साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नुनको कुरा

पार्टीगत गुट, फुट, एम. सि. सि., एस.पि.पि. सम्झौताको घटना, राष्ट्रघाती सन्धी सम्झौता लगायतका “विराट कदमहरूलाई” शिंहावलोकन गर्दै प्रष्ट हुन्छ । जे होस्, नुनको महात्म्य वर्णन  हजार जिब्रा भएका शेष नाग, ब्रम्हा, सरस्वतीले समेत गर्न मुस्किल होला ।

Nepal Telecom ad

कुमार खड्का :

आमाको किरिया कर्मको चौथो दिन जिउ गह्रुङ्गो महसुस भयो, हेर्दाहेर्दै आँखा तिल्मिलायो, भनन्न रिङ्गटा लाग्यो, कान पनि टुनुनु… बज्दै थियो, जिउ कर्कलोको पात गलेझैँ फतक्क गलेको अनुभव भयो । उभिन खोज्दा खोज्दै थचक्क भुइँमै बसेँ, एक्कासि जमिन काँपेकोझैँ लाग्यो, मुखबाट फुत्त निस्कियो, “भुइँचालो… ।” एक्छिन पछि लाजले आफैँ फिस्स हाँसियो, रिङ्गटा कायमै थियो, रक्तचाप चेक जाँच गरियो, लेभल निकै कम भएछ । कन्फर्म भयो, नुन बार्नुको करामत ! एक्छिन आराम गरियो । बिस्तारै बग्रँदै गइयो । क्रमशः नित्य गर्नुपर्ने कर्म गरियो । कसैले सिधे नुन खान हुन्छ, खानु भन्ने सल्लाह दिए, कसैले अनार खाने सल्लाह दिए, कसैले साग र उसिनेको आलु खाने सल्लाह दिए । सबै जना जान्ने, बुझ्ने आफू मात्र मूर्ख के गर्नु ? सबैको सल्लाह मुण्टो हल्लाउँदै ग्रहण गरियो । आफ्नो हिसाबमा कर्मकाण्ड सम्पन्न गरियो ।

करिब सवा दुई वर्ष बितिसकेछ आमाको बैकुण्ठ बास भएको अहिले । नुनको प्रसङ्ग र महत्व सम्बन्धी कुरा हुँदा त्यो बेला आफूले भित्रै महसुस गरेको कुरा कोट्याएको मात्र हो । मेरो पिताजी स्वर्गवास हुनुभएको १२ वर्ष पुग्न लाग्यो । त्यसताका नुनको कारण खासै शरीरमा प्रभाव र समस्या नदेखिएकोले त्यति गहिरो अनुभव पनि रहेन । उमेरको कारणले पनि होला सायद । हिन्दु परम्परा अनुसार प्राकृतिक रूपमा प्रत्यक्ष जैविक तत्वहरूको संयोजन, सम्मिश्रणको लामो रासायनिक प्रतिक्रियाबाट बनेको पानीमा घुलनशील यौगिकलाई अशुद्ध भनी बर्जित गरिएको एउटा पक्ष भए तापनि धार्मिक विधि विधान अनुसार क्रियाकर्म गर्दा १२ देखि १३ दिन एकचित्त, एकानिष्ठ भई नुन बार्ने परम्पराको थालनी तामसिक भोजनको एकमात्र सम्मिश्रण नुन भएको वास्तविकताले सात्विक भोजन ग्रहण मार्फत पितृ कार्यमा शुद्ध देहसहित शोकलाई आत्मकेन्द्रित बनाउन पनि होला जस्तो लाग्छ, मुख्यतः नुन बार्ने परम्परा । कुनै पनि तामसिक भोजनलाई बर्जित गर्नु आफ्नै परम्परा र संस्कार पनि होलान् । हरेक धर्म, जाति, सम्प्रदायको आ-आफ्नै फरक फरक सोच र संस्कार हुने हुँदा त्यस तर्फको प्रसङ्ग यतिनै गरौँ । आफ्नो नमिठो भोगाइको कारण नुनको आवश्यकता र महत्व बारे थोरबहुत चर्चा गर्ने प्रयास गरिएको मात्र हो ।

कोही मान्छे अलि चिन्तित भएर निधार खुम्च्याउँदै वा टाउको कन्याउँदै झोक्रायो भने अरुहरूले भन्ने गर्छन्, “किन त्यो नुन खाको कुखुरा जस्तो झोक्राएको छ हँ आजकल… ?” तर मान्छेको हकमा नुनको प्रभाव ठिक उल्टो हुँदोरहेछ र नुन खान नपाउँदा पो झोक्राउँदा रे छन् त । अब कुनै कुखुरा झोक्रायो भने भन्दा हुने रहेछ “नुन खान नपाएको मान्छे जस्तो झोक्राएछ त यो कुखुरा ? मर्छ कि क्या हो ?”

