सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रतिस्पर्धा

अहिले त सबैभन्दा प्रतिस्पर्धा म्युजिकल चेयरका खेलाडीहरू भन्दा बढी सत्ता र कुर्सीको लागि भइरहेको छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र फलाउने, फुलाउने, सङ्कटबाट बचाउने भन्दै फोहोरी समीकरणको प्रतिस्पर्धाले देश सङ्कटग्रस्त भइसकेको अवस्थामा पुगेको छ ।

Nepal Telecom ad

कुमार खड्का :

“जीवन वृत्ति अघि बढ्न प्रतिस्पर्धा प्रमुख हुन्छ
आवश्यकता पुरा गर्ने पात्र मुक या अमुक हुन्छ
चेतनाको गुणस्तरमा पर्यावरण मूख्य हुँदा
सफलता या असफलता कर्म अभिमुख हुन्छ ।”

डार्विनले भनेझैँ,
“struggle for existence and survival of the fittest..” अर्थात् अस्तित्वको लागि सङ्घर्ष गर्नुपर्छ र जो सफल हुन्छ, उही अस्तित्वमा रहन्छ । सङ्घर्ष भनेकै प्रतिस्पर्धा हो, चाहे प्रकृतिसँग होस् या प्रवृत्तिसँग होस्, जो सवल, उसैको हातमा नरिवल याने उस्कै हातमा प्रतिफल हुन्छ ।

२०२५ सालतिर म कक्षा एकमा पढ्दाको कुरा हो, कक्षा सुरु भएको करिब २/३ महिना पछि, गुरुले सबैलार्ई मौखिक प्रश्न सोध्ने, जस्ले सही उत्तर दिन्छ, ऊ कक्षा २ मा उक्लन पाउने, याने उसको प्रमोशन हुने कुरा गर्नु भयो । मनमा कौतुहलता जाग्यो । सरले क्रमशः ठूलो उमेर अनुसार पालो लगाउँदै प्रश्न सोध्नु भयो…
“हाम्रो स्कुलको नाउँ के हो ?”
“थाहा छैन सर”
………………
“आउँदैन सर”..
क्रमशः उस्तै उत्तर आयो ।
त्यस मध्ये एकजना साथीलार्ई सोधियो, उनी अलि टाठोमै गनिन्थे, मेरो प्रतिस्पर्धा समेत उनैसँग हुन्थ्यो । यता मलार्ई भने पीर परिरहेको थियो । मलाई पनि स्कुलको नाउँ जति सम्झिन खोजे पनि यादनै आइरहेको थिएन । अलि अलि सुइको पाए मिलाउने सोचमा थिएँ । त्यसै क्रममा ती साथीले उत्तर दिए
हाम्रो स्कुलको नाम “बाल स्कुल” हो सर ..।
सर हास्नु भो । सबै गलल्ल हाँसे, म पनि हाँसे..।
अन्तिम साथीको पालो थियो
त्यही प्रश्न थियो
उनले भने
“बालविकास सर ।”
पूरा नाम भन फेरि, सम्झेर ।
फेरि त्यही दोहोर्‍याए, तेहेर्‍याए, “बालविकास सर.. ।”
सर हाँस्नु भो, सबै हाँसे, म पनि फिस्स मात्र हाँसेँ यसपटक चाहिँ । मन फुकाएर हासिनँ किनभने अब आफैँले उत्तर दिने पालो आइसकेको थियो र उत्तर पनि आउँदैनथ्यो ।
तैपनि दुईजनाले भनेको वाक्यको खुव ख्याल गरेँ अलि अलि याद खुलाएँ दिमागमा । त्यहीँ प्रश्न सोधियो, उत्तर दिएँ,
“हाम्रो स्कुलको नाउँ बालविकास स्कुल हो सर..।”
स्याबास..! फेरि भन त..
“बाल बिकास स्कुल सर.. ।”
मैले स्कुलको पूरा नाम त भन्न सकिनँ, तर अलि बठ्याइँ गर्दै दुइजना अघिका दाइहरूको कुरा मिलाउँदा र सिनियर दाइहरूले भनेको सुनेको याद र स्मरणमा केही बठ्याईं मिलाउदा स्यावासी पाएँ ।
वास्तबमा हाम्रो विद्यालयको नाउँ “बाल बिकास प्राथमिक विद्यालय“ थियो ।
म लगायत म अघिका दुइजना साथी दुई कक्षामा उकालियौँ । बडो आनन्द भयो । स्कुलको “उम्दो चुवा” विद्यार्थीमा दर्ता हुन सफल भइयो ।
त्यही बेला जीवनमा पहिलोपटक मैले चिन्ता, लोभ, डाढो याने प्रतिस्पर्धाको भेउ पाए जस्तो लाग्छ ।
अहिलेसम्म नि मलार्ई के लाग्छ भने कुनै कुराको सामना तुरुन्त गर्नुभन्दा समय पाइयो, अरुले भनेको, गरेको सुन्न, हेर्न पाइयो भने दिमाग, शरीर अलि चुस्त, दुरुस्त हुन्छ कि भन्ने लाग्छ । एक्कासी सामना गर्नुपर्दा मै हुँ भन्ने मान्छेलाई पनि मुस्किल पर्छ । उतिबेला म अब्बल विद्यार्थी त भएँ, तर जड कुरो मलाई मात्र थाहा थियो, अहिले रमाइलो लाग्छ । जे भए पनि जीवनकै सुरुवाती र निष्पक्ष प्रतिस्पर्धा थियो त्यो, र सफलता पाउँदा खुशी थिएँ ।

