सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

परिवर्तन 

“दृष्टि, दृष्टिकोण छैन, छद्मभेषी दुष्चरित्र भोक विलासको प्यासले छलकपट मन भित्र विकास र परिवर्तन भ्रमपूर्ण गुलिया नारा सत्ता स्वार्थ खेलोभित्र अवसरवादी मार्ग चित्र ।”

Nepal Telecom ad

कुमार खड्का :

“गतिशीलता र स्थिरताको मान्यतामै फरक हुन्छ
ओइलाउन खोज्नेलाई हर पलमै थरक हुन्छ
किस्मत गर्नुपर्छ, परिभाषा फेर्न जीवनको, नत्र
यथास्थिति स्विकार गर्दा समाज स्वत नरक हुन्छ ।”

आज भन्दा करिब ४२ वर्ष अघि याने २०३८ साल ताका पुल्चोक कलेज पढ्दा विश्वप्रसिद्ध लेखक म्याक्सिम गोर्कीको “आमा” पुस्तक पढेको थिएँ । धेरै प्रसँग मध्ये रुसमा अक्टोबर क्रान्ति सम्पन्न भए पश्चात् उपन्यासका मूख्य पात्र पावेलको पुरानो महिला साथीसँग भेट हुँदाको प्रसङ्ग स्मरण गर्न मन लाग्यो ।

परिवारको साथ रेल यात्रा गर्दैको अवस्था, हिउँले रेलमार्ग अवरुद्ध भएको, पावेल नेतृत्वको रेलमार्ग मर्मत सम्भार टिमले रेलमार्गको हिउँ पन्छाउँदै गर्दा पहिलेको चिनजान, सम्बन्ध स्मरण भएको, कुराकानिकै क्रममा उनको क्याविनमा बत्तीको लाइन पनि गडबड भएको कुरा भएपछि पावेलले वायरिङ चेकजाँच र मर्मत गरि बत्ति बनाइदिएकोमा रेल हिँड्ने समयमा कुराको अन्त्य गर्दै ती महिलाले मजदुरी सहित धन्यवाद दिँदै छुट्टिन खोज्दा पावेलले उल्टो धन्यवाद दिँदै पारिश्रमिक अस्विकार गर्दै फिर्ता गरेपछि ती महिलाले धन्यवाद दिँदै भनिथिन् “तिमी पहिला पनि हाम्रो सेवा, गर्थेउ, अहिले पनि गर्दै रहेछौ, ऊ बेला महान् सोभियत क्रान्तिको कुरा गर्थ्यौ, देशभक्ती, आचरण र नैतिकताको कुरा गर्थ्यौ, अब सोभियत क्रान्ति भइसक्यो, तिमीहरूको शासन आइसक्यो, तै पनि अझैसम्म तिमी हाम्रै सेवामा समर्पित हुँदै रै छौ, तिम्रो अवस्था देख्दा दया लाग्यो पावेल, तिम्रो जीवनमा खास सुधार, परिवर्तन देखिएन,किन ?”

किन ? प्रश्नको पावेलले सिधा उत्तर दिएका थिए ..
“माफ गर्नोस् महोदया ! यो तिम्रो भ्रम हो, म तिम्रो सेवामा लागिपरेको हैन ।”
“उ बेला महान् सोभियत क्रान्तिमा लागेको थिएँ, क्रान्ति सम्पन्न भयो, अहिले महान् सोभियत निर्माण र विकासको निम्ति लागि परिरहेको छु ।”

हेरौँ त ! हाम्रै सन्दर्भमा पनि जीवनभर क्रान्ति, निर्माण भन्दै राष्ट्रको लागि मरिहत्ते गर्ने पावेलहरू अझै केही ज्युदै छन्, कोही काला पहाड र जङ्गल या खाडीको चर्को धुपमा रगत, पसिनाको प्रवाह नगरी कष्टप्रद रूपमा भौतारिरहेका छन् । ०४६ साल आन्दोलनका विद्रोहीहरू लगायत ५२ देखि ५८ साल सम्मका वास्तविक नायकहरू..!