हामी बच्चा छँदा बुवाले नुन किन्न पठाउनु हुन्थ्यो, पसलमा । अरु सामानहरू पसलेको दृष्टिको पेरिफेरीमा राखिएको हुन्थ्यो, तर नुन चाहिँ अलि अजग ठाउँमा । प्रायः नुन आफैँले भाँडोले भर्दै झोलामा हालेर दररेट अनुसारको पैसा मात्र तिरे हुन्थ्यो । नुनमा त्यति नियन्त्रण थिएन, बेवारिसेझैँ । तर जब मित्र राष्ट्र भारतसँग अलि सम्बन्ध धुमिल भएको गन्ध रेडियो मार्फत समाचार आउँथ्यो, नुनको हाहाकार शुरु हुन्थ्यो । किन्नेले बढी किन्न खोज्ने, पसलेले कम दिन खोज्ने । मेरो बालसुलभ मस्तिष्कमा यस्तो किन होला भन्ने कौतुहलता जाग्थ्यो । अरु चिज भन्दा सस्तो छ, त्यति नियन्त्रण छैन, तर भारतसँगको सम्बन्ध चिसिँदा नुन, मट्टीतेलकै चिन्ता प्रारम्भ, नुनको समस्याले प्रायः घरमा पिरोलिरहन्थ्यो । बिस्तारै ठूलो हुँदै गएपछि बुझिँदै गइयो । समुन्द्री देशमा नुनको खेतीनै हुनेरहेछ, एक लिटर पानीमा पैँतीस ग्रामसम्म नुन हुनेरहेछ, उत्पादन धेरै, उत्पादन खर्च कम भएकोले पनि सस्तो भएको रहेछ । तर हामी प्रायः मित्रराष्ट्र भारतसँगनै परनिर्भर भएकोले पनि भारतसँगको कुटनीतिक सम्बन्धसँग नुनको आपूर्ति सम्बन्ध सापेक्ष हुने गर्दोरहेछ । अझैसम्म करिब उस्तै अवस्था विद्यमान रहेको छ, ठूलो र छिमेकी मित्र देशले नजिकको मित्रलाईनै अप्ठ्यारोमा प्रहार गर्ने हतियारको रुपमा यो “नुन” भन्ने खनिज जिनिस, साँच्चै महत्त्वपूर्ण  नै हो कि झैँ लाग्दछ । त्यसैले-
“अत्यधिक सरोकार नुनसँग
भारतिय कुटनैतिक धुनसँग…” भन्दा अत्युक्ति नहोला जस्तो लाग्छ, कहिलेकाहीं मलाई ।

२००० सालतिर मेरो बुवाले वर्णन गरे अनुसार टुँडिखेलमा नुन थाप्न जाँदाको कहानी अहिले हामीलाई रमाइलो झाँकी जस्तोमात्र लाग्न सक्छ । भोग्नेहरूको कन्तबिजोक अवस्थाले जो सुकैको आँखा रसाउँछ । प्रत्येक महिना, दुई महिनामा तोकिएको दिनमात्र, तोकिएको न्युनतम मात्रामा टुँडिखेलमा लाइन बसेर नुन थाप्नुपर्ने, शहरका मान्छेहरूले अघिल्लो रात देखिनै थोत्रो झोला, धोक्रामा नाम लेख्दै टुक्रा इँटाले थिचेर लाइन राख्दा अगाडि उभिन पाउने, काँठ र बाहिर वरिपरि जिल्लाका रैतिहरू कैयौँ दिन, रात माया मारेर, खाइनखाई लाइनमा बस्नुपर्ने, बल्ल बल्ल पालो आउँदा कहिले नुन सकिएको घोषणा हुने, कहिले पाउने कोटाको चार मानाबाट घटेर दुईमाना, दुईमानाबाट एकमाना मात्र पाउँदा पनि युद्ध जितेझैँ खुशी हुनुपर्ने घटना वणर्नले संवेदनशील मान्छेको मन कटक्क कुडिँदैन र ?

