साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलिको अन्त्य

दुशासन, शकुनिका कुकर्महरू लाग्नुसम्म टिठ लाग्छन् । झन् अहिले बैंक, वित्तिय संस्था, सहकारी ठगी प्रकरण, राष्ट्रको ढुकुटीनै मुसाको जिम्मा लगाएको कुरा गर्ने हो भने अगुवानै बाटो हगुवा.. । के गर्नु ?

Nepal Telecom ad

कुमार खड्का :

कलि युगमा…
“बत्ती बल्छन् उल्टो फर्कि बालुवाको घर बन्लान्
स्याल कराउने चौर निरै चिहानमा जग खन्लान्
घरै पिच्छे पसल होलान्, आलि पिच्छे बाटो खुल्दा
मान्छे पिच्छे नाफाखोरी आफ्नै बीचमा व्यापार चल्लान्… !”

विद्वान पण्डित धारावाहिक प्रवचनमा व्यस्त थिए । उनका अनुसार सत्य, त्रेता, द्वापर, कलि गरि जम्मा चार युग मध्ये अहिले हामी कलियुगको अन्तिम भोगमा रहेको अवस्था हो । कलिका जीवहरू, विशेषतः मान्छेमा लोभ, पाप, उपभोगको हानथापले हत्या, बलात्कार, हिंसा जस्ता अपराध लगायत आपसी घात, प्रतिघात, अविश्वासको शृङ्खला बढ्दै जाने छ । असत्यलाई सत्य प्रमाणित गर्नेको भीडले ‘सत्य’लाई बच्न धौ धौ पर्नेछ, भन्ने निष्कर्ष थियो । उनका धेरै कुराहरूले मेरो बालसुलभ दिमाग चकरायो पनि । कुरो २०३१/३२ सालतिर, म ४/५ कक्षा पढ्ने ताकाको हो । मेरो छिमेकी गाउँमा श्रीमद् भागवत पुराणको निम्ता मान्न शनिबार बिदाको दिन बुवासँगै पछि लागेर जाने मौका मिल्दा सुन्न पाएका कथा वाणी अत्यन्तै रोचक र विचार उत्तेजक लागेकोले उल्लेख गर्न खोजेको हुँ । सङ्क्षेपमा कलि युगका विशेषताहरू यी थिए-

१. बालुवाको घर बन्ने, २. बत्ती उल्टो फर्केर बल्ने, ३. घरैपिच्छे पसल हुने, ४. आलीपिच्छे बाटो हुने, ५. मान्छेपिच्छे व्यापारी, ठेकदार हुने र यावत मानिसहरू पापको बोझ बोक्नमै रमाउने, आदि, इत्यादि ।

घर फर्केपछि मैले तत्सम्बन्धी सवाल बुवासँग सोधखोज गर्दा सङ्क्षिप्तमा धेरै कुराहरू बोध गराउनु भए तापनि कतिपय कुरा भने अल्लारे दिमागमा राम्रोसँग घुस्न सकेका थिएनन् । कलेज पढ्ने भएपछि धेरै कुरो बुझियो, तर त्यति घत पर्ने बेला भइसकेको अवस्था अझै थिएन । अहिले ती तर्कहरूलाई फर्केर हेर्दा गजब लाग्छ ।

सिभिल इन्जिनियरिङ अन्तर्गत कलेजमा ढुङ्गा, गिट्टी, बालुवा, सिमेण्ट सम्बन्धी अध्ययनले निर्माण संरचनामा बालुवाको बहुआयामिक प्रयोगको सन्दर्भले बालुवाको घर कसरी बन्छ र कसरी भत्कन्छ ? भन्ने कुरा त प्रष्टनै बुझियो । तर किर्ते, जालसाजी, झुट, लालची र निकृष्ट प्रवृत्तिले तयार गरेका बालुवाका घर कस्ता हुने रहेछन् ? कसरी पापको घर बनाउने उद्योग चलाएर जमानालाई धोका दिँदा रहेछन् ? कसरी खराब विचारका मान्छेहरूले सिधा, सादा र निम्छरालाई बल्छीमा माछा पारेझैँ झुक्याएर, फकाएर उनैको सर्वश्व लुट्दा रहेछन् ? लोभ, पाप र स्वार्थले प्रेरित भएपछि कसरी आफ्नाले आफ्नैलाइ माखे जालमा फसाउँदा रहेछन् ? र पापका घर कसरी चर्किन र भत्कन थाल्नेछन् ? भन्ने कुरा बिस्तारै सामाजिक इन्जिनियरिङको अनुभव, चिन्तन, मनन र भावनात्मक उत्खननको क्रमले सिकाउँदै गयो ।

