कुमार खड्का‘राजा’ हुने कुरा
छोटे राजा, बढेराजाहरू सबैले आफ्नो आङको फोहोरो टक्टक्याउने, फोहोरको नालिबाट उठेर सुध्रने प्रयास गर्दै नेतृत्वको याने राजाको मर्म, भावना बुझेर कर्तव्य पालनामा लाग्ने हो भने पुरानै राजाको माग गर्नेहरूलाई दोष दिएर अल्मलिनुपर्ने, आफ्नो शिहासन डग्ला भनेर आत्तिनुपर्ने, कुनै कारण पनि देखिँदैन ।

कुमार खड्का :
“सबैभन्दा अब्बल हुने इच्छा बालापनको हुन्छ
बत्तिस लक्षणयुक्त जीवन, चाह सबै मनको हुन्छ
आफैँभित्र राजा बन्न जहिलेसुकै सक्छन् मान्छे
दुनियाँकै चाह बनोस्, सपना जन जनको हुन्छ ।”
हामी बच्चा छँदा खेल्न जान्थ्यौं,
– जो अग्लो ठाउँबाट हाम्फाल्न सक्छ उही राजा हुन्छ, भनिन्थ्यो
– पौडी खेल्न जाँदा जस्ले अग्लो ढिस्कोबाट हाम्फाल्न सक्छ, उही राजा बन्छ, भनिन्थ्यो
– जो अघि दौडन सक्छ, जो पहिले रुख चढ्न सक्छ उही राजा भन्ने गरिन्थ्यो । राजा बन्न हानथाप हुन्थ्यो, बालापनाको खेलमा राजा बन्नलाई यस्तै गर्नुपर्छ भन्ने थियो होला सायद हाम्रो बाल मस्तिष्कमा ?
राजा हुन हानथाप, तँछाडमछाडनै हुन्थ्यो । राजाको बारेमा धेरै आहान, कथा, उपमा, उदाहरणहरू सुनिन्थे । जुनसुकै कथाको सुरुवात गर्दानै एकादेशमा एउटा राजा थिए बाट शुरु हुन्थ्यो,
कथाहरू पनि राजाको पराक्रमहरूको बारेमै हुन्थे, अझ बच्चामै सुनिएको लोकप्रिय कथा “राजकुमार दिक्पालको कथा” सुनेपछि कस्को मनमा नजाग्ला र त्यस्तै सुरवीर बन्ने महत्वाकाङ्क्षा..?
समाजमा असाध्यै चल्तीको कुरा थियो,
– त्यस्तो (ठूलो) काम गर्न त राजा हुनुपर्छ,
– यस्तो (गाह्रो) काम गर्न त राजाले पनि सक्दैन,
– राजा हुन त्यति सजिलो हुन्छ र ?
खान त राजाले सुनकै थालमा, चाँदीको चम्चाले भात खान्छन् रे, तर गाह्रो छ नि राजा हुन.. आदि इत्यादि, कति हो कति ?
बाल सुलभ मनमा जसरी पनि राजा हुने तीव्र इच्छा जाग्थ्यो । मेरो मात्र हैन सबैको मनमा जाग्दो हो सायद । म पनि बच्चैदेखि हरेक कुरामा जिद्दी स्वभावको, जित बहादुर खाले मान्छे । पढ्न, खेल्न, दौडन, पौडन, सबैमा पहिला हुनुपर्ने । साँचो अर्थमा राजा हुनखोज्ने मान्छे । सबै कुरामा प्रथम हुनुपर्ने, कहिलेकाही दोश्रो भएमा स्विकार्न मनै नलाग्ने, धाँधली गरेर दोश्रो बनाएजस्तो लाग्ने ।
एकपटक गाउँ नजिकै पर्ने बागमती खोलामा पौडी खेल्न जाँदाको कुरा याद आउँछ । गहिरो दह, देब्रे किनारामा अग्लो ढिस्को, जनै पुणर्िमाको दिन । रातभरको भदौरे पानीले असमेल बाढी बढेको खोला, नुहाएर जनै लगाउनु पर्ने । साथीभाइमा होड चल्यो, जस्ले ढिस्कोको माथिल्लो खुड्किलोबाट फरालेर खोला क्रस गर्छ उही राजा । भएन त कुरो ?
