने मण्डली मा. वि. की सृष्टि धिताल र महेन्द्र लीला मा. वि. का सिजन धितालले सान्त्वना पुरस्कार प्राप्त गरे । विजेता विद्यार्थीहरूलाइ क्रमश रु ८,०००, रु ६,०००, रु ४,००० र सान्त्वना रु २,००० प्रदान गरियो। प्रतियोगितामा जिल्लाका १३ विद्यालयका २३ प्रतियोगी सहभागी थिए। विद्यार्थीहरूलाई दीगो विकास र पर्यावरण संरक्षणको चेतना जगाउन र साहित्य र सिर्जनशील कर्ममा उत्प्रेरित गर्न यस्ता कार्यक्रम गरिएको कुरा संस्थाका संरक्षक ईन्जिनियर इश्वर देवकोटा बताउनुभयो ।
कार्यक्रमको अर्को चरणमा प्रा डा नारायण खनालद्वारा लिखित “राजेश्वर काव्यम्” (जीवनीसम्वलित नेपाली-भाषानुवाद सहितञ्च), शान्ता भट्ट देवकोटाद्वारा रचित “उन्मुक्त मन” कविता संग्रह तथा संस्थाको मुखपत्र आवर्तनको लोकार्पण गरिएको थियो।
कार्यक्रममा सम्मानित साहित्यकार भट्टको व्यक्तित्व र कृतित्वका बारे प्रकाश पार्दै संस्थाका सल्लाहकार मोहनलाल श्रेष्ठ, समाजसेवी बद्री मास्के, प्राध्यापक यदु अधिकारी र कवि विजयराज न्यौपानेले भट्टले लोकमा हराउँदै गएका लोकवेद अन्तरगतका नेपाली भाषाका उक्ति सुक्ति उखान टुक्का गाथा कर्खा लगायतको सूक्ष्मातिसूक्ष्म खोज अनुसन्धानगरी ल्याउनु भएको लोककाव्य अति संग्रहणीय र महत्वका भएको बताउनुभयो।
सम्मानित साहित्यकार सुरेश भट्टले नेपाली साहित्यको माता नेपाली लोक गाथा भएकोले हराएर नजाओस् भनेर आफूले केही खोज र संग्रह गरी साहित्यिक कृतिका रुपमा ल्याएको र आज तिनै कृतिको मूल्याङ्कन गरी हरि सांस्कृतिक केन्द्रले आफूलाई सम्मानको लागि योग्य ठानेकोमा हार्दिक आभार प्रकट गर्नुभयो। यो सम्मानले आफूलाई यस क्षेत्रमा अझ सशक्त रुपमा लाग्न थप उर्जा मिलेको बताउनुभयो।
संस्थाका अध्यक्ष डा प्रभा देवकोटा कैनीको अध्यक्षतामा भएको साहित्यिक समारोहमा गोरखा, काठमाडौँ, चितवन लगायत स्थानबाट सहभागी विभिन्न कविहरूले कविता वाचन गर्नुभएको थियो।
रचना वाचन गर्नेहरूमा उषा तिवारी, प्रकाश चापागाई , जगन्नाथ पंडित, हरिदत्त लगायत केन्द्रबाट सम्मानित भइसक्नुभएका स्रष्टाहरू नारायण पोखरेल, मुना धिताल, प्रा. सीताराम अधिकारी, प्रा. डा. नारायण खनाल हुनुहुन्थ्यो।
कार्यक्रममा संस्थाका सचिव सुनिल अर्यालले गोरखामा जन्मेर गोरखामै सहित्यकर्ममा क्रियाशील साहित्यकार, अथवा देशको अन्यत्र जन्मे पनि गोरखाको विषयमा कृति प्रकाशित गरेर योगदान गरेका स्रष्टा अथवा गोरखामा जन्मेर विश्वकाे कुनै पनि भूगोलमा रहे पनि नेपाली साहित्यको श्रीवृद्धिमा उल्येख्य योगदान गर्ने स्रष्टालाई केन्द्रले उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो ।
अध्यक्ष डा प्रभा देवकोटा कैनीले गोरखा जिल्लाको मात्र नभै नेपालभरिको भाषा साहित्यमा योगदान पुर्याउने तथा र स्रष्टाहरूलाई सम्मानित र उत्प्रेरित गर्ने उदेश्यले यस केन्द्रको स्थापना भएको र यसै दिशातिरक क्रियाशील रहेको कुरा बताउनुभयो।
संस्थाका संरक्षक इश्वर देवकोटाले आफ्ना पिताजी राजेश्वर देवकोटाले आफूले पाएका साहित्यिक पुरस्कारको राशीबाट स्थापना गरेको यस संस्थाले हालसम्म विनोदप्रसाद धिताल, धनन्जय भट्ट, केदारनाथ खनाल, भीम राना जिज्ञासु, नारायण पोखरेल, मुना धिताल, प्रा. सीताराम अधिकारी, प्रा. डा. नारायण खनाल, तुलसी न्यौपाने, प्रभा कैनी, राजेन्द्र अर्याल, नगेन्द्र न्यौपाने, रुद्र पोखरेल, टीकाराम आचार्य, लगायत करिव दुइ दर्जन नयाँ पुराना स्रष्टालाइ सम्मानित गरिसकिएको र हालसम्म दर्जन भन्दा बढी साहित्यिक कृतिहरू समेत प्रकाशित गरेको बताउनुभयो।
संरक्षक देवकोटाले आगामी वर्षदेखि कार्यान्वयन गर्ने गरी अनुसन्धान र विद्योतवृत्तिमा टेवा पुर्याउन राजेश्वर देवकोटा विद्योत वृत्ति कार्यक्रम र पौरखी महिलाहरूलाई उत्प्रेरित गर्ने उद्येश्यले माया देवी स्मृति पुरस्कारको समेत व्यवस्था गरिएको जनाउनुभयो।
०००
Subscribe
Login
0 Comments
Oldest










