“वनको मट्याङ्ग्रो, वनको चरो” भन्छन् । सामान्य बुद्धि आम मान्छेहरूमा हुनेगर्छ, तर बीचबाट टिपेर फाल्न सक्ने, हान्न सक्ने सृजनशील मान्छेहरू सफल हुनसक्छन्, भन्नेकुरा पनि त्यही बचपनाको घटनाले पटकपटक याद दिलाउँछ । तर मेरो बठ्याईं भने त्यतिमै सिमित भयो । मेहनत गरेर आफ्नै फित्कौली, मट्याङ्रोको सङ्ग्रह गर्ने, जाल हाल्ने भन्दा जाल बनाउन सिक्ने बुद्धिमै रमाउन थालेँ । तर मान्छेहरूको बठ्याइँ बुझ्ने, हेर्ने प्रवृत्ति भने विकसित हुँदै रह्यो ।
त्यसैले पनि होला एकदमै मेहनती, प्रतिस्पर्धात्मक क्षमता भएको भन्दा “वनको मट्याङ्ग्रो, वनको चरो” मार्ने सिद्धान्तमा रहन सक्ने मान्छेहरूनै बिना लगानीको व्यापार विस्तार गर्न र अरुहरूको सामुहिक शक्ति मुट्ठ्याएर हावी हुन सक्ने गरेको, त्यस्तै प्रवृत्तिको नेतृत्व भने समाजमा अत्यधिक सफल भएको देख्न सकिन्छ ।

पौराणिक प्रसङ्गको कुरा कोट्याएर जान्ने हुन मन लाग्छ कहिलेकाहीँ । एकदिन महादेवले गणेश, कुमार दुवैलार्ई बोलाएर भनेछन्,
“तिमीहरू दुवै सुमेरु पर्वत घुमेर आओ, जो छिटो आइपुग्छ, वरदान पाउला… ।”
यति महादेवको वचन पाउने बित्तिकै कुमार छिटो छरितो, मयुर वाहान चढेर कुदिहाले, यता गणेश भारी जिउ, मुसा वाहान हेरेर जिल्ल पर्दै थचक्क बसे । आफ्ना मालिक चिन्ताग्रस्त भएपछि मुसाले सल्लाह दिए, त्यही बमोजिम गणेशले महादेव, पार्वती, गङ्गा बसेको स्थान परिक्रमा गरि आफ्नो समस्या बताउदै आफ्नो सुमेरु, कुमेरु सारा ब्राह्मण, तीन लोक चौध भुवन हजुरहरूनै हो, सुमेरु घुम्न जान सकिन त के भो ? आफ्नै माता पिताको चरण स्पर्श गर्छु, माफ पाउँ भनी मातापिताको परिक्रमा गर्दै दण्डवत गर्ने बितिकै महादेव प्रसन्न भै गणेशजीलार्ई पहिल्यै वरदान दिए । सुमेरु घुम्न गएका कुमार घुमेको घुमेई भए । चाकरीतन्त्र विकास भएको पौराणिक घटना जस्तै अहिले पनि वास्तविक खट्ने र खुवी भएका कुमारहरू भन्दा चाकरीवाज गणेश प्रवृत्ति र तन्त्रकै बिगबिगिले कथित प्रतिस्पर्धा वास्तविक प्रतिस्पर्धा भन्दा अगाडि देखिएका छन् । प्रतिस्पर्धाको नाउमा देखावटी र चाकरी प्रथाको लेवल कायम भएकाहरू प्रतिस्पर्धामा सफल घोषणा हुदाको अवस्था देख्दा यो उम्दो चुवालार्ई तलको हरफहरू स्वतस्फूर्त फुर्न थाल्दछन्…