ल भनेर हतारमा लुगा खोलेर फरालियो, मलाई खोलाले ककारोमा खाँद्दै लग्यो, पानी घुट्क्याउन थालियो, १/२ सेकेण्ड भरमै होला तीन त्रिलोक चौध भुवन सबै देखियो, आमाको माया, साथीहरूको बहकाउ, राजा बन्ने सपना.. ! धन्न कसो कसो ढिस्कोको भित्तामा खुट्टाले अचेटेर बल लाउँदा पानीको भेलको ठेलमेठेल सङ्गै किनारामा हुत्तिन पुगिएछ । बाढीको धमिलो पानी भोमिट गर्दै लखतरान परियो, झन्नै मरिएन । साथीहरू हाँस्दै थिए, कोही पिरले होला आत्तिँदै रहेछन्, कोही भने मर्यो भन्ठानेर भाग्ने तयारीमा समेत रहेछन्, म ठिक भएपछि जिस्काउन थाले । लखतरान भएर घर पुगियो, क्वाँटीको स्वाद लिन नपाउदै हन्हनी ज्वरो फुट्यो, इन्तु न चिन्तुसङ्ग ज्वरो आएर २/३ दिन घरमै सुत्नु पर्यो । बिस्तारै घरमा थाहा भएछ, कम्ती गाली खाइएन, खोलामा जान, पौडी खेल्नै बन्देज लगाइयो । त्यसै बेलादेखि पौडी बन्द, पौडी सिकाइको पनि अन्त्य भयो । सोचियो, राजा बन्न त गाह्रै रे छ ।
२०४६ मा ओभरसियरको जागिर खाएर तत्कालिन सत्यदेवी गाउँ पन्चायत धादिङ जाँदा सल्यानटारको बाटो भएर लामो जङ्गलको बाटो र पुल तरेर ठाउँमा पुग्नु भन्दा आँखु खोला तरेर छोटो बाटो हुँदै बाकुलेको डिल, हाँसे पसल बजार निस्कन राजकुमार दिक्पाल भएर अघि बढियो, माछाको ढाडजस्तै खोलाका ढुङ्गामा टेक्ने बित्तिकै चिप्लेर लडियो, नदीले बगाएर बुढिगण्डकीको दोभान छेउसम्म पुर्याउँदा त्यै बेलाको पौडी कौशलले बालबाल बच्दै किनारामा पुगियो, बचियो ।
अर्को घटना..
यसैगरी अर्को पल्ट घर नजिकको महादेव खोला नुहाएर ४/५ जना दौँतरीहरू फर्कदै गर्दा बाटोको कान्लोमा अम्बाको बोटमा आँखा लाग्यो, दशैँको सिजन, अम्बा अलि कट्मिरो तर लोभ लाग्दा थिए । हामी बीच बाजी पर्यो, जो दौडदै अम्बाको रुख चढेर पहिले अम्बा टोक्छ, उही राजा हुने । एक, दुई, तीन गन्दै कुदियो, रुख चढियो, अम्बा टिपेर ओर्लँदै जोशमा टोकियो, जोडले टोक्दा मेरो अगाडिको दाँतको जरानै भाँचियो, थरक्कै भएँ, मुख कमाउँदै थचक्क बसेँ, रगत देखेपछि साथीहरू भागे । म बिस्तारै रगत निल्दै, पुछ्दै हल्लिएको दाँत च्याप्दै घर पुगेँ, खबर पुगिसकेको रहेछ, खुब गाली खाइयो, धेरै नै अर्ती उपदेश सुनियो, बुवा, आमा र दिदीहरूबाट ।
दाँत झरेरै छोड्यो । फेरिएको दाँत थियो, फेरि अर्को दाँत कहिल्यै आएन । पछि दुइवटा बीचको खाल्डो अलि पुरियो र हाँस्दा याद नहुने जस्तो भयो । तर राजा बन्न चाहेको पल कहिल्यै बिर्सी नसक्नुनै भयो, अहिलेसम्म हरपल याद आइनै रहन्छ । जिब्रो दाँतको खाली ठाउँमा पर्दा र त्यो बागमतीको ढिस्कोको बाटो हिँड्दा पटकपटक सम्झना आउँछ, मनमनै हासो पनि लाग्छ । कहिलेकाहीँ पागलझैँ आफैँ एक्लै हाँसिन्छ पनि ।
त्यसो त आखिर राजा भनेको पद भन्दा विशेषण हो, अरुभन्दा अगुवाभै नेतृत्व गर्न सक्ने, रुप, गुण, सीप, क्षमता, कौशल, शक्ति, धैर्यता, जाँगर.. अझै भनौँ बत्तीस लक्षणले युक्त नेतृत्वदायी मान्छे हो भन्ने कुरा धेरै पछि बुझियो । इतिहासमा राजाहरू जनताको नजिक रहने, अप्ठ्यारोमा जनताको नेतृत्व गर्ने, युद्धको नेतृत्वसम्म आफैँ गर्ने गरेका कैयौँ उदाहरणहरू छन् ।
