साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनगढन्त

“बाँसुरीमा मोजार्टका शङ्गीतमय धुन बजून् आफ्नै शहर आगोलाग्दा घन्काउने मूर्ख नहुन् केवल साँध किल्ला हैन राष्ट्र सङ्कट परेपछि दुत्कार्न सक्नुपर्छ अब राजा नीरो किन नहुन् ?”

Nepal Telecom ad

कुमार खड्का :

तर मनमा अझैँ जोश छ, राष्ट्रप्रति अगाध माया छ, त्यसैले भन्न मन लाग्छ..
“बाँसुरिमा मोजार्टका शङ्गीतमय धुन बजून्
आफ्नै शहर आगो लाग्दा घन्काउने मूर्ख नहुन्
केवल साँध किल्ला हैन राष्ट्र सङ्कट परे पछि
दुत्कार्न सक्नुपर्छ अब राजा नीरो किन नहुन् ?”

हिजो आज बडो अनौठा प्रश्नहरूले मेरो मनलाई हुडेलिरहन्छन् र आफैँसँग उत्तर पनि खोजिरहेको हुन्छु । जमाना भन्दा अलि अघि जन्मिए कि अलि पछि ? यहि कुराले कहिलेकाहीँ दिमाग कन्फ्युजमै हुन्छ । जमाना अनुसार चल्न सकिएन या परिवर्तनलाई समाउन सकिएन, केही त पक्कै होला, आफ्नो सोच, समझ अनुसारको स्थिति प्रायः मेल भएको जस्तो लाग्दैन । आफ्नो हेराइनै त्यस्तो हो या कमजोर दृष्टि ? निर्क्योल्न गाह्रै छ ।

हुन पनि आफ्नो शरिरको आकार, आफ्नो बुद्धि, क्षमता, स्वभाव, त्यसका अवयव तथा तिनका गतिशील प्रभाव र असर बारे त आँकलन गर्न सकिदो रैन छ, सबै ठिकठाक छ, सन्तुलित र चुस्त दुरुस्त छ झैँ लाग्नेरहेछ भने यो विशाल संसारको परिवर्तन लगायतका अदृश्य र सुक्ष्मतम् देखि स्थुल स्वरूपको रूप, गुण, सार कसरी मूल्याङ्कन र निर्क्योल गर्न सक्नु, हैन त ?

एकदमै वस्तुवादी भएर तार्किक हिसाबले दाँजेरै या हिसाब गरेरै हेर्‍यो भने हो, नत्र मुश्किलनै हुन्छ । जस्तोसुकै मै हुँ, भन्ने डिट्ठालाई पनि आफ्नै वास्तविक औकात पत्ता लगाउन अझ असम्भवनै हुन्छ जस्तो लाग्छ । सानै उमेर याने हाइस्कुले जीवनदेखिनै कडा कसरत गर्ने हुँदा आफुलाई निकै चुस्त, दुरुस्त शरीर भएको, फिट छु, जस्तो लाग्ने । बाहिर फेरो निस्कँदा बुवा, काका, दाइ, भाइ या आफन्तहरूले यसो हेर्दै भन्नु हुन्थ्यो, पेट अलि बढेछ है बाबू, घटाउनु पर्‍यो, बिहान हिँड्नु पर्‍यो, छिटै उठ्नुपर्‍यो, यो खाँदा राम्रो, त्यो नराम्रो.. डाइटिङ.. आदि इत्यादि, मफतिका सल्लाह पनि पाउथेँ, तर म फिस्स हाँस्दै हवस् भन्थे, उडाइदिन्थेँ, आफ्नो पारा छोड्न मान्दैनथेँ किनकी मलाई राम्रै थाहा थियो कि म एकदमै फिट छु, आफूलाई राम्ररी बुझेको छु । साँच्चै भन्ने हो भने आफूलाई हिन्दी चलचित्रको सलमान खान जस्तै छु भन्ने घमण्ड समेत हुन्थ्यो बेलाबेलामा । नजिकका साथीभाइहरूले ज्यान त अलि मोटो देखियो है, उचाइको अनुपातमा मोटोपना बढी नै देखिन्छ है, भन्दा म जवाफ दिन्थेँ, ‘उमेरले नि होला, एक्सर्साइजको निरन्तरता कायमै छ, भर्टिकल नभएर पनि होला, होरिजेन्टल अलि बढी देखिएजस्तो, ठिकै छ, हवस् त..! भन्दै हाँस्दै हिड्थेँ, साथीहरू झन् हाँस्दथे ।

