फित्काैली डटकम‘भैरव अर्याल स्मृति सम्मान’ बाट हास्यव्यङ्ग्यकार लामिछाने सम्मानित
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेपालको पहिलो बाँदर विशेषज्ञ बुढ्यौली साहित्य अभियानकर्मी डा. मुकेशकुमार चालिसे प्रमुख अतिथि रहनु भयो ।

मकवानपुर, ०८० फागुन २५ । भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित हुनु भएको छ ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरद्वारा संयुक्त रुपमा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेपालको पहिलो बाँदर विशेषज्ञ बुढ्यौली साहित्य अभियानकर्मी डा. मुकेशकुमार चालिसे प्रमुख अतिथि रहनु भयो ।
भैरव अर्यालका सुपुत्र दीपक अर्याल, सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, आरसी रिजाल, तुलसी घिमिरेको आथित्यतामा ‘मैले जिउँन जानिन’ व्यङ्ग्य कृतिका कृतिकार लामिछाने रु. २१ हजार १ सय ११ नगद र सम्मानपत्रसहित सम्मानित हुनु भएको हो । भैरव अर्यालका सुपुत्र दीपक अर्यालद्वारा स्थापित पुरस्कार साहित्य सङ्गम र सिस्नुपानी मकवानपुरले संयुक्त रुपमा हरेक वर्ष प्रदान गर्ने गरेको छ ।
यसअघि सञ्जय साह मित्र, हरिकला उप्रेती, राजकुमार लामिछाने, धुर्मस सुन्तली फाउण्डेशन, मनोज गजुरेल, चट्याङ मास्टर, नरनाथ लुइँटेललगायत सो सम्मानबाट सम्मानित हुनुभएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि निमेष निखिलले भैरव अर्यालको जीवनीबारे जति बोले पनि पूरा गर्न नसकिने बताउनुभयो । साथै उहाँले अर्याल लेखनमार्फत् नेपाली हास्यव्यङ्ग्यमा चीरकालसम्म रहिरहने व्यक्तित्वका रूपमा रहेका र उहाँको बारेमा विस्तृतमा जान्नका लागि प्रोल्लास सिन्धुलीयकृत भग्नभैरव पढ्नका लागि अनुरोध गर्नुभयो ।
सिस्नुपानी नेपाल तथा एजिङ नेपालका संस्थापक कार्यक्रमका विशिष्ट अतिथि कृष्णमुरारी गौतमले हेटौँडा हास्यव्यङ्ग्य सिर्जनाको राजधानी भएको भन्दै सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्गम मकवानपुरसहित विविध साहित्यिक संस्थाहरूमार्फत् प्रदेश राजधानीलाई चिनाउन सफल रहेको बताउनुभयो ।
कार्यक्रममा पुरस्कार संस्थापक विशिष्टअतिथि दीपक अर्यालले सिस्नुपानी बिस्तारदेखि भैरव अर्यालको स्मृतिमा हेटौँडामा प्रतिमा स्थापना, पुरस्कार स्थापना र हास्यव्यङ्ग्य सिर्जनामा आरसी रिजालको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो भने सम्मानित श्रष्टा लामिछाने लेखकका लागि हौसला मिलेको भन्दै धन्यवाद मन्तव्य राख्नुभयो ।
संप्रस पौडेल र स्वस्तिका दाहालले रचना वाचन गर्नुभएको कार्यक्रममा साहित्य सङ्गम अध्यक्ष डीबी बर्तौला, उपाध्यक्ष सानु खनाल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान अध्यक्ष ईन्द्र नेपाल, कलाकार ईन्द्रजीत शर्मा, देवराज तिवारी, भवानी तिमल्सिना, रजनी पौडेल, मधु ढुङ्गाना, रोश्नी चौलागाईं, पुरूषोत्तम आचार्य लगायत साहित्यसेवी, साहित्य सर्जक, पत्रकार आदिको उपस्थिति रहेको थियो ।
पुष्पलाल स्मृति पुस्तकालयमा आयोजित कार्यक्रमलाई साहित्य सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।
०००
– संप्रस पाैडेलद्वारा संप्रेषित । कार्यक्रमकाे तस्विर : महेन्द्र ओझा
Subscribe
Login
0 Comments
Oldest







































