साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तनहुँको ऋषिङ्गमा चार ख्याति प्राप्त साहित्यकारलाई सम्मान

नेपाली भाषा, कला, साहित्य र सामाजिक विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै विभिन्न विधामा कलम चलाउने साहित्यकारहरुलाई पुरस्कृत गरिएको हो ।

Nepal Telecom ad

तनहुँ, २०८० चैत १० । राष्ट्रिय रूपमा ख्याति प्राप्त चार साहित्यकारलाई आज तनहुँमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले ऋषिङ्ग गाउँपालिकामा श्रष्टा सम्मान तथा काव्य उत्सव २०८० आयोजना गरि साहित्यकारहरुलाई सम्मान गरेको हो ।

नेपाली भाषा, कला, साहित्य र सामाजिक विकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै विभिन्न विधामा कलम चलाउने साहित्यकारहरुलाई पुरस्कृत गरिएको हो ।

क्षेत्रप्रताप स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार–२०८० साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि २५ हजार रहेको छ ।

लम्सालका कर्ण, धरा र अग्नि गरी तीन महाकाव्य सहित पाइलैपिच्छे सगरमाथा, आगो छोपेर कतिन्जेल, धुनभित्र धुनबाहिर, कर्ण, उडूँ उडूँ लाग्छ एक्लैएक्लै लगायतका पुस्तकहरू प्रकाशित छन् । ३० वर्ष भन्दा बढी सञ्चार क्षेत्रमा काम गरेका लम्सालको सुरसंगम र मधुवन रेडियो कार्यक्रम अति लोकप्रिय छन् ।

सोही अवसरमा नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार–२०८० प्रा.डा.रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । जसको राशी २५ हजार रहेको छ । अधिकारीको सीतायन महाकाव्य प्रकाशित छ । जुन संसारकै ठूलो महाकाव्य हो । जसमा ३५ हजार श्लोक छन् । साथै उनका राजतन्त्र र प्रजातन्त्रका सिद्धान्त, भामहले काव्यस्य स्वरुपम पद्मदुर्गा महाकाव्य, राजनैतिक दर्शनको इतिहासका साथै एक सय भन्दा बढी अनुसन्धानात्मक लेखहरु प्रकाशित छन् ।

गीतल राष्ट्रिय पुरस्कार–२०८० माेरङकी श्रष्टा तिला लेकालीलाई प्रदान गरिएको छ । उनका धेरै फुटकर रचना प्रकाशित छन् । त्यस्तै गीतल प्रतिभा पुरस्कार–२०८० तनहुँकी साहित्यकार शोभा सिंह ठकुरीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।उक्त पुरस्कारको राशि दश हजार रहेको छ ।

कार्यक्रमको उदघाटन गर्दै संघीय सांसद रेखा यादवले साहित्यकारसँग समाज परिवर्तन सम्मको तागत हुने बताइन् ।अहिले देशको अवस्था निकै नकारात्मक बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले सुधारका लागि साहित्यको सहयोग चाहिएको बताइन् । म एक्लै सदनमा चिच्याएर परिवर्तन गर्न गा¥हो भयो, देशको अवस्था सुधारका लागि मलाई तपाईहरुको सहयोग चाहियो उनले भनिन् ।

युवाहरुको पलायनले समाज नकारात्मक गतिमा अघि बढेको प्रसङ्ग जोडदै उनले भनिन् नेपालमा सम्भावना हुदा हुदै पनि युवाहरु विदेशीनु दुःखद हो, अहिलेको पुस्तामा धैर्यताको अभाव छ , तुरुन्तै नतिजा चाहन्छ्न जसले गर्दा अहिलेको अवस्था आएको हो ।

कार्यक्रममा संविधान सभा सदस्य प्रभा बज्राचार्यले फरक फरक ठाउँका साहित्यकारलाई एकै ठाउँमा एकजुट हुने अवसर जुराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरिन् ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले समाजमा चेतनाको ज्योति फैलाउन साहित्यकारहरुको महत्वपूर्ण भूमिका रहँदै आएको बताए ।

साहित्यकारहरुले आफ्ना सिर्जना मार्फत ऋषिङलाई परिचित गराउन सहयोग गर्ने उनको विश्वास छ । उनले भने तपाईहरुका आगामी लेखाईमा ऋषिङको सम्भावना र इतिहासलाई बारे पढ्न पाइनेछ, जसले समग्र ऋषिङलाई विश्व सामु चिनाउन सफल हुनेछ । साथै ऋषिङलाई समृद्ध बनाउन भौतिक पुर्वाधारका साथै साहित्य, खेलकुद र सामाजिक सांस्कृतिक पक्षको बिकास एक साथ अगाडी बढाएको उनले जानकारी दिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व डा.नवराज लम्साल, प्रा.डा. रमेशचन्द्र अधिकारी, लिला लेकाली र शोभासिंह ठकुरीले पालिकाले भाषा, साहित्य, कला र संस्कृतिको विकास पनि सँगै अगाडि बढाउन पालिकासँग अनुरोध गरेका थिए । भौतिक विकासबाट मात्र चेतना उकास्न सम्भव नहुने भन्दै उनीहरुले बौद्धिक विकासका क्षेत्रमा पनि लगानी गर्न अनुरोध गरेका हुन् ।

संस्थाका अध्यक्ष आकाश अधिकारीको अध्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाट, पत्रकार त्रिभुवन वाग्ले, गीतकार महासंघका अध्यक्ष बसन्त बित्यासी थापा, साझा प्रकाशनकी अध्यक्ष शारदा आचार्य, शिव सरस्वती माविका अध्यक्ष दानबहादुर श्रेष्ठ लगायतले साहित्यले समाजमा व्याप्त विकृति, विसंगतिको न्युनीकरण गर्दै समग्र समाज परिवर्तनमा भूमिका खेल्ने बताए । साथै पालिकाले भाषा, साहित्यको प्रवर्धन नमा उदाहरणीय काम गरेको भन्दै आभार व्यक्त गरेका थिए ।

“भाषा, साहित्य वाङ्गमयको आधार, सांस्कृतिक संरक्षण विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ विगत केही वर्षदेखि तनहुँका सबै पालिकामा साहित्य सम्मेलन तथा साहित्य क्षेत्रका व्यक्तिहरु सम्मान गर्दै आएको प्रतिष्ठानले यस पनि कार्यक्रमलाई निरन्तरता दिएको कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए ।

ऋषिङ्ग गाउँपालिकाले प्रवद्र्धन गरेको यस साहित्यिक कार्यक्रममा देशका विभिन्न जिल्लाका ख्याति प्राप्त साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष शान्त बास्तोलाले स्वागत गरेकी थिइन भने कार्यक्रम सञ्चालन सचिव माधव अधिकारीले गरेका थिए ।

सोही अवसरमा प्रतिष्ठानले तनहुँका दिवङ्गत श्रष्टाहरुको अभिलेख राख्ने उद्देश्यले सरदार यदुनाथ खनाल सम्मान तथा प्रकाशन कोष सुरुवात गर्ने घोषणा गरिएको छ । उक्त कोषमा इच्छुक साहित्यकारहरुबाट रु. एक सय संकलन गरिने अध्यक्ष अधिकारीले बताए ।

०००
– रेणुका भट्टराईद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x