“पौरखी आत्मा भन्दा चाकरीको बाहुल्यता देखिँदा
प्रतिस्पर्धा नामका सुची धुर्त्याईं भित्रै लेखिँदा
साँच्चै गर्ने कुमार भौतारिदा गणेशहरू काखमा
मुख बाउनेको चिन्ता लाग्छ सामाजिक आदर्श छेकिँदा ।”

नेपालको इतिहासमा कुदेर राजा हुने चलन पनि जिवितै थियो भन्ने उदाहरण द्रव्य शाहको इतिहास पढिएकै हो । इतिहास साँचो, झुठो आफ्नो ठाउँमा होला तर समाजले मानेपछि त्यस्कै पछि लागेर राम्रो या नराम्रो पक्षको समर्थन या विरोध गर्न भने मन लाग्दो रै छ, खुल्ला प्रतिस्पर्धाका उम्दा हिमायतीहरूलाई । तर त्यस भित्रको खेल र झेल, शक्तिको आधारमा इतिहास लेखिएका कतिपय कुराहरू बुझ्न पनि तथ्य, सत्यको जगलाई धेरै सुक्ष्मतम बुद्धिले नियाल्नु पर्ने रै छ, भन्ने कुरामा बल्ल म “कन्भिन्स” हुदैछु, जस्तो लाग्छ हिजोआज ।

बचपनमै अर्थात् करिब एक वर्षको उमेर देखिनै सुरुवात हुने डाढेपना, मान्छे भएर जन्मने बित्तिकै स्वत सुरु हुने प्राकृतिक प्रतिस्पर्धाको प्रवृत्ति हो, भन्दा फरक नहोला । तर प्रतिस्पर्धालार्ई सकारात्मक रूपले ग्रहण गर्ने एउटा पक्ष हुन्छ भने अर्काथरी अघोरीहरू नकारात्मक प्रतिस्पर्धालार्ई रुचाउँछन् । देवासुर सङ्ग्राम चलिरहेको यस ब्राह्मणमा दुवैखाले प्रतिस्पर्धा जिवितै छन्, भला समय सन्दर्भमा सकारात्मक प्रतिस्पर्धाको स्थान प्रायः अपहेलित भएकोनै किन होस् ।

