विष्णुहरि पाैडेलअभिमान
पाखण्डी छन् कति सरल छन्, मुण्डका मुण्ड मण्डी। लाटोभन्दा चतुर बुझकी हुन्छ साह्रै घमण्डी। दिन्छन् अर्ती तर पनि अहंकार हुन्नन् निदान। आफूभित्रै तम छ ममता,छोपियो आत्म-ज्ञान।

विष्णुहरि पौडेल :
आफैमा केन्द्रित छ दुनिया माथि नै राख्छ गन्दा ।
सोच्छन् आफ्नै अभिमत सही, छैन अर्को मभन्दा ।
पाको मेरै भनुभव छ जो सोच्तछन् वार-वार ।
खोज्छन् आफैँ किन ठुलिन खै, दैव नै खान्छ हार ।१।
एक्लै बस्ता ठुलिनु कसका सामु हुन्नन् तराजु ।
सालो भेटे तमिज बदली गर्छ आफ्नै भिनाजु ।
कोभन्दा को कम छ र, सधैँ लड्दछन् दाजुभाइ ।
यी नातामा पनि छ कि कतै साइनको मपाइँ ।२।
आमा छोरी सरह नहुने मेल सासू बुहारी ।
सौता-सौता हरपल जुधी खेल्न थाल्छन् जुहारी ।
दुब्लो, मोटो, वजन, मनितो राख्नुको छैन ख्याल ।
सोह्रै आना असल म भनी गर्न थाल्छन् बबाल ।३।
साँढे जुध्छन् नजिकिन पुगे डुक्रिँदा बज्छ रालो ।
के डाहा हो कुकुर झगडा ङ्यार्र गर्ने बिरालो ।
के मान्छे, के पशु,वनचरी, के धनी,सर्वहारा ।
झिक्छन् आफ्ना तुजुक शिरमा गर्वकै चढ्छ पारा ।४।
घुर्छन् हेर्दै गुरु-गुरु जुटे, छाँट्दछन् पण्डित्याइँ ।
चेला चर्का अझ कलि-युगे क्यै न क्यैको मपाइँ ।
सम्राट् को छन्, कति विषयमा को छ सर्वज्ञ हेर ?
आधा गाग्री जल अलि छचल्किन्छ हल्ला गरेर ।५।
राम्रो/राम्री म सरि छ र को ? गर्वले खोज्छ मान।
चाल्नो बन्दै अवयव खिई, चाउरी पर्छ ज्यान।
सेखी गर्छन् विभव धनमा, मृत्युको छैन ध्यान।
को छन् विद्वान् अजमर हुने, छैन खै दिव्य-ज्ञान?।६।
पाखण्डी छन् कति सरल छन्, मुण्डका मुण्ड मण्डी।
लाटोभन्दा चतुर बुझकी हुन्छ साह्रै घमण्डी।
दिन्छन् अर्ती तर पनि अहंकार हुन्नन् निदान।
आफूभित्रै तम छ ममता, छोपियो आत्म-ज्ञान।७।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































