साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दमकमा साहित्य कला सङ्गमद्वारा पाँच स्रष्टा पुरस्कृत हुँदै

सङ्गमले हरेक वर्ष प्रदान गर्दै आएको ‘भवानी मिश्र पुरस्कार–२०८०’ स्रष्टाहरू डा. देवी नेपाल (झापा), डम्बर दाहाल (असम, भारत) र ताराबहादुर बुढाथोकी (सङ्खुवासभा) लाई प्रदान गर्ने घोषणा गरेको छ ।

Nepal Telecom ad

झापा, २०८० फागुन २२ । साहित्य कला सङ्गम, दमक, झापाले वरिष्ठ कवि, समालोचक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.डा. देवी नेपालसहित पाँच जना स्रष्टाहरूलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ ।

सङ्गमका अध्यक्ष विष्णु न्यौपाने र महासचिव दीपक सुवेदीबाट हस्ताक्षरित विज्ञप्तिमार्फत उक्त कुराको जानकारी दिइएको हो ।

सङ्गमले हरेक वर्ष प्रदान गर्दै आएको ‘भवानी मिश्र पुरस्कार–२०८०’ स्रष्टाहरू डा. देवी नेपाल (झापा), डम्बर दाहाल (असम, भारत) र ताराबहादुर बुढाथोकी (सङ्खुवासभा) लाई प्रदान गर्ने घोषणा गरेको छ ।

यसरी नै ‘साहित्य कलाश्री पुरस्कार–२०८०’ कलाकार कमला खनाल रिजाल (दमक) लाई र स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कार–२०८०’ कवि रेखा सुवेदी (मोरङ) लाई प्रदान गर्ने जानकारी दिइएको छ ।

कविता तथा काव्य सिर्जना, समालोचना, बालसाहित्य आदि क्षेत्रका झन्डै तीन दर्जन मौलिक कृतिहरू, दुई दर्जनभन्दा बढी विभिन्न तहका पाठ्यपुस्तकहरू गरी पाँच दर्जनभन्दा बढी कृतिहरू प्रकाशन गर्नुका साथै लेखन, सम्पादन, प्रशिक्षण आदिका माध्यमबाट शास्त्रीय छन्दको पुनर्जागरण तथा नेपाली साहित्यको उन्नयनका लागि विशिष्ट योगदान दिएबापत प्रा.डा. नेपाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

साथै भारतको असममा बसेर नेपाली भाषा साहित्यका दुई दर्जन कृतिहरूको प्रकाशन गर्नुका साथै काव्यजागरणका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आउनुभएका भारतीय नेपाली स्रष्टा दाहाललाई र सङ्खुवासभामा बसेर नेपाली लोकसाहित्यको अध्ययन, अनुसन्धान, सङ्कलन र सम्पादनका साथै मौलिक कृतिहरूको प्रकाशन गर्दै आउनुभएका बुढाथोकीलाई नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत ‘भवानी मिश्र पुरस्कार–२०८०’ प्रदान गरिन लागिएकाे हाे ।

यसरी नै झापाको दमकमा नै बसेर नेपाली गीत, सङ्गीतका क्षेत्रमा साधना गर्नुका साथै नयाँ पुस्तालाई त्यसतर्फ उत्प्रेरित गर्दै आउनु भएकी युवा कलाकार कमला खनाल रिजाललाई ‘साहित्य कलाश्री पुरस्कार–२०८०’ प्रदान गरिने भएकाे छ भने मोरङको बेलबारीमा बसेर कविता सिर्जना, समालोचना, अनुसन्धान, सम्पादन, प्रकाशन र साङ्गठनिक साहित्यिक अभियान सञ्चालन गर्दै आउनुभएकी स्रष्टा रेखा सुवेदीलाई ‘स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कार–२०८०’ प्रदान गरिने भएकाे छ ।

सबैका लागि समान रूपमा जनही नगद ३५ हजार सम्मानपत्र र स्मृतिचिह्न रहेका उक्त पुरस्कारहरू आगामी चैत्र १० गते, शनिवार दमक, झापामा हुने एक विशेष कार्यक्रममा प्रदान गरिने कुराको जानकारी आयोजक संस्थाका उपाध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’ले दिनुभएको छ ।

०००
– विष्णु न्याैपानेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x