साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटकेहरूकाे चटक

अनुशासन, आस्था, विश्वास छ भनौँ र त टुलुटुलु परी त्यस्ता नौटङ्की र चटक हेरिरहन सक्ने क्षमता छ । हामी माथि भगवान पशुपति नाथको कृपा छँदैछ, अब त इशु ख्रिष्टको समेत कृपादृष्टि पर्दैछ भन्ने महसुस हुँदैछ ।

Nepal Telecom ad

कुमार खड्का :

“शङ्ख फुक्छन्, घण्टी ठोक्छन्, कैले डमरु बजाउँछन्
कमजोरहरूका दील, दिमाग जादु, टुनाले कजाउँछन्
देखाउँदै अनेकौं अभिनयहरू भीडदेखि रङ्गमञ्चमा
रित्याउँदै दर्शकका खजाना आफ्नै हवेली सजाउँछन् ।”

हेर्नुस् न, बडो ताजुक लाग्छ भन्या । हाम्रो जुनी त खालि चटक, जादु, सर्कस हेर्दै, तिनकै रहस्यभित्रका आशा, निराशाको फूल पार्दै र आँखामा धुल झार्दै पो बित्ने भो । कोही श्रव्यका, कोही दृश्यका, कुनै दुवैका । पुराना भर्सनकै सूत्र घोक्नेदेखि नयाँ सर्कस र स्टण्ट खोक्नेसम्मका चटके छन् । नौटङ्कीका रिमिक्सदेखि मुकुण्डोधारी चटकेहरू बजारमा छ्याप्छ्याप्ती देख्न पाइन्छ । भाषा, धर्म, सम्प्रदायको नाउँमा एन. जि. ओ., आइ. एन. जि. ओ. का आडमा चलेका छाडा चटकेहरू समेत । सबैभन्दा प्रभावशाली राजनीतिक व्यापारका चटकेहरूनै भएको कुरा निर्विवाद छ । सायद यो चटकको दायरा ज्यादा व्यापक र लाभदायक भएर पनि होला । चटकदेखि वाक्क, दिक्क लाग्दा समेत चटक्क त्याग गर्न नसक्नु सायद कुनै जमानामा म आफैँ पनि राम्रो चटके बन्ने सपना फट्काएर हिँडेको पटके भएर नि हुनसक्छ ।

कलेज जमानामा हड्ताल भयो वा पिरियड खाली भयो कि समय बिताउन सिनेमा हलमा फिलिम हेर्ने कि रत्नपार्कमा चटक हेर्ने ? भन्ने दुइवटा विकल्प हुने गर्थ्याे । कहिलेकाहीँ कृष्ण मन्दिर साइटमा हिन्दी फिलिम सुटिङ हुँदाको मौकामा भने पहिले सुटिङ हेर्ने विषयनै प्राथमिकतामा हुन्थ्यो । त्यो झन् सुन्दर चटकको रियलसल जस्तो भएर पनि हुन सक्छ । कहिलेकाहीँ सडक जादु हेर्नमै भरदिन लिप्त हाेइन्थ्यो भने कहिले भृकुटीमण्डपको सर्कसमा समय बिताएर आनन्द लिइन्थ्यो । “खेल खत्तम, पैसा हजम” को कुरा खुब हुन्थे, तर टिकट काट्नु नपर्ने फोकटको मनोरञ्जनमा रमाउन पाउँदा राहत र रमाइलो अनुभूति नहुने कुरै भएन । जादु सक्नु अघि केही सस्पेन्स सिन क्लोज गर्दै सहयोगको रुमाल थापेपछि भीडमा चलमल सुरु हुन्थ्यो, गोजी प्वाल परेका कन्जुसहरू पछि सर्दा म पनि बिस्तारै सर्न थाल्थेँ, ठुला र मनकारीहरूले केही सिक्का वा मोहोर रुपियाँ राखिदिन्थे । पैसा उठ्ति भइसकेपछि अन्तिम भाग शुरु हुन्थ्यो । मलाई भने फोकटमा च्याउँदै हेर्ने आँट आउँदैनथ्यो । मनमनै पैसा भएपछि रुमालमा ढ्याक फालेर बाँकि भाग हेरौँला भन्दै घरतिर लागिन्थ्यो ।