जे होस् २००७ सालको प्रजातान्त्रिक खुला अवस्थाले खनिज नुन, मट्टीतेलको समस्या भने नब्बे प्रतिशत समाधान भएको कुरा खुद बुवा र बुवा पुस्ताकै मुखबाट सुनेको हुँ, उहाँहरूको कहानी सुन्दा भयङ्कर दानवी राजको वर्णनले आतङ्कित भएको भावभङ्गीको सङ्केत पाउँथेँ, मुहारमा मैले । तर अहिले वास्तविक खनिज नुन चाहिँ करिब सर्वसुलभ पाइनेगरी स्थितिमा सुधार भए तापनि वास्तविक जनताको भाउ चाहिँ नुन जस्तै सस्तो, तर छरपस्ट भएको अवस्था छ । अहिले “चुनावको बखत जनता सुन, चुनाउ पछि नुन !” भनेजस्तो तितो अवस्था सिर्जना भएको छ गाँठे.. !

आफ्ना दाजुभाइको पुस्ता अनुसार नजिक सम्बन्ध र महत्वको आधारमा कति दिन नुन बार्नुपर्ने भनेर तोकिएको “नुन सम्बन्ध” को कुरा गर्ने हो भने नुनको मूल्य, मान्यता र महत्व पनि कति विशाल रहेछ, हाम्रो समाजमा भन्ने कुरा प्रष्ट हुन्छ । २००७ साल अघिसम्म नुन पनि तिब्बतबाट आउँथ्यो अरे । त्यसलाई “भोटे नुन” भन्ने गरिन्थ्यो, जसको अवशेष वाणिहरू हामीले पनि सुन्न पायौँ । पहाडी, हिमाली जस्तो जर्जर र विकट भौगोलिक अवस्थाले ढुवानीको असहजताको कारण होला नुनको उत्पादन मूल्यभन्दा वितरण मूल्यमा आएको अत्याधिक फरक र ज्यादा मूल्यलाई ‘नानी भन्दा केजाती ठूलो’ भन्दा पनि केही अत्युक्ती नहोला । अहिले पनि हाम्रो देशको उत्तरी भूभागमा चिनियाँ नुनकै प्रयोग हुनेरहेछ । त्यहाँ नुनको लागि भए गरेका सङ्घर्षहरू कतिसम्म कठिन रहेछन् र “नुन जिजिविषा” कस्तो हुँदोरहेछ भन्ने कुरा एरिक भेलीले निर्माण गरेका “क्याराभान” नाउँको चलचित्रबाट प्रष्ट हुन्छ । संस्थागत रूपमा गत वर्षको साउने सङ्क्रान्ति ताका साल्ट ट्रेडिङ्ले नुन आपूर्ति व्यवस्थित गर्न नसक्दा कर्णालीमा भएको हुलदङ्गा र नुन आन्दोलनले दुखद मोड लिँदा धेरै जना घाइते हुन पुगेको कुराले नुनको महत्वलाई जगजाहेर गर्दछ ।

आजको युगमा पनि संसारकै सस्तो खनिज आपूर्तिमा भएको असन्तुलन र निम्छरो व्यवस्थापनको कारण घटेका दुःखद घटनाले नुनको अनावश्यक महत्वमा सभ्यतानै लाजमर्दो मोडमा पुगेको स्थितिले अचम्मै र अत्यन्तै उदेक लाग्दो महसुस हुन्छ । “सुशासनको कठघरामा न्यायोचित र सन्तुलित वितरणको कमि लगायत निरिह राज्यको पराकाष्ठा स्पष्ट देखिन्छ ।“ राज्यको निम्छरो पन देख्दा भन्न मन लाग्छ…
“नुन सरोकार नहुन सक्छ, सुनको लाप्सा समाउनेलाई
जूनको सरोकार नहुन सक्छ, खोपी भित्र रमाउनेलाई
जुवा अड्डा जमाउनेको महत्व हुन्न मर्यादामा, आखिर
अभावको सरोकार नहुन सक्छ, ‘सर्प खेती’ जमाउनेलाई ।”