मरेर शहीद हुनेहरू त ज्ञात अज्ञातको भीडमा एकमुष्ट सम्बोधन हुने गर्छन्, घाइते अपाङ्गहरू हर लेच्याउँदै, बैसाखी टेक्दै हिँड्दैछन्, कोही ह्विल चियरमा होस हराएर सन्निपातको व्यथाले बर्बराउँदैछन्, विचराहरू..! सम्झँदा कति विरक्त लाग्छ, कति विरह जाग्छ । उनीहरूको परिवारलाई तोकिएको राज्य सुविधा, प्रायः अवसरवादी निकृष्टहरूले नै स्वार्थको घोडा बनाइरहेको अवस्थामा कुन चेतनशील नागरिकको छाती दुख्दैन र ? यता लहडको भरमा अमूक तरिकाको सहिदनै सहिदको ढेर लगाउनु शहीदकै अपमान जस्तो लाग्ने ! राज्यशक्तिको आडमा चरित्रहीन मान्छेको शालिक..! हैट !! विडम्बनापूर्ण अवस्था !
गोलीको प्रभावले कोमामा गएकाहरू अझै बेवारिसे अवस्थामा अस्पतालको बेडमा छट्पटाउनेहरूको लेखाजोखा गर्ने हो भने त एक पित्को बचेको मन पनि खरानी हुन बेर लाग्दैन ।
र, त, कवि भूपि सेरचनको कविता पनि पुनः स्मरण गर्लान्, थाहा भएका र अध्ययन गरेकाहरूले जस्तो लाग्ने..
“ए ! मरेर शहीद हुनेहरू हो,
बाँचेर त हेर !
बाँच्न झन् कति मुस्किल छ ?”

एकजना सिनियर सरले ०५९/०६० ताका सिन्धुपाल्चोकतिर जागिर खाँदाको क्रममा भन्नू भएको र मैले जवाफ दिएको कुरा सम्झन्छु..
‘यी लडाकुहरूले शान्ति वार्तापछि राम्रै स्थान पाउँछन् होला हैन कुमारजी ? वार्ता सम्पन्न भएपछि कम्तिमा सेना, प्रहरीमा योग्यता क्रमानुसार जागिर पाउलान्, राम्रै हुन्छ होला हैन ? भन्दा मैले उसैबेला मनमा लागेको कुरा भनेको थिएँ..’

“खै सर ! अलि टाठाबाठाहरूले त केही न केही अवशेष, जुठोपुरो सम्म भेट्लान्, स्थिति यस्तै हो, मान्छे यिनै हुन्, संस्कार यस्तै हो, के परिवर्तन होला र आशा गर्नु ? मुट्ठी भरका बाहेक प्रायः निमुखा लडाकु कार्यकर्ताहरू भरे दरवन्दी कटौतीमा पर्लान् जस्तो लाग्छ मलाइ त..।”
तर्क राख्दा उहाँले किन र ? भन्दै कौतुहलता व्यक्त गर्नुभएको थियो, मैले उहाँको प्रश्नलाई कवितात्मक जवाफ दिएको याद आउँछ..

“प्रभु इच्छा जागेपछि विशेष अवतार हुन्छ
जस्ले दिन्छ मार्गचित्र उसकै हतियार हुन्छ
रणनीतिक कार्यनीति, उस्तै हुन्छ सार आखिर
धेरै आशा के गर्नु खै ? जहाँ “ऊ“ नै मतियार हुन्छ ।”
“ऊ” के हो ?
मैले भनेँ,
“जागिरले मात्र हुँदैन सर राजनीति गर्नुहोला… ऊ अमुक व्यक्ति हो, नेतृत्व हो ।”
सबैजना साथीहरू पनि फेरि हाँसे ।
मैले भनेँ, ‘२०३६ साल देखिको राजनीति नजिकबाट हेरेको छु, करिब ५५/५६ सम्म गरमागरम राजनीतिमा सक्रिय रहेको नाताले बुझेसम्म गरिएको तार्किक अन्दाज हो सर !

उहाँ लगायत उपस्थित साथीहरू फेरि मज्जाले हाँस्नु भयो, स्थिति त्यस्तै पो भयो… । पछि हाम्रो पटकपटक भेट हुँदा त्यै कुरा गरेर हाँसिन्थ्यो । उहाँको थेगो पनि मिल्ने, खुब घत परेछ, पटकपटक “ऊ के भन्छ कुमारजी ?” भन्नुहुन्थ्यो, अनि मजाले हाँसिन्थ्यो । अहिले निकै भो भेट नभाको पनि ।

एकाथरी हरुवाचरुवाहरू खुबै खोक्दै भन्छन्, पहिला के थियो र ? अहिले हेरौँ त ? बाटो, स्कुल, कलेज, हात हातमा फोन, आलिशान घरहरू, मान्छेको लवाइ खुवाइ.. आदि इत्यादि.. !
एकातर्फ हो भन्ने लाग्छ, तर अहिलेको अस्थिर राज्यको अवस्था, उद्योग, कलकारखानाको सत्यानाश, बेरोजगारीको कहालिलाग्दो अवस्थाले युवा शक्ति विदेशिँदो भयावह दृश्य, धर्म, संस्कार, संस्कृति, शिक्षा, मौलिक प्रवृत्ति र नैतिकतामा आएको ह्रास, वैदेशिक ऋणको अत्यधिक भारलाई मूल्याङ्कन गर्ने हो भने यो उथलपुथललाई केही अंशमा परिवर्तन भन्न त सकिएला तर अपनत्व लिएर गर्व गर्न सकिने अवस्था भने छैन जस्तो लाग्छ ।