जादु हेर्दै आफूलाई पनि जादुगर बन्ने भाव पलाइसकेको रहेछ । कलेजमा पनि जादुगरी सिक्नेहरूको खोजी र रियलसल हुने कुरा बिस्तारै थाहा भयो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ ढुङ्गा खोज्दा देउता मिल्यो । संयोगले छोटो अवधिमै भद्र सङ्गतमा विद्यार्थी राजनीतिको जादुगरीमा फसियो । २०४६ सालको परिवर्तन पछि खुल्ला मञ्च प्राय राजनीतिक जादुको प्रवर्धन गर्ने थलो भइसकेको र अरु समय जिजीविषाका त्रिपालहरू ठडिनाले खुल्ला चटकेहरू विस्थापित हुने क्रममा थिए । मेरो विद्याको उपयोग हुँदा नहुदा सडक छापे चटकेका बिगबिगी शुरु भइसकेको थियो ।

नयाँ समाजमा खुल्ला बजार अर्थतन्त्रमार्फत् निजीकरणको चट्काले देशको उद्योग धन्दा ध्वस्त बनाएको झट्का हेरियो । हुँदो खाँदाको बहुमतीय सरकार ढालेर मध्यावधि घोषणा र त्यसपछिका उपक्रममा देखिएका छोटे, मोटे, थोते र गोथेहरू, जुङ्गे र बुङ्गेहरूको चटक, सत्ता स्वार्थका खेलो फड्को एकपछि अर्को गर्दै हेरियो । कोहलपुरदेखि महाकाली टनकपुर हाइवेसम्मको ग्लोबल टेण्डरको म्याच फिक्सिङ्ग, त्यस्को उत्तर दक्षिणको पक्षमा भएको बहस, विरोध, समर्थनको उत्कर्ष तथा सारा ठुला चटकेहरूको मिलिभगतमा भएको महाकाली सन्धि र देशलाई करोडौं युनिट बिजुलीको व्यापार लाभले हुनसक्ने सम्भावित सम्पन्नता नाम दिइएको भविष्यवाणिको चटकले दिमागी तहल्का मच्चायो ।

त्यसो त परिवर्तित सन्दर्भलाई मध्यनजर गर्दा मान्छेको दिमाग अलि विकसित हुँदै जानु स्वभाविक हो । साधारण चटकको चुरिफुरीले दर्शक कन्भिन्स मोडमा नरहेको अवस्थाले अलि उन्नत र कन्फ्युज मोड उपयोग गर्नुपर्ने भएछ । अल्पमतले भारिमतलाइ प्रभाव जमाउनुपर्ने अवस्थासँगै टुना र मोहनी मन्त्रको समेत उपयोग गर्दा चटक दिगो हुने देखियो । अदृश्य शक्ति मार्फत नयाँ र स्मार्ट जादुगर समेतको व्यवस्था भइसकेको बुझियो । भारत, अमेरिका र पश्चिमा राष्ट्रका तालिमे जादुगर च्याउ जस्तै पलाउदा भए । कहिले शिशु प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्र नामका जादु प्रदर्शन गर्न थालियो ।

मान्छेहरू नि नयाँ नयाँ भर्सनको जादुबाट प्रसन्न थिए । हेर्ने र सिक्नेको घुइँचो बढ्दै गयो । स्मार्ट जादुगरले टुनामुना र मोहनी मन्त्र समेतको प्रयोग गर्दै धेरै युवा शक्तिलाई बसिभुत पार्दै एउटै छातामुनी, एकै बन्द कोठाभित्र बन्धक बनाउन सफल भएको पनि देखियो । त्यसै बीचमा टिकट दस्तुर महङ्गो भएको, सुविधा कम, मनोरन्जन न्यून भएको, लाभ लागतको हिसाब नमिलेको कारण देखाएर एउटा समूहको विद्रोहले थप नयाँ जादुगरी दस्तावेज बनाई नयाँ स्टण्ट शुरु भएको कुरा ५२ देखिको दस बर्षे हार्डकोर दृश्यले जगजाहेर गरेको छ ।