आफ्नो पहुँच भन्दा टाढा भएको कारण २१ औँ शताब्दीको मध्यमा पनि जनतामा नुनको सङ्घर्ष कायमनै छ अझै । भैरव अर्यालको आलु निबन्धमा आलुको बहुमुखी व्यक्तित्व भएको वर्णन जस्तै नुनको पनि बहुआयामिक प्रयोग, उपयोग हुनाले बहुआयामिक व्यक्तित्व छैन, भन्न सकिन्न होला, सस्तो भएपनि बेलाबेलामा महङ्गो उपयोगको कारण चर्चामा आइरहन्छ, यो नुन । तरकारीमा होस् या अचारको भेराइटीमा । सारा चिज मिलेको होस्, नुनको प्रयोग विना महत्वहीन हुन्छन्, ती परिकारहरू । असन्तुलित प्रयोगले पनि चिजको महत्व अत्यधिक घटबढ हुन जान्छन् ।

भोज भत्तेरमा हुने प्रशंसा प्राय नुन, पिरोको सन्तुलनमै बढी केन्द्रित रहेको हुन्छ । आखिर कस्तो रहेछ यो खनिज ? भोको रहुञ्जेल खानाको कुरा, अलि अघाएपछि स्वादको कुरा । त्यसैले पनि उखान प्रचलित भएको हो कि ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’ र स्वादमा पनि अरु भन्दा अत्यधिक बाहुल्यता नुनिलोकै हुन आउने कुरा सबैलाई महसुस भएकै कुरा हो ।

वैज्ञानिकहरूले स्वस्थ शरीरको लागि मान्छेको उमेर, शारीरिक अवस्था, सन्तुलित भोजन, खानपान प्रयोगको आधारमा नुन २ देखि ५ ग्राम सम्म उपयोगी हुने बताएका छन् । मस्तिष्क, मुटु, मांसपेशी, हड्डीको विकास, स्नायुतन्तुको गति र समग्र शारीरिक विकासको लागि भनौँ या मानव शरीर सञ्चालनको लागिनै विविध खाले खनिज लवणहरूको आवश्यकता पर्दछ । सोडियम, पोटासियम, क्याल्सियम, जिन्क.. आदि । सबैभन्दा बढी सोडियमक्लोराइड (NaCl) नै हो भन्ने कुरा शरीर विज्ञानले प्रमाणित पनि गरिसकेको छ । अप्रत्यक्ष रूपमा दूध, फलफूल, सागपात बाट अत्यधिक खनिज लवण पाइने हुँदा सन्तुलित भोजनको प्रयोगले प्रत्यक्ष नुनको प्रयोग नगर्दा या न्यूनतम रुपमले मात्र गर्दा हुन्छ भन्ने छ । तर तेश्रो विश्वका जनसङ्ख्याको अधिकांश हिस्सा कमजोर आर्थिक अवस्था, खाद्यान्न अपर्याप्तता र पहुँचको असहजताको कारण सन्तुलित भोजनको त के कुरा भरपेट खाने कुरानै दुर देशको कथा बनेको कारण शरीर सन्तुलन कायम राख्न “लै वरी” जस्तो हुँदा प्रत्यक्ष नुनको प्रयोग बढी उपयोगी र अपरिहार्य भएको भने हो, भनेर किटान गर्दा गल्ती हुँदैन होला । शरीरमा बढी नुनको कारण हुने बेफाइदा पक्षको भने छुट्टै कथा छन् ।

संकट, युद्ध, आम हडतालमा सुन खोज्दैन मान्छे, रोटी र नुन खोज्छ । २०७२ सालको महाभूकम्पको कारण तहसनहस भएको स्थितिले पार नपाउँदै त्यसको लगत्तै मित्र राष्ट्र भारतले लगाएको आर्थिक नाकाबन्दीले नुन समेतको आपूर्तिमा भएको असन्तुलन र काला बजारियाहरूको खेल, झेलको सन्दर्भमा मलाई मेरो हितैषी मीतज्यूले भन्नू भएको कुराले बेला बेलामा भित्रैदेखि झस्काउँछ । उहाँले भन्नू भो कि “मीत ज्यू ! हाम्रामा धेर थोर धोक्रा, भकारीमा अन्न छन्, बारीमा आलु छन्, साग, मुला… छन्, पाखामा दाउरा छन्, खासै समस्या त हुँदैन, तर मौका मिल्दा २/४ बट्टा सलाई, २/४ प्याकेट नुनको भने जगेर्ना गर्न सके भलै होला है ? परिस्थितिले कस्तो मोड लिन्छ के थाहा… ?”