डार्विनको जीव विकासको सिद्धान्त अनुसार जन्मने बितिकै absolutely isolation मा राखेर चाहिने सारा सुविधाहरू उपलब्ध गराई हुर्काइएका बच्चाहरू भएपनि विस्तारै static condition मा राखिएकाहरूको स्नायुतन्तु विकास क्रममै ढिलाई हुने हुँदा डाढो पनमा पनि कमी हुन सक्ला कि ? भन्ने मेरो अनुमान मात्र हुनसक्छ, अन्यथा भित्री, बाहिरी वातावरण सम्पर्क, संवाद, सञ्चार, गतिशीलताको विनिमयसँगै जन्मजात धारणा भएको वंशाणुगत र नैसर्गिक गुण क्रमशः सक्रिय हुने क्रममा डाढ र प्रतिस्पर्धाको भावना स्वत विकसित हुँदै जाला भन्ने मेरो भनाइको तात्पर्य हो । लाग्छ कि, खाने, बस्ने, सुत्ने, खेल्ने, छान्ने, लिने, दिने हरेक कुराहरू सिक्ने क्रममा प्रत्येक बच्चाको दिमागमा प्रतिस्पर्धाको भावना विजारोपण भइसकेको हुन्छ, यस्को प्रमाणिकरणको लागि २ वा २ भन्दा बढी बच्चाहरूको समूह हुनुपर्छ, रुटिनमा खुवाउने, खेलाउने, खेलौनाहरू उपलब्ध गराउने गर्दा एक आपसी डाढोपना, प्राप्तिको लागि हुने आपसी प्रतिस्पर्धाबाट प्रष्ट देख्न सकिन्छ । तर सबै कुरा सामान्य अवस्थामा मात्र लागु हुनसक्छ, असामान्य वा भैपरी अवस्थामा लागू नहोला भन्नेकुरा म लगायत सारा उपबुज्रुकहरूलाई करिब विदितै हुन्छ भन्नेमा पनि प्रष्ट्याउन चाहन्छु ।

जति ठूलो भैयो, ठूलो कक्षामा, कलेजमा पढ्ने भैयो त्यस्तो निष्पक्ष र स्वच्छ प्रतिस्पर्धाको कमी हुँदै गएको महसुस भयो ।
पुल्चोक क्याम्पस पढ्दा उस्ताउस्तै ल्याकत भएका विद्यार्थी बीच परिक्षा मार्फत पर्तिस्पर्धा त हुन्थ्यो, तर प्राचार्यले दिने आन्तरिक नम्बरमा हुने पक्षपातले खेल्ने भुमिकाले कतिपय साथीहरू पिडित हुनुपर्ने अवस्था रह्यो । जसोतसो नियम पूरा भएकै हुन्थ्यो । त्यही rank मा आफ्ना मान्छेका विद्यार्थीहरू scholorship मा पढ्न सफल भए । राम्रै र अवल विद्यार्थी पनि कुण्ठित भएर टङ्चिएको अवस्था रह्यो । अन्यत्र कतिपय क्षेत्रमा पनि “प्रतिस्पर्धा भित्रकै अप्रतिस्पर्धा” भएको देखिएकै छ । विभिन्न बैंक, वित्तिय संस्थाहरू, सामाजिक संस्थाहरूमा राम्रा भन्दा आफ्ना र हाम्राहरूको बाहुल्यता रहेको अवस्थाले आजको जर्जर परिस्थिति सिर्जना भएको देखिन्छ ।

नाफामुलक संस्था होस् या सेवामुलक संस्था, सरकारी होस् या गैर सरकारी, स्वदेशी होस् या विदेशी जुनसुकै ठाउँमा भए पनि motive and essential force को रुपमा man powerright man, right place in right way with right system अन्तर्गत human resources management भए पो योग्य र सही मान्छे त्यहाँ पुग्छ र संस्थागत हित हुन्छ, याने जनताको काम र सामाजिक हित हुनसक्छ । lack of human resources management  को कारण सारा कुराहरू  lack and losses भैरहेको आजको तितो, वर्तमानले भोगिरहेको छ । यसको जिम्मेवारी राजनीति र ब्युरोक्रेसीले लिनुपर्नेमा उनीहरूनै प्रायः अस्वस्थ प्रतिस्पर्धाका विजयी भएकाले होला, हैजा, विषमज्वरो, क्यान्सर तथा एड्स जस्तो घातक रोगको संक्रमणले थलिदै गएको अवस्थाले अब नयाँ सिराबाट प्रतिस्पर्धा गर्ने र गराउनेहरू को होलान् ? नत्र परिणाम के कस्तो होला ? सोचनिय अवस्था भैसकेको देखिन्छ ।

उमेर क्रमसँगै हुर्काउने, हुर्किने क्रममा पारिवारिक वातावरण, सेवा, सुविधा, बाहिरी पर्यावरण, सम्पर्क, स्कुल, कलेज, विद्यालय, कामगर्ने ठाउँ, अफिस… आदि, इत्यादी ठाउको अवस्था र परिस्थितिजन्य क्रियाकलापले प्रतिस्पर्धाको अवस्था र परिपक्वताको विकास गर्दै लैजान सक्छ । बिस्तारै आवस्यकता र आपूर्ति बीचमा आउने दरार या खाडललार्ई पुर्न या दुरी कम गर्ने क्रममा आन्तरिक या बाह्य वा विविध खाले प्रतिस्पर्धाको सिर्जना हुनसक्छ ।

त्यसैले होला हितकारी राज्यले शिक्षा, सेवा तथा रोजगारीका अवसरहरू सिर्जना गर्नको लागि प्रतिस्पर्धालार्ई बढावा दिदै सक्षम र योग्य मानिसको प्रवेशमा व्यवस्था गरेको देखिन्छ । आखिर हितकारी राज्यको नाउमा राज्यशक्ति मुट्ठिमा लड्काउनेहरूले प्रतिस्पर्धाको नाउँमा निहित स्वार्थको खेलोफड्को गरिरहेका हुन्छन् । करिब अहिलेको अवस्था त्यस्तै हो, भनेर बुझ्न हिच्किचाउनु पर्दैन ।

खुला चौरमा दौडने, खेल्ने, प्रत्यक्ष र पारदर्शी प्रतिस्पर्धामा समेत नकारात्मक प्रतिस्पर्धाको राज चलाउनेहरूले नियम, कानुन, कुतर्कहरूको जालो फ्याक्दै रेफ्रीको निणर्य मार्फत कहिलेकाही साराका सारा दर्शकलाई त बेकुफ बनाएका हुन्छन् भने close camp को selection , लिखित र मौखिक जाँचको भित्री मुल्याङ्कन र निणर्यलार्ई कति प्रभावित पारेका होलान् भन्ने सहजै अनुमान गर्न सकिँदैन र ?

मास्लोको hierarchy of needs theory को …..physical, psychological, social, ego…needs देखि self actualization..सम्मका विश्लेषण गरिए अनुसार इच्छा, आवश्यकता पूर्तिको सन्दर्भमा हरेक मानिसले आफ्नो अवसर र उन्नतिको लागि जीवनभर प्रतिस्पर्धानै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ र हुन्छ पनि । तर कथनी र करनिमा फरक पर्दाको बखत भनौँ या गुरु बन्नेहरू शिष्य बन्न नसक्नुले या आफ्नो आवश्यकता र औचित्यको लेभल कुन हो भनी पहिचान गर्न नसक्दा हात लाग्यो शून्य हुँदै “अङ्गुर अमिला छन्” भन्नुपर्ने बाध्यतामा परेको कुराको तितो उदाहरण कति छन् कति ।

म स्कुले जीवनमा पढाइदेखि अतिरिक्त क्रियाकलापका हरेक गतिविधि र प्रतिस्पर्धामा प्रथम हुने, कहिलेकाही दोश्रो हुने या पछि पर्दा अस्तित्वनै समाप्त भएजस्तो लाग्ने, कोहीसँग बोल्न, खेल्न कतै हिँड्न मनै नलाग्ने लामो समयसम्म दिमागी असर परिरहन्थ्यो र मनमा इख पनि हुन्थ्यो । अनि मनमनै सोच्थेँ, पख अब देखाउला । तर भनेजस्तो अवस्था सिर्जना हुन र तजविज मिलाउन गाह्रो हुँदो रेछ नि । स्कुले जीवन आफ्नो पकडमा लिइयो, प्रथम व्याच SLC मा स्कुल लगायत भेककै प्रथम स्थान हासिल गर्न सफल भएपछि मनमा धेरै उत्साह बढ्यो । एकजना सरले भन्नू भो, “कुमार विचार गर ! स्कुल जस्तो हुदैन कलेज, त्यो व्यापक हुन्छ, मेची, महाकालीसम्मका विद्यार्थी भेला हुने ठाउँ हो, तिमीभन्दा धेरै पढ्नेहरू हुन्छन्, विचार गर्नु, खेलाँची नसोच्नु । स्कुल जस्तो सजिलो हुन्न । झन् science, engineering, Doctor पढ्ने बीच धेरै प्रतिस्पर्धा गर्नुपर्छ । होस नपुराए NQ लाग्न सक्छ । विचार गर्नु ..।”
मैले भने “हवस् सर…।”
अनि लाग्यो अब कलेजमा झन् टप गर्छु ।