मानिसमा आकर्षण जमाउन सर्कसको भागमा बढी स्टन्ट समावेश हुँदा खतरा मोल्नुपर्ने मोडले ठाउँ लियो । लुटको मस्ती, मनोरञ्जन, लाभ लागतको तानाबाना ठिकै थियो क्या रे, त्यस मध्य मौतका कुवाको आकर्षणले देखाउने र हेर्ने हज्जारौँको सङ्ख्यामा नराम्ररी फसेपछि यसको ढङ्ग पनि बिस्तारै भङ्ग भएको देखिन्छ । दर्शकको कमि हुँदै गएपछि पुरानो धङधङिमा दर्शक र फुटकरे जादुगरलाई मौतको कुवा प्रसङ्गले त्रस्त बनाई एकाथरिले थोक व्यापार चलाउ गर्न थाले । फलत: पुरानै भर्सनको बोतलमा नयाँ स्टिकर टाँसेर विभिन्न चरणका ठगबन्धन संयन्त्र मार्फत जादु र स्टन्ट देखाउने निरन्तरता कायम गर्दैछन् ।

परिमार्जित थोक चटकेले हरेक गल्ली, चोक र नाकाहरूमा राजनीतिक लागु औषधिका भट्टी पसल सञ्चालन गर्ने लगायत आफ्नै प्रत्यक्ष वा परोक्ष निगरानी र केही थान दरिएका सुण्डमुण्ड लठैतहरूको सहयोगमा रैती सोचिएका ग्राहक झुक्याउने, लुट्ने, उनैको परिचय बदल्ने, बेच्ने, दासको दर्जामा किनबेच गर्ने व्यापार समेत सञ्चालन गर्दा रहेछन् । निकृष्ट स्वार्थको लागि मौकामिल्दा यो ग्याङ भित्र “बा“ ले छोराछोरी, दाजु भाउजुकै गोप्य सल्लाह र पाटनरसिपमा दिदीबहिनी, दाजुभाइ, नन्द देवर, भौजु बुहारी समेतको सुलभ र द्रुततर गतिमा बेचबिखन कार्य गर्दा रहेछन् ।

अझै मान्छेमा जादु मोह कसरी छ त ? ‘हारे जाला यै ज्यान, जिते सुनौलो संसार’ भन्ने गहिरो उत्तेजक भावनाले जरा गाडेकै छ । लागू पदार्थका दुर्व्यसनी कान्लामुनि लडेको बखत पपिले मुखमा बर्साएको स्वादलाई जिब्रो चाट्दै सत्यनारायण को कथा कस्तो रे छ ? भन्ने प्रश्नको उत्तरमा ओठ चाट्दै “अमिलो अमिलो रे छ” भन्ने झोले कार्यकर्ता र हो मा हो मिलाउने रैती भएपछि जादुको पसल चल्ने नै भो नि, हैन र ? तर अझै मदारिको भालु जस्तै कठपुतली भई नाच्ने जमात देख्दा दुःख लाग्छ । कोही भने अझैँ टुना जादुको ठगाइ भन्दा जानाजान पिछ्लग्गु बन्दै पछि अरुलाइ दास बनाउन ठूलो जादुगर हुने महत्वाकाङ्क्षाले ग्रसित भई पालो कुरिरहेका देखिन्छन् ।

पञ्चतन्त्रका विद्या पढेका मूर्खहरूलेझैँ मरेको बाघ व्युताउने तरखर गर्दै रहेका केही घटनाक्रमले नयाँ जादुको प्रयोगमा थप सिँढी थप्ने काम गरेको देखिन्छ । विरोधमा सरिक हुँदानै कैयौँले हर लेच्याउँदै हिँड्नु परेको, थला परेर अस्पतालकै सैयामा बिताउनु परेको, अझै कोही मौतको कुवामा जाकिनु परेको घटना अत्यन्तै दुखद र विडम्बनापूणर् लाग्छ । दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले… ! जादु, टुना र अनावश्यक स्टन्टको पछि लाग्नु भन्दा जिजीविषाको सन्तुलनमा यिनका जादु पसल वहिष्कारमै कल्याण होला कि जस्तो लाग्छ मलाई त ।