अहिलेको विश्व, अन्तर्राष्ट्रिय सम्बन्ध, युएनओको भूमिका लगायतका कारण त्यस्तो अवस्था नआउला त भनेँ, तर मनमा कता कता चोर पसे जस्तो भयो, एक्कासी । थप केही भन्न मन लागेन, फिस्स हासेर टारेँ । त्यो मौनतामा समर्थन भने थियो, मीतज्यूको दमदार तर्कमा ।

त्यही ताका छिमेकी गाउँको एउटा पसल चोरीको घटनाले दिमाग हिलायो, हर्लिक्सको बट्टा खाली पारेर तेल भरिएको र साथमा दाल, चामल र केही पाकेट नुन समेत चोरी भएको रहेछ । चोर खोज्नेहरूकै आँखाबाट आँसु आयो रे भन्ने सुनियो । जस्को पसल चोरिएको हो, उनैले जाहेरी दिन समेत आनाकानी गरेपछि केस त्यसै टरेको थियो । त्यहाँ चोरीको अनैतिकताको कुरा भन्दा मानवीय संवेदनाको पक्षले जितेको देखियो, घटना टुङ्गियो ।

नुन कडा खाने मान्छे पनि कडा हुन्छ भन्छन्, मेरो बुवा कडा स्वभावको हुनुहुन्थ्यो । अलि रिसाहा र कडा मान्छे देख्यो कि बुवा सम्झने र नुन सम्झने भएको छु, आजकल । म पनि स्वादे जिब्रो भएकोले नुन कम भो, बढी भो भन्दै खाना खाने समयमा आमालाइ सताइरहन्थेँ । त्यही भएर आमाले तरकारी, आलु फ्राई, क्वाँटी पकाउँदा मलाई नुन चाख्न दिनुहुन्थ्यो । म मासु भने खान्नथेँ, मासुको कुरामा आमालाई बुवासँग मात्र सहकार्य गरे हुन्थ्यो ।
नुन लाग्यो कि लागेन, कस्तो छ बाबू भनेर सोध्दा “अघि त सेतो सेतो थियो, अहिले देखिएन” भन्थे, आमा रिसाउनु हुन्थ्यो, म एक्छिन भाग्थेँ । आफैँले चाखे पछि गनगन गर्नु नि भएन । त्यो छाकको राहु टर्थ्यो, आमा हाँस्नु हुन्थ्यो । तर “एउटा कुरा बाबु ! ‘नुन कम खानु राम्रो, ज्यादा स्वादे जिब्रोले हानी गर्छ है’ भनेर भन्न भने छुटाउनु हुन्न थ्यो । स्वास्थ्यको चेत भने स्वतस्फूर्त अनुभवले पनि थियो उहाँलाई ।

आमा बितेपछिको सुरुवातीमा भान्सा परचक्रीको हो कि क्या हो जस्तो लाग्न थाल्यो, श्रीमतीजीसँग बिस्तारै लय मिल्दै गयो, तर भान्सामा तरकारी, अचारमा नुन नपुगेको विषयको झर्काझर्की पनि नुनकै बढी मात्रा प्रयोग र हाई ब्लड प्रेसरले हुनसक्ने हुदा अलिनो खान र नुनको सन्तुलित प्रयोगमा आफैँ सचेत हुनु पर्ने बाध्यताले पनि आजकल नुन सेवनको कमीसँगै झर्काझर्कीमा पनि कमी आउँदैछ, हाम्रो भान्सामा, बिस्तारै बिस्तारै ।

आजकल आपसी सम्बन्ध पनि नुन जस्तै लाग्छ मलाई । सन्तुलनमा प्रयोग, उपयोग, सम्बन्ध कायम गर्नसके सञ्चो हुने र असन्तुलित भएमा विसञ्चो हुने । दाजुभाइ पनि नुन जस्तै लाग्छ । अत्यन्तै अपरिहार्य, जिउँदो जन्ती, मर्दा मलामी, असजिलोमा भरथेग, सजिलोमा भोज, भत्तेर, रमाइलो गर्ने साथीसङ्गी । पीडित र निम्छरो हुँदाको भरथेग, प्रेसर लो हुँदाको औषधि, नुन जस्तै । आफ्नो अधिक प्रगतिमा उनीहरूले कटौती गर्ने नुनको मात्रा जस्तो । यसरी शरीरको स्वास्थ्य नुनको मात्रासँग समानुपातिक  (directly proportional) र दाजु भाइहरूसँग आफ्नो प्रगतिको आपसी सम्बन्ध व्युतक्रमानुपातिक  (inversly proportional) हुन्छ कि भन्ने कोणबाट मूल्याङ्कन गर्न पनि मन लाग्छ आजकल मलाई ।