बुवा, आमा बैकुण्ठ धामको यात्रामा सवारी भइसकेपछि म स्वत घरको ठुलोबडो वरिष्ठ मान्छे क्या ? बडो रुखो र जल्दोबल्दो स्वभाव, प्रायः कसैले आदेशात्मक हिसाबले भन्ने, हैकम चलाउन, नसक्ने, म महसुस नगर्ने, अनि सुधारिने वा सुधार हुने कुरै भएन नि ।

बालेन आएपछि काठमाडौं शहर सरसफाई, मर्मत सम्भार र हरियालीले सुन्दरताको परिचय दिने क्रममा छ भन्ने समाचार सुनिएको अलि लामै समय पश्चात् म पनि बालेन शहर परिक्रमा गर्ने क्रममा न्युरोड गेट हुँदै फुटपाथको बाटो लागे । पसलका ऐनामा आफ्नो आकृति हेर्दै, दायाँबायाँ गर्दै गर्दा आफ्नो आकृति आफूले सोचे जस्तै नलागे पछि अलमल्ल परेँ, बल्ल अलि थाहा भयो असली शरीरको अवस्था ।

यसो बाहिर फुटपाथमा हेर्छु, अघि पछि हिडेका कैयौँ पाका मोटा र भद्दा लाग्ने बटुवाहरूको छाया ऐनामा हेर्दा आफूभन्दा पातलै देख्छु, फिट देखिएका केटाहरू त ऐनामा दुब्ला, लठ्ठी जस्ता पो देख्छु त बाबै.. ! आफुलाई ऐनामा पटक पटक नियालेँ, मनमनै छक्क परेँ, निकै मोटोपना भइसकेछ, त्यो ऐनाभित्रको म, म आफैँ हैन झैँ लाग्ने । ऐनाभित्रको comparative scenario / virtul reality नै real हो र वास्तविक म, स्वयं भने virtual लाग्ने दृष्टि भ्रम हुन्छ, छिनभरमै ।

एक्छिन सोचेँ, वास्तविकता त्यही थियो, तार्किक रूपले comparison हुन सक्यो भने आफ्नो या अरु कसैको पनि वास्तविक परिदृश्य थाहा हुने रै छ नि त । म छ्याङ्गै भएँ, झल्याँस्स व्युते जस्तै भएँ । दिमागले आफ्नै बारे पालेको भ्रम मुक्त हुँदै एउटा ‘क्रान्तिकारी’ मानसिकता बनाउँदै अब जसरी पनि चुस्त शरीर बनाउन प्रण गरेँ, मनमनै ।

ल हेर्नोस् त ? आफ्नो आकृति दिमागमा सेट गर्न, मोटोपना पत्ता लगाउन त मलाई ठुलै अनुसन्धान, व्यवहारिक प्रयोग जस्तो गर्नुपर्‍यो । त्यो विचार पनि अरुले भनेर या छायाँको आफ्नो कुरुपता देखेर मात्र जागेको हो र ? जब शरीर अलि असजिलो भएको महसुस हुँदा डाक्टर कहाँ गइयो, सल्लाह बमोजिमको चेकजाँच रिपोर्ट, स्वास्थ्यको अवस्था र तत् पश्चातको सल्लाह मुताविक औषधि सेवन समेत गर्नुपर्ने अवस्था आइपरेपछि बल्ल अनुसन्धानको निष्कर्षमा पुगियो ।

ढिलै भएपनि महशुस भएकोमा म आफैँ मनमनै के के न गरे झैँ गर्वित र हर्षित भएको छु । हेर्नोस् त, कति सानो कुरामै खुशी हुने मान्छे हुँ म..?

शरीरमा रोग सुरुवात भएकोमा दुःखी हुनु भन्दा आफैँ convinced हुन पाउँदाको सन्तुष्टिले गदगद छु । कुनै जमानामा कम्युनिस्ट बन्ने धुनमा चिनियाँ साहित्यकारका कथा, कृतिहरू पनि पढिन्थ्यो, त्यसै क्रममा विख्यात साहित्यकार लु सुन को कालजयी कृति “आह क्यु को साँचो कथा” को मुख्य पात्र “आह क्यु” म आफू नै हुँ कि जस्तो लाग्ने क्या ?