संविधानको बर्खिलाप गर्दै जनताको सर्वोच्च निकाय बिघटन गर्ने, कानुनी राज्यको उपहास गर्ने, सिमापारिबाट आफ्नै घरतिर ढुङ्गा हानेर पारिपटी टाउको लुकाउन जाने छेपाराहरू, सौताको रीसले आफ्नै ओछ्यानमा सु गर्ने आफ्नै सहगोत्री माराहरू, आज देश जागरणका दौडाहामा लागेको कुराले अपराधिहरूको यो चटक अशक्त बूढो ढाडे बिरालोको महातपस्या जस्तो हो भन्दा अतिसयोक्ति नहोला ।

विभिन्न काण्डैकाण्डका नाइके र अपराधिलाई जेल, नेलको साटो सोझै हस्पिटल बाइपासको सुविधा उपलब्ध गराउने, मानव बेचबिखन जस्तो अपराधमा संलग्न माथिको कार्वाही समेत हेल्चेर्क्याइँ गर्नेहरू, रिमोटबाट सीमापारिका देशसँग हाइड्रो ट्रेड चलाउनेदेखि नाकाबन्दीको समय पेट्रोलखानी उत्खनन् गर्ने, भान्सामा ग्यासको पाइपलाइन पुर्‍याउन खोज्ने, उत्तर दक्षिण रेलको अवधारणाको सपना विश्वास दिलाउन सक्नेहरू, पटकपटक नयाँ नेपालको निर्माणको लागि ब्रेक थ्रु र निर्णायक चमत्कार भन्दै ठगहरूको गठजोडको समीकरण फेरबदल गर्नसक्ने छेपारे चटकेको खुबी वणर्न गरिनसक्नु छ । विदेशी मुद्रा आर्जनको लागि भन्दै सस्तोमा बिजुली बेच्दै देशमा लोडसेडिङ्गको चाँजो मिलाउने, हाइड्रोपावर भन्दा डिजेल प्लान्ट मितव्ययी भन्दै कवाडी प्लान्ट खरिद र घोटाला सम्बन्धी निर्णय सही सावित गर्न खोज्ने पनि त कम्ताका चटके होइनन् नि ।

आधारभुत उद्योगको साटो सेतो टावर ठड्याउनेहरू, राष्ट्रिय अनुसन्धान केन्द्र भन्दा सयौँ गेट निर्माणमा लगानी गर्ने, कृषि मल उद्योग भन्दा जड्याहाको समेत शालीक बनाउन प्रोत्साहन गर्ने, राष्ट्रियताको नाउँमा चुच्चे नक्साको नाटक मञ्चन गरेकाहरू आफूलाई प्रगतिवादी, क्रान्तिकारी, लोकतान्त्रिक, गणतन्त्रवादी र देशभक्त समेत भन्न रुचाउछन् । यी भन्दा चटके दुनियाँमा अरु को हुन सक्छन् ?

जे होस् हामीमा धैर्यता, सहनशीलता, अनुशासन, आस्था, विश्वास छ भनौँ र त टुलुटुलु परी त्यस्ता नौटङ्की र चटक हेरिरहन सक्ने क्षमता छ । हामी माथि भगवान पशुपति नाथको कृपा छँदैछ, अब त इशु ख्रिष्टको समेत कृपादृष्टि पर्दैछ भन्ने महसुस हुँदैछ । सबै कुरा चटकेहरूकै देन हो नि । अब स्थापित हुन खोज्ने नयाँ चटकेहरूले विश्वास र भरोसा योग्य चटक देखाउन सके पुराना भ्रष्ट चटकेहरूको अवसान होला कि ? तर मौतका कुवावाला बन्दुके र २८ ताकाका खुकुरी लप्टनहरूकै पिछलग्गु भएको अवस्थामा ‘हगाइ भन्दा कुन्नि के ठूलो’ मात्र हो, के देखाउलान् वास्तविक चटक ? भन्ने हल्लाखल्ला पनि मच्चिँदै छ ।

जे होस् नाङ्गा बाबाहरू भन्दा अर्धनङ्गाहरूको जय भन्नुपर्ने अवस्था भने कायमै छ नि अझै । संसारकै उत्कृष्ट चटके र चटके दर्शकको जय होस् भन्नूको विकल्प छैन । जय होस् !
अस्तु !

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x