मेरो एकजना राई थरको मित्र हुनुहुन्थ्यो, पूल्चोक क्याम्पस पढ्दाताका देखिकै घनिष्ट । ऐन मौका मिलाएर सँगै बसिन्थ्यो, खाइन्थ्यो, क्रान्तिका गुलिया कुरा गरिन्थ्यो, गिटार, मादल बजाएर प्रगतिशील गीत पनि गाइन्थ्यो… । एकदिन नियालेर अनुहार हेरेको त चिउँडो नेर ३/४ वटा रौँ टाँसिए जस्तो लाग्यो, तानेर फालिदिने मनसायले के हात लगाएको थिएँ, उहांँले समाउदै रोक्नु भो र भन्नू भो-
“हैट कुमारजी !”
मैले भनेँ,
“किन र ? टाँसिएको रौँ भएकोले नसुहाउँदो भएर हो नि त !”
उहांँले भन्नू भो,
“जम्मा दाह्रीको नाउँमा ५ ओटा रौँ, एउटा अस्ति नुहाउँदा झर्‍यो, हिजो एउटा एकजना साथीले तान्दी हाल्नु भो, फेरि तपाईंले हात लगिसक्नु भो, मलाइ टेन्सन भएन त ?”
मैले भनेँ “सो सरि है राईजी !”
पछि पटकपटक हाँसियो ।
अहिले त्यो सम्झना खुब आउँछ । नेपालको विकासको परिभाषा, व्याख्या र कुरा गर्ने मशिहाहरूसँग । त्यो दाह्री उमेरको अपरिहार्यता थियो, तर हेर्नो त ? उराठलाग्दा ५ वटा जम्माजम्मी । भएन त अब ?

विकास पनि अपरिहार्य थियो, भएको छ, तर निरपेक्ष रूपमा सोच्दा । अहिलेको विश्व परिवेशमा सापेक्ष ढङ्गले हेर्ने हो भने हाम्रा छिमेकी मित्रहरू लगायत हामी सँगै पाइला चालेका मित्र देशहरूको हालको अवस्थासँग दाँजेर हेर्दा मननै भरङ्ग हुन्छ । त्यसैले हाम्रो विकास समयको नियमित क्रम सँगैको अत्यन्त न्यून र उदेक लाग्दो अवस्थामा भएकोले मेरो राई मित्रको रौँको उमारसँग दाँज्न मन लागेको हो अहिले मलाई । अलि बढी भनेको भए क्षमा माग्छु परिवर्तनका वाहकहरू सँग ! रगत नबगाए पनि परिवर्तनको लागि बेलाबेलामा निथ्रुक्क शरीर भिज्नेगरी पसिना निकालेको नाताले भन्ने सम्म अधिकार राख्छु कि ? भन्ने सोचेरमात्र हो है मित्रहरू… !

२०५८/२०६० पछि त परिवर्तन र नयाँ नेपालको नारा खुब चर्चित भयो । मेरो ३ वर्षे कान्छो छोरालाई पनि खुबै मनमा गढेछ । एकदिन मलाई औँला समातेर तान्दै झ्यालको ऐनामा छायाँ देखाउँदै भन्यो, दादा ! “उ हेल्नु नयाँ नेपाल..”
म छक्क परेँ । हुन त बाल सुलभ मस्तिष्कले सुनिरहेको कुरालाई रमाइलो पाराले भनेको मात्र हो, तर मैले भने प्रतिकात्मक हिसाबमा सोचेँ, वास्तवमै नयाँ नेपाल मैलिएको ऐनाभित्रको प्रतिछायाँ, अझै भुकम्पले बनाएको खण्डहरको प्रतिछायाँ जस्तै लाग्छ अहिले, सानो परिदृश्य भित्रको धुमिल चित्र… !
र परिवर्तनका वाहकलाई भन्न मन लाग्छ..
“दृष्टि, दृष्टिकोण छैन, छद्मभेषी दुष्चरित्र
भोक विलासको प्यासले छलकपट मन भित्र
विकास र परिवर्तन भ्रमपूर्ण गुलिया नारा
सत्ता स्वार्थ खेलोभित्र अवसरवादी मार्ग चित्र ।”

सोचौँ ! कसरी हेर्ने परिवर्तनलाई ? कसरी हुन्छ सकारात्मक परिवर्तन … ??
अस्तु..!!!

०००
कागेश्वरी मनोहरा न. पा. वार्ड नं. २
आलापोट ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का
कलिको अन्त्य

कलिको अन्त्य

कुमार खड्का
नुनको कुरा

नुनको कुरा

कुमार खड्का
प्रतिस्पर्धा

प्रतिस्पर्धा

कुमार खड्का
मनगढन्त

मनगढन्त

कुमार खड्का
‘राजा’ हुने कुरा

‘राजा’ हुने कुरा

कुमार खड्का
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा