खलपात्र
सताई राख्छ सैतान बौलाएर घरीघरी निकाल्न पनि गाह्रो छ शल्यक्रिया कुनै गरी रिसानी माफ होस् यत्ति मात्र गर्दछु सोधनी मभित्र मात्र त्यो हो कि छ त्यो हजुरमा पनि ?
रुद्र ज्ञवाली :
हेर्दा म एउटा मान्छे मभित्रै द्वैध पात्र छन्
मिलेर यी दवै पात्र जिन्दगी यो खरात्दछन्
हेर्दा छ एउटै चित्र भिन्नता छ चरित्रमा
यसै चरित्रले गर्दा फस्छ जीवन द्वन्द्वमा ।
गर्नु हुन्न नराम्रो क्यै भन्छ सज्जन पात्रले
खुराफात गरौँ भन्छ भित्री अर्को कुपात्रले
सकारात्मकले भन्छ नाम राखौं समाजमा
नकारात्मकले भन्छ राखेको के छ नाममा ?
हुँदा म काममा व्यस्त मौन रहन्छ त्यो हठी
नहुँदा काममा डस्न थाल्छ सैतान त्यो उठी
देख्दै देख्दैन क्यै राम्रो नराम्रो मात्र देख्दछ
खोजेर खोट या गल्ती तीता टिपोट लेख्दछ ।
फैलाएर तिरस्कार बित्दछन् उसका दिन
गालीले गर्छ प्रारम्भ गालीबाटै समापन
फैलाउँ कसरी द्वेष घृणा यस्तै छ चिन्तन
पिओस् अम्मृतका प्याला गर्छ विष बिसर्जन ।
घोचेर बोल्छ यस्तो कि छ उस्को मुखमै छुरा
जान्ने सुन्ने स्वयम् आफै सुन्दैन अरूका कुरा
यौटालाई खसालेर अर्कोलाई चढाउँछ
मिलेको देख्न सक्दैन सुती पस्दै लडाउँछ ।
सुनेर बस्न सक्दैन मुख त्यस्को चिलाउँछ
माग्नै पर्दैन सित्तैमा उपदेश पिलाउँछ
ठड्याउन्न बुढी औंला चोर औंला ठड्याउँछ
सहयात्रा गरौँ भन्दै छिर्के हानी लडाउँछ ।
कसैले देशमा राम्रो कुनै काम गरे पनि
पखाल्न थाल्छ यस्तो र उस्तो पैले थियो भनी
जब सङ्कटमा देश पर्छ भिसा लगाउँछ
पुगी विदेशमा चर्को देशभक्ति कराउँछ ।
सताई राख्छ सैतान बौलाएर घरीघरी
निकाल्न पनि गाह्रो छ शल्यक्रिया कुनै गरी
रिसानी माफ होस् यत्ति मात्र गर्दछु सोधनी
मभित्र मात्र त्यो हो कि छ त्यो हजुरमा पनि ?
०००
भैरहवा