किङ्ग मिडासको गोल्डेन टच कथा प्रसङ्गमा मान्छेमा हुने सुनप्रतिको आकर्षण र त्यसको दुरगामी प्रभावको कारण पुनः देवदूतको तपस्याबाटनै वरदान फिर्ता लिएको किंवदन्ती सम्बन्धमा सारा समाज जानिफकार भए पनि त्यस कथाको शिक्षा, उपमा आफू बाहेक अरुको लागि मात्र उपयोगी हुने सोच र प्रवृत्ति मात्र भएको छ । “डिङो नपरी नचेत्ने…” तितो अनुभव अझै बेवारिसे अवस्थामा देखिन्छन् ।

लियो टोल्स्टोयको विश्वप्रसिद्ध कथा “हाउ मच ल्यान्ड डज अ म्यान नीड ?” को निष्कर्षले देखाएझैँ जति लोभ गरे पनि अन्तिममा उसलाई चाहिने जमिन भनेको आफूलाई गाड्न पुग्ने चिहान त हो भनि बुझ्दै लोभको सिमाङ्कन गर्न नसकिदा स्वयंको अस्तित्व समाप्त हुँदोरहेछ भन्ने कुरा कथाले प्रष्ट्याएको छैन र ?

विनाश काले, विपरित बुद्धिको कारण शिकारीनै सिकार भएका कैयौँ घटनाले पनि मान्छे सचेत नहुनु भनेको कलि युगले दिएको स्रापको कारण “लोभले लाभ, लाभले विलाप”को वास्तविकता चरितार्थ भएको बुझ्नुभन्दा अरु उपाय नभए जस्तो लाग्छ ।

आफैँ र आफ्नै बीचमा हुने घरघडेरी, जग्गा जमिनको खरिदविक्री, कामको तारतम्य मिलाई, रोजगारी प्रवर्द्धनको नाउँमा भएका दलालीका नमिठो प्रसङ्ग भोग्नेलाई मात्र कहालि लागेको अनुभूति हुन्छ । कुरा गरौँ, आफ्नै मगन्ति, नगरौँ ज्वरो हन्हन्ती…। दलाली प्रवृत्तिको निकृष्टताले सामान्य मान्छेलाई पनि उदेक लाग्छ । मान्छे मान्छे बीचका स्तरहीन हर्कतले जो कोहीको नौ नाडी गल्नसक्छ, ब्लड प्रेसरका रोगीहरू त ठाउँको ठाउँनै ढल्न सक्छ..! समाजमा हिजोआज लोभ र निकृष्टताका सिमान्त घटनाहरू यत्रतत्र दन्त्य कथामा जस्तै चौतर्फी सग्बगाइ रहेका देखिन्छन् ।

विगतकालमा गाेल्ड क्वेस्ट अन्तर्गत पिरामड शैलीको  चिठ्ठा (lottery) ठगी धन्दा पनि समाजका जिम्मेवार तहका डाम्नाहरूलेनै संस्थागत रुपमा चलाएर व्यक्तिगत लाभका डकारले नितान्त नजिकका आफन्तहरू बेहोस बनाएका घटना कम्ता घिन लाग्दा छन् र ? वैदेशिक रोजगार होस् या अध्ययन चाँजोपाँजो मिलाइदिने लोभमा व्यक्तिगत होस् या संस्थागत रुपमा, सत्ता र शक्तिको आडमा समेत यहीँ समाजका निम्छराहरूलाई फसाएर मर्नु न बाँच्नुको दोधार पार्ने “दुशासन, शकुनिका कुकर्महरू” लाग्नुसम्म टिठ लाग्छन् । झन् अहिले बैंक, वित्तिय संस्था, सहकारी ठगी प्रकरण, राष्ट्रको ढुकुटीनै मुसाको जिम्मा लगाएको कुरा गर्ने हो भने अगुवानै बाटो हगुवा.. । के गर्नु ? रिस रह्यो आफ्नो हातमा, भउजू दाइको हातमा..! दाह्रा किट्यो, बस्यो ।

यहाँ राज्य, सरकार, स्थायी सरकार भनिने कर्मचारीतन्त्रले समेत आमरूपमा जनताको कर दुरुपयोग गरी लुटतन्त्र चलाएका, हितकारी राज्ययन्त्रको बर्खिलापमा काम गरेका, तस्करी, मानव तस्करी, भन्सार ठगी, राजश्व अपचलन, सार्वजनिक, पर्ती र गुठी जग्गा हड्प्ने जस्ता घोर अपराधिक प्रवृत्तिका विरुद्ध समेत उचित कदम चाल्न छलछाम र मुख लुकाउने जस्ता रहस्यमय प्रवृत्तिले क्रमशः कुशासनको पारो चढ्दै गएको वर्तमान अवस्था अत्यन्तै उराठ र निराशाजनक भएकोले भन्न मन लाग्छ…

“चमेराझैँ दीप जल्दा, बालुवा निर्मित महल छन्
चिहानमा सुन्दर उद्यान् विलासी चहलपहल छन्
मलिलो धर्ती चक्लाबन्दिमा निवास, मार्ग चारैतिर
बिना लाभ सिन्को नभाच्ने मान्छेका स्वार्थ र छ्ल छन् ..!”