साथीभाइ र टाढाका मान्छेहरूसँगको सम्बन्ध भने व्यवहार र खर्च गराइ, होटेल, रेष्टुरेन्टमा मेनु अनुसारको बिल तिराइसँग directly proportional नै हुन्छ भन्ने प्रमाण २०३८ सालमा पुल्चोक क्याम्पसमा पढ्दा ताका सुरुवाती परिचय, खाजा खुवाई र भलाकुसारिको कारण मेरो त्यसताकाका पञ्चायती पक्षधर मण्डले साथीहरूसँगको आत्मियताले पनि आंशिक पुष्टि गर्न सकिन्छ । सायद नुनकै करामतले पो त्यो सम्बन्ध प्रगाढ हुनसक्यो कि भन्ने निष्कर्ष भने हिजोआज निकाल्न थालेको छु । धन्य मेरो मनगढन्ते सोच ।

“कुकुरले गर्छ निमेकको सोझो, मान्छेले गर्छ विवेकको सोझो..!” भन्ने महाकवि देवकोटाको भनाई उनकै युगको सन्दर्भमा एक्दमै जायज थिए होलान्, तर यो युगका मान्छेको स्वभावमा यति धेरै हदसम्म परिवर्तन होला भन्ने हेक्का उनमा रहन सकेन होला कि ? अहिलेका मान्छेहरू प्रायः हदैसम्म नुनको सोझो गर्दा रहेछन् भन्ने कुरा विभिन्न स्थानमा भए, गरेका काम कार्वाहीमा आर्थिक सहायता, चन्दा, पुरस्कार, दान, दक्षिणा, भेटीको प्रयोग तथा अड्डा, अदालत, पुलिस, प्रशासनमा प्रदान गरिने नजराना, कोशेलीको प्रभाव मूल्याङ्कनबाट राम्रै पृष्टपोषण भएबाट तीतो सत्यको हुबहु उजागर गर्दा गल्ती भए जस्तो महसुस भने पटक्कै हुँदैन । पार्टीका उम्मेदवार हुन, विविध पदका राजनीतिक नियुक्ति हुन समेत नुनको गुनले राम्रै काम गरेको देखिन्छ । डलर र भारु रुपी नुनको सोझो गर्न न्वारनदेखिको बल लगाउँदै सारा राजनैतिक शक्ति लागिपरेको यथार्थता त पार्टीगत गुट, फुट, एम. सि. सि., एस.पि.पि. सम्झौताको घटना, राष्ट्रघाती सन्धी सम्झौता लगायतका “विराट कदमहरूलाई” शिंहावलोकन गर्दै प्रष्ट हुन्छ । गल्ती ठहरे नुनको न्युनतम प्रयोग गर्ने यो मन, मुटुले दुई हात जोडेर माफी समेत माग्न सक्दछ ।

जे होस्, नुनको महात्म्य वर्णन  हजार जिब्रा भएका शेष नाग, ब्रम्हा, सरस्वतीले समेत गर्न मुस्किल होला भने म जस्तो साधारण मनुवाले के गर्न सकुँला ? तर शरीरमा नुनको सम्बन्ध, समाजमा आफ्ना र आफन्तहरूसँगको सम्बन्ध भने समय सापेक्ष सन्तुलित बनाउन एकदमै जरुरी भएको कुरा समय सन्दर्भले बताउछन्, र मेरो अनुभव बोल्छ…
दुनियाँ,
“नुनको गुन लाउनेलाई पस्केको गाँस छोड्नसक्छ
सहानुभूतिका शब्द चयनले शिलापत्र कोर्नसक्छ
मनको धुन साट्छ, उचित समय प्रभावमा, र त
सम्बन्धको भक्ति भावले शिसमहल तोड्नसक्छ ।”
अन्तमा,
“न्यून र सन्तुलित नुनको प्रयोग
स्वास्थ्य अनुकूल जीवन उपयोग… !”
अस्तु..!!!

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x