शुरुमा सरले भनेका कुरा मनमा लागेर खुव पढाइमा ध्यान दिएँ, तर दिन गुज्रँदै र समय घर्कँदै जाँदा साथीहरूको सङ्गत, विद्यमान राजनीतिक वातावरण र मेरो आफ्नो भावनाको पेरिफेरिले विद्यार्थी राजनीतिको माहोलले घच्घच्याउँदा विद्यार्थी नेतृत्व गर्दै राजनीतिमा प्रवेश गर्ने, देशलाई पञ्चायती जर्जरताबाट मुक्त गर्न क्रान्तिकारी बन्ने भुत चढ्दा पछिल्लो चरणमा पढाइको गुणस्तरमा गिरावट आएको, examको बेला एकैपटकको तयारीमा सारा विषय clear गर्नुपर्ने बाध्यता र इज्जतको सवाल गाँसिँदा सोचेको जस्तो परिणाम आउन सकेन । धन्न पहिलाको जग, दिमागी स्तर र ढिलो भए पनि पढ्नै पर्ने कुराको महसुस हुँदा राम्रै हिसाबले उतिर्ण गरियो । तर समय क्रममा महसुस गरियो कि जुनबेला यसो हात उठाउदा अङ्गुर टिप्न सकिन्थ्यो, पछि धेरै मेहनत गर्नुपर्यो । तै पनि छनोटका अङ्गुर..! भए न त कुरा… ! बुझियो, प्रतिस्पर्धा पनि समयमै गर्नुपर्ने रहेछ, मौका गुज्रेपछिका सम्भावना क्षीण र गुणस्तरहीन हुँदारहेछन् । अरुलाई दोष दिएर पनि हुँदैन, केवल हास्यको पात्र हुँइदो रहेछ ।

एउटा रमाइलो घटना छ । मेरा एकजना मित्र  scholorship form बुझाउने क्रममा रसियन एम्बेसीमा लाईन बस्दाको हो । लाईनमा एकजना बैनीलाई पछाडिबाट धकेलेपछि साथीले आफ्नो स्थानमा उन्लाई राखेर आफू उन्को स्थानमा बस्न गएछन्, जम्मा २/३ जना पछि मात्र । एकछिन पछि बेजोड हावाहुरी चलेछ, त्यही बैनीको सम्म फर्म बुझेर अरु बाँकी भोलि बुझ्ने भन्दै झ्याल बन्द भएछ । भोलिपल्टदेखि हड्ताल, नेपाल बन्दको कारण देखाई एम्बेसी बन्दको सुचना हुँदै हुँदै १४/१५ दिन पछि त्यो सिजनको कोटा बन्द भएको सुचना जारी हुँदा आगामी सालको सम्भावना कुर्दाकुर्दै ती साथी जिल्लाराम खुँदो खानेमा परेछन् । यसबाट के बुझिन्छ भने सम्भावना सधैँ जिवित रहँदैन, र आफ्नो सम्भावनामा बढी जान्ने हुनुहँुदैन, कुनैबेला क्रुरता देखाउनु परेपनि, सहनुपरेपनी तयार हुनुपर्छ । नत्र “बाँदर जान्ने हुँदा ऊ.. के जाती च्यापिएर मरे जस्तो..” हुनसक्दो रे छ भन्ने कुरा त्यसै घटनाले सिकायो ।

प्रतिस्पर्धा एक प्रकारले दुई वा दुइभन्दा बढी बीचको द्वन्द हो, कार्ल मार्क्सले भनेका छन् कि “जीवनमा द्वन्द सर्वव्यापी हुन्छ, द्वन्द्वबाटनै गति र गतिबाट नै निकास र विकास हुन्छ… ।”