मनोगत रुपका, आफैँ र आफ्नैहरू बीचका लोभ, पापका सम्बन्ध, राज्य, सरकारमा प्रतिनिधित्व गर्नेहरूकै धोका र बेइमानीका पुलिन्दा, समग्रमा अध्ययन गर्ने हो भने बालुवाको घर देखि पाप कर्मका सारा लगतहरूको इतिश्री, प्रष्ट हुँदैनन् त ? आफैँ बीचको अस्वस्थ प्रतिस्पर्धा, खुट्टा तानातान, हानाहानका घटना, हरेक तह र तप्कामा फस्टाउँदै गएको अपराधिक वृत्ति मात्र नभै जन्मजातका बाल्मीकि पनि रत्नाकर डाँकु बन्न थालेको स्थितिले झन् भयावह स्थिति सिर्जना भएको महसुस हुन्छ । प्रायसः कोही, कसै प्रति विश्वासको वातावरण नहुने अवस्था आउनु विद्वानले भनेझैँ कलिको प्रभाव नै हो त ?

धार्मिक, सांस्कृतिक, नैतिक धरातलमा आएको विचलनले सुन, नगद जस्ता पापका भारी बोक्न लालयित भएका भीडभाडको सामाजिक विसङ्गति एकातिर छ । दरिद्र वृत्तिले जुनसुकै आश्वासन र कुतार्किक हिसाबलाई तथ्य र सत्यको कसिमा दाँजेर हेर्न नसक्ने कमजोर र दिवा स्वप्न देख्ने पक्ष अर्कोतर्फ छ । त्यसलाई मलजल गर्दै हुर्काउने सिङ्गो समाज, राजनीति, प्रशासन, सुरक्षा र फितलो कानुनी व्यवस्था छ । त्यसकै नकारात्मक संयोजन र वातावरणमा खिचातानी र लुटखसोटका धन्दा सञ्चालन भैरहेको वास्तविकता छ । आफन्त, परिवार, मित्रजन, गुरुवर्ग समेत कसैलाई बाँकि नराख्ने गरी धर्म, संस्कार, संस्कृति, नैतिकताको किनबेच र दलाली भैरहेको टड्कारो स्थितिले हाम्रा पुर्वजहरू कति ज्ञानी र भविष्यद्रष्टा थिए होलान् ? भन्ने कुरामा कौतुहलता जाग्नु स्वभाविक लाग्छ ।

गलत काम कार्वाहीको तथ्य र तर्कपूर्ण मूल्याङ्कन गर्न सक्ने आधारभूत समुदाय नभएपछि बेइमानीहरूको उद्योग फस्टाउने र कलि झाङ्गिनु स्वभाविक भयो । तसर्थ कलिको सीमा कायम गर्ने कर्तव्य हाम्रै विवेक र बर्कतकै कुरा हुँदा सम्बन्धितहरू संवेदनशील र सचेत हुँदै घातीलाई साथ हैन लात हान्नुपर्ने आजको आवश्यकता… चरितार्थ पार्नुपर्ने हुन्छ ।

प्रत्येक नागरिक स्वयं सचेत नहुने हो भने हाम्रो सभ्यता, संस्कार, संस्कृति र अस्तित्व कहाँ पुगेर टुङ्गिने हो, चिन्ताको विषय भएको छ । समाधानको खातिर आवस्यक चिन्तन मनन तथा जनता र पर्यावरण मैत्री भविष्य निर्माणको लागि सहि मार्ग पहिल्याउनु पर्ने अवस्था टड्कारो रूपमा महसुस हुन्छ । त्यसैले भन्न मन लाग्छ…

“युगलाई दोष थुपार्दै, पाइँदैन अब उम्कन
आफैँ ठिक अरु गल्तिमा, पर्दैन कैले गम्कन
व्यक्ति फिटले अग्लिनुभन्दा इन्चिले समाज उठेमा
धुमिल सभ्यता चिराग जस्तै बाटो खुल्दछ चम्कन ।”
अस्तु…!!!

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x