फाँसी को सजाय पाएर इच्छापत्रमा हस्ताक्षर गर्दा समेत बाटुलो हस्ताक्षर हुनुपर्नेमा बिग्रेर बाटुलो नहुँदा के भो त ? अण्डा जस्तो भइहाल्यो भनेर मख्ख पर्ने । फाँसी भन्दा हस्ताक्षर बारे चिन्तन.. । हैट ! अन्तैको कुरोमा पुगियो त … कुम्लो बोकि ठिमीतिर … ।

तर हाम्रा नेताहरू याने परिवर्तनका वाहकहरूमा त म जतिको महसुस गर्ने, अनुसन्धान गर्ने, sense पनि रहेन छ जस्तो लाग्यो है । नत्र George orwell को animal farm को सुङ्गुर जस्तै बोसो लागेर मोटाएको शरिरको अवस्था एकिन गर्न वा आफ्नो मोटोपना अझै पत्ता लगाउन सकेका छैनन् त । ऐना त हेर्छन् होला, तर एक्ला एक्लै होला है..?

दाँजिन म जस्तो फुटपाथे ऐनामा हेरेर हिँड्नुपर्छ नि, अनि पो हुन्छ । उनीहरू फुटपाथमा हिँड्ने कुरै भएन, खाली उड्ने र गुड्ने मात्र । कि ? हेरेर पनि reality र virtual reality छुट्याउन नसकेका हुन् ? या बुझ पचाउने लत लागेको हो ? कि मलाई जति सल्लाह दिने आफन्त र हितैषी पनि नभएर पो हो कि ? वा वास्तविक र तितो सल्लाह दिनेहरूलाई आफ्नै कुकर्मले पोलेर खाएका हुन् ? अचम्म लाग्छ । मान्छेहरूमा त sense हुनुपर्ने हो, नेता भएपछि मानिसका गुणहरू सबै बिर्सँदै प्रभुका रिमोट हुन थाल्ने पो रहेछन् कि क्या हो ?

हुन पनि हो, वरिपरि yes man हरूको भीड छ, हो मा हो मिलाउछन्, जिन्दावाद र मुर्दावादमा कुर्लन्छन्, दलाली र तावेदारी, चाकरी र चाप्लुसिका भाषा, कर्म, कृयाकलापले गर्दा नेताहरूले आफैंलाई सर्वेसर्वा र धरतिका शासक सोचिसकेका हुन्छन् क्या रे, प्रभु त भगवान हो नि , मान्छे हैन, मान्छे हुदा पो विवेक हुनुपर्छ, भगवानको त विवेक नभए पनि हुन्छ क्यारे ? निरन्तर प्राप्त हुने पुजा, स्तुति र भजनको जय जयकारले कान बहिरा, दृष्टिहिन र विवेक शून्य मस्तिष्क मात्र शेष हुन्छ कि जस्तो लाग्छ मलाइ त ।

एक्लो बालेन भन्ने मान्छे मेयर भएर आएपछिको उनका निणर्य क्षमता, तरिका, कार्यकुशलता, करिब पौने दुई वर्षको अवधिमा महानगरले मारेको छलाङ हेर्दा यिनीहरूलाई अचम्म लाग्नुपर्ने हैन ? यिनका विवेकको घैँटोमा आगो लाग्नुपर्ने हैन र ? सिकेर अनुशरण गर्नु त परै जावस्, लाजले होला सायद, प्रायः नेताहरू, उनका हुक्के, चम्चे, बैठकेहरू सहयोग भन्दा असहयोग गर्ने, जसरी भए पनि बाधा, व्यवधान सृजना गर्दै असफल बनाउन सकिन्छ भन्ने ध्याउन्नमा पो लागेका देखिन्छन्, गाँठे..!

मानौँ, उसको असफलतामा मात्र आफ्नो जीवन, र सफलतामा सर्वनाश देख्दैछन् । यिनको बुद्धि त्यस्तो हो कि ? आफ्नो दृष्टिकोण, चिन्तन, हेराइ नमिलेको हो ? आफैँलाई सोध्न मन लाग्छ फेरि.. के म गलत समयमै जन्मिएको मनुवा हुँ त ?

तर मनमा अझै जोश छ, राष्ट्रप्रति अगाध माया छ, त्यसैले एकपटक अझै भन्न मन लाग्छ..
“बाँसुरिमा मोजार्टका शङ्गीतमय धुन बजून्
आफ्नै शहर आगोलाग्दा घन्काउने मूर्ख नहुन्
केवल साँध किल्ला हैन राष्ट्र सङ्कट परेपछि
दुत्कार्न सक्नुपर्छ अब राजा नीरो किन नहुन् ?”
अस्तु..

०००
सुन्दरीजल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x