समय क्रममा राज लक्षण या विशेषताले हीन हुँदा, समय सापेक्ष विचार, व्यवहार, क्षमता, दुरदर्शिता, राजनीतिक, कुटनीतिक चरित्र गुम गर्दा राजाको अवसान भएको कुरामा इतिहास साक्षी छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै अझ अहिले त लोकतान्त्रिक गणतन्त्र, राजा हटे त के भो ? राजाको स्थान राष्ट्रपतिले लिएका छन् । प्रदेशमा प्रदेश प्रमुख, नगरमा नगर प्रमुख, गाउँमा गाउँ प्रमुख, वडामा वडा प्रमुख.. गर्दै कुनै कमिटी बन्यो । अध्यक्ष, संयोजक, संसदमा सभामुख, मन्त्रीपरिषदका प्रधानमन्त्री, मन्त्री लगायत सरकारका विभिन्न निकायका प्रमुखहरू तथा सहयोगी सदस्यहरू अधिकार कर्तव्यका हिसाबले राज्यको राजकीय अधिकार बाहकहरू हुन्, चाहे न्यायिक, कार्यकारिणी, व्यवस्थापकिय होस् या सामाजिक, आर्थिक, क्षेत्र होस्, प्रत्येक अख्तियार वाला आआफ्नो स्थानका राजानै हुन्, अर्थात् जनता, समाजको नेतृत्व कर्ता ।
प्रत्यक्ष या परोक्ष रुपमा जनताको काम गर्न भनेर चुनिएका, छानिएका, गनिएका, विशास गरिएका पात्रहरूले नै आ आफ्नो कार्यक्षेत्रबाट ‘राजा सबैको साझा’ भन्ने पुरानो उखान चरितार्थ पार्नु पर्ने आजको टड्कारो आवश्यकता हो, जस्तो लाग्छ । तर यसको ठिक विपरित यिनले नैतिक कर्तव्य पालना भन्दा आजको अवस्थामा हिरण्य कसेपु, दुर्योधनले भने झैँ ‘म नै राष्ट्र हुँ, म सर्वश्रेष्ठ, उत्कृष्ट पात्र, राजा हुँ’ भन्ने अहङ्कारी र भ्रामक सोच पैदा भएबाट राष्ट्र, जनताको काममा कर्तव्यपरायणता भन्दा नीजि सुख, सुविधा भोगको ध्यान र अधिकारको चरम दुरुपयोग गरिएको अवस्थाले जनस्तरमा पुरानै राजाको माग समेत भएको अवस्था छ ।
तर बुझ्नुपर्ने कुरा के भने इतिहास कहिल्यै पछाडि फर्किदैन, राजा व्यक्ति भन्दा नेतृत्व र वास्तविक प्रवृत्ति हो । छोटे राजा, बढेराजाहरू सबैले आफ्नो आङको फोहोरो टक्टक्याउने, फोहोरको नालिबाट उठेर सुध्रने प्रयास गर्दै नेतृत्वको याने राजाको मर्म, भावना बुझेर कर्तव्य पालनामा लाग्ने हो भने पुरानै राजाको माग गर्नेहरूलाई दोष दिएर अल्मलिनुपर्ने, आफ्नो सिंहासन डग्ला भनेर आत्तिनुपर्ने, कुनै कारण पनि देखिँदैन । जनताको माग सही नेतृत्व, जनता र राष्ट्र प्रति समर्पित प्रवृत्ति हो । आफैँमा सबै मनको राजा हुन्, जनता, सरकारका प्रतिनिधिहरू आआफ्नै कार्यक्षेत्रका राजा हुन्, पदीय मर्यादा, समसामयिक राष्ट्रको भावना बुझेर काम गर्नुले नै निजी अस्तित्व समेत बचाउ गर्न सक्छ ! अन्यथा सरोकारवालाहरूलाई चेतना भया..!
“नेतृत्वको सही लगाव राजा सिङ्गो प्रवृत्ति हुन्छ
जनताको आड भरोसा, राष्ट्रप्रेम सद्वृत्ति हुन्छ
रूप, गुण, सारभुत तत्व बुझ्नुपर्छ, नेतृत्वले
दृष्टिभ्रम, अहंकारले विनास र दुर्गति हुन्छ ।”
अस्तु.. !!!
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