पदार्थ र चेतना, दुबैमा द्वन्द हुन्छ, द्वन्द्वले गतिको तय गर्दै विकासको जरा हाल्छ । तर त्यसलाई सूक्ष्म ढङ्गले केलाउँदै त्यस्को गति, मति, समय सापेक्ष आफ्नो आवश्यकता, औकात, प्राथमिकताको सहि पहिचान गर्न सके जुनसुकै प्रतिस्पर्धामा सफल हुन सकिएला, नत्र खुँदो खाएर बस्ने हो नि ।

अहिलेको अवस्थामा प्रतिस्पर्धाको नाउँमा नकारात्मक उर्जा खर्चने बलजीवि प्रतिस्पर्धा युवाहरूको माझमा प्रवृत्तिगत रोगको रुपमा बल्झँदै छ भने अर्कोतिर मान्छेहरूमा अत्यधिक लोभ, लाच, महत्वाकाङ्क्षी भावनाले जरा गाडेको छ । उस्ले गरिसक्यो आफुले अझै सकिएन, उस्ले कमायो आफुले सकिएन, अरुले गरिसके, आफुले सकिएन.. उफ् .. गर्दागर्दै सुगर, प्रेसर र मानसिक रोगका सिकार भएका छन् । अत्यधिक अस्वस्थ प्रतिस्पर्धाले मानसिक चिन्ता सिर्जना गर्ने, त्यसपछि शारीरिक दवाव र विविध खाले रोगहरूले सताउने कुरा मैले एक पटक चर्चित भारतीय विशेषज्ञले BCC संवादातालाई दिएको अन्तर्वार्ता सुनेपछि अझै प्रष्ट भयो ।

“मै खाऊँ, मै लाऊँ, सुख सयल वा मोज म गरूँ
मै नाचूँ, ..
चिता खित्का छोडी हास्यो मरिमरी…।”
त्यसैले कवि लेखनाथको माथिका हरफहरू पनि मन्न योग्यनै लाग्छन् ।
अत्यधिक प्रतिस्पर्धाको भावनाले विकास र प्रगति भन्दा विनाश र प्रतिगमन ल्याउने खतरा हुनसक्छ, भन्ने कुरा अरुले बुझाउने नभै आफैँले अन्तस्करणबाटै बुझ्नुपर्ने हुन्छ ।

अहिले त सबैभन्दा प्रतिस्पर्धा म्युजिकल चेयरका खेलाडीहरू भन्दा बढी सत्ता र कुर्सीको लागि भइरहेको छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र फलाउने, फुलाउने, सङ्कटबाट बचाउने भन्दै फोहोरी समीकरणको प्रतिस्पर्धाले देश सङ्कटग्रस्त भइसकेको अवस्थामा पुगेको छ । उसै एक अर्काको कुरा काट्ने, हिलो छ्याप्ने, अरुलाई कालो पोत्ने, आत्मप्रशंसा मात्र गर्ने प्रवृत्तिगत अवस्थामा अझै होलीको रङ्गिला सिजन भएकोले प्रतिस्पर्धाको शुभकामना भन्न त मन थियो, तर नकारात्मक हैन, स्वस्थ र रङ्गिन प्रतिस्पर्धाको शुभकामना… !!!

“सफलतामा प्रतिस्पर्धा अग्रिम द्रुत मार्ग हुन्छ
खेलाँचीले शक्तिहिन मान्छेको उत्सर्ग हुन्छ
द्वन्द युद्ध निम्त्याउने माध्यम हुन्छ, नकारमा
होडबाजीका स्वस्थ चाल प्रगतिको दरगाह हुन्छ ।”
अस्तु..!!!

०००
आलापोट, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का
कलिको अन्त्य

कलिको अन्त्य

कुमार खड्का
नुनको कुरा

नुनको कुरा

कुमार खड्का
परिवर्तन 

परिवर्तन 

कुमार खड्का
मनगढन्त

मनगढन्त

कुमार खड्का
‘राजा’ हुने कुरा

‘राजा’ हुने कुरा

कुमार खड्का
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी