साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्यामा नयाँ वर्ष चर्चासहित विशेष कविगोष्ठी सम्पन्न

अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि एवम् विषयप्रस्तोताका रूपमा त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागका प्रमुख डा.सोमप्रसाद खतिवडा उपस्थित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ वैशाख १ । विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५०औँ शृङ्खला वैशाख १ गते शनिबार साँझ ठिक ७ बजे नव वर्षको सुखद उपलक्ष्यमा जुमका माध्यमबाट प्रविधिमैत्री विशेष समारोह आयोजना गरियो र ‘नयाँ वर्ष मनाउने परम्परा र नेपाली विक्रमीय संवत्हरू’ विषयमाथि चर्चासहित शुभकामना विशेष कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि एवम् विषयप्रस्तोताका रूपमा त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागका प्रमुख डा.सोमप्रसाद खतिवडा उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा प्रा.डा.पशुपति नाथ तिमल्सेना, सन्ध्याका सल्लाहकार प्रा.डा.कृष्णप्रसाद घिमिरे र वासुदेव अधिकारी, अग्रज स्रष्टाहरू ईश्वरीप्रसाद लामिछाने, डा.गोविन्दप्रसाद आचार्य, डा.हरिप्रसाद सिलवाल, वरिष्ठ स्रष्टाहरू रामबहादुर पहारी, गायत्रीकुमार चापागाईँ, शेषमणि आचार्य र भानुप्रकाश जोशी, स्रष्टाहरू महेशराज खरेल, डम्बर पहाडी, जयन्ती स्पन्दन, गोपालकुमार मैनाली, ओमप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।

‘नयाँ वर्ष मनाउने परम्परा र नेपाली विक्रमीय संवत्हरू’ विषय अत्यन्त गहन र व्यापक भएको हुँदा पछि लिखित सामग्री उपलब्ध गराउने जानकारीसहित प्रमुख अतिथि डा.सोमप्रसाद खतिवडाले नेपालमा शक, मानदेव, विक्रम संवत्जस्ता संवत्हरू र फरक फरक जातिले मनाउने नयाँ संवत्हरू पनि रहेका र नयाँ वर्ष मनाउने परम्परा संस्कृतिका रूपमा विकास भएको पाइन्छ । उदाहरणका लागि उपत्यकामा मनाइँने बिस्केट जात्रा, पुर्बी तराईमा मनाइँने सिरुवा पर्व, पश्चिम नेपालमा मनाइँने विसव पर्वजस्ता चाडपर्वहरू मनोरञ्जनका लागि मात्र नभएर पितृको सम्झना गर्ने, देवीदेवताको पूजा गर्ने, आध्यात्मिक चेतना जोड्ने, खाध्यान्नको व्यवस्थापनका लागि खेती गर्ने पर्वका रूपमा समेत मनाइँने भएकाले संस्कृति बनेका छन् । विक्रम संवत्का बारेमा पनि विवाद रहेको छ तर यो धेरै अगाडिदेखि नेपालमै चलेको छ र अन्य संवत्का बारेमा पनि विवाद रहेका छन् । संवत् चलाउँदा महत्त्वपूणर् कामको स्मरण पनि गर्ने परम्परा रहेको छ भन्ने जानकारीसहित यी सबै संवत्का परम्परा र नेपाली विक्रमीय संवत्का बारेमा अहिले यहीँ सबै चर्चा गर्नु सम्भव नभएको हुँदा लिखित रूपमा उपलब्ध गराउने छु भन्नुभयो ।

विशेष समारोहमा क्यानडाबाट कुसुम ज्ञवाली, तनहुँबाट शेषमणि आचार्य, नेपालगन्जबाट प्रा.डा.कृष्णप्रसाद घिमिरे, विराटनगरबाट गायत्रीकुमार चापागाईँ, डम्बर पहाडी, सोइना दाहाल, महेशराज खरेल, ओमप्रसाद कोइराला, डा.नारायण चौलागाईँ, वासुदेव अधिकारी पाँचथर, खेमराज निरौला, भानुप्रकाश जोशी, कुमार नेपाल, जयन्ती स्पन्दन, मन भुजेल, ईश्वरीप्रसाद लामिछाने, डा.गोविन्दप्रसाद आचार्य, गोपालकुमार मैनाली र सल्लाहकार वासुदेव अधिकारीले आआफ्ना कविता, गीत, गजल, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.पशुपति नाथ तिमल्सेनाले चार दशकदेखि अविरल र अविश्रान्त यात्रा गरिरहेको, सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा घरैमा बसी बसी जुमका माध्यमबाट जोडिएर कविता श्रवण गर्ने र वाचित ती सिर्जनामाथि टिप्पणी गर्ने अवसर मिलेको छ । बिसजना स्रष्टाका सिर्जना वाचित भएका छन् । शास्त्रीय, लोकलय र मुक्तलयका कविता वाचित भएका छन् र ती सबै विधागत विविधतायुक्त सिर्जना रहेका छन् । कवितामा नयाँ वर्षको स्वागत, आशङ्का, माया गरिएका सन्दर्भको उल्लेख हुनुका साथै राम्रा पक्षको अनुसरण र नराम्रा कुराको त्यागको आग्रह गरिएको छ । श्रीपेचविनाका शासकहरूका प्रति कवितामा कठोर व्यङ्ग्य गरिएको छ । उन्नत जातका बाली, प्रविधि र प्रवृत्तिहरू फलदायी नभएका यथार्थलाई पनि कवितामा उजागर गरिएको छ । आदर्श एवम् सामाजिक कुरीतिविरुद्धका आबाज पनि कवितामा समेटिएका छन् । सङ्केतार्थक र प्रतीकात्मक रूपमा विकृतिलाई कुचोले बढार्ने र त्यही कुचो विभेदको प्रतीक पनि बनेको यथार्थलाई पनि कविताले औँल्याएको पाइन्छ । नयाँ वर्षमा विगतका विकृति नदोहोरिउन् भन्ने आग्रह कविताले गरेका छन् । सत्कर्ममा लाग्ने हो भने संसारको सबैभन्दा स्वर्ग यही धर्ती हो भन्दै विगतका कठोर दुःख, कष्ट र अन्यायको संस्मरणसहित त्यस्ता कुप्रवृत्ति नदोहोरिउन् भन्ने आग्रह पनि कवितामा गरिएको छ । सूर्योदयको प्राकृतिक विम्बजस्तै नयाँ वर्ष धर्ती र आकाशको फैलावटमा परिणत होस् र सत्कर्ममा मात्र प्रेरित गरोस् भन्ने आग्रह पनि कवितामा गरिएको छ ।

कवितामा मानवीय नैतिक मूल्य खस्कँदै गएकामा चिन्ता जाहेर गरिएको छ । कविताले पुस्ता बितेको बितेकै छ तर विभेद पनि सँगसँगै आइरहेको छ भन्ने यथार्थलाई पनि कविताले उजागर गरेका छन् र रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गरिएको छ । नयाँ वर्ष न्यायपूणर् बनोस्, दम्भ र घमण्ड त्यागेर आओस् भन्ने आग्रह गरिएको छ । विगतका पुराना वर्षका अभाव र पीडा समाप्त हुन्, सकारात्मक सोच र चिन्तनको विकास होस्, जिन्दगीले सफलता चुमोस्, यो वसन्तको स्वागतमा माली बनेर उमङ्गका साथ स्वतन्त्रताका पखेटा फिँजाउने अवसर नयाँ वर्षले देओस् भन्ने आग्रह पनि कवितामा गरिएको छ । कविताले कृषि ऊर्वराशक्ति बढाउने, मौलाएको भ्रष्टाचारको अन्त्य गर्ने र बिग्रेको मुलुकलाई बनाउनुका साथै दुष्ट छिमेकीबाट हेपिनुपरेको पीडा यो नववर्षले हटाओस् भन्ने आग्रह पनि कवितामा गरिएको छ । वाचित सबै रचनाले देशको परिस्थिति, खस्कँदा पाटाहरू, मानवीय मूल्यमान्यतामा आएको ह्रास, हामी बाँचेको युगको भोगाइ आदि समग्र पक्षलाई कठोरतापूर्वक उजागर गरेका छन् र सम्पूणर् विकार हटाएर सुन्दर एवम् समृद्ध पार्ने सन्देश सम्प्रेषण गरिएको हुँदा आजको गोष्ठी निकै सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिनुहुने प्रमुख अतिथि, अतिथिहरूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । निमन्त्रणा स्वीकारेर विदेशको क्यानाडादेखि स्वदेशका नेपालगन्ज, तनहुँ, विराटनगरसम्मका स्रष्टाहरू जुमका माध्यमबाट उपस्थित भइदिनुभएकोमा सबैका प्रति आभार व्यक्त गर्दछौँ । आज सुनिएका सिर्जनाले नेपाली समाज र सम्पूणर् नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राखेका छन् ।

प्रमुख अतिथिले विषय व्यापक रहेको हुँदा लिखितरूपमा सामग्री उपलब्ध गराउने बचनबद्धता जाहेर गरिदिनुभएको छ, म उहाँप्रति पनि आभार व्यक्त गर्दछु । नेपाली जनजीवनको सुधार नभएसम्म नयाँ वर्षको उल्लासले सार्थकता प्राप्त गर्दैन भन्ने यथार्थलाई आजका कविताले पनि सङ्केत गरेका छन् । कवि मञ्जुल र प्रदीप नेपाल अस्वस्थ हुनुभएको जानकारी पनि प्राप्त भएको हुँदा उहाँहरूको स्वास्थ्यलाभको पनि हामी कामना गर्दछौँ । सन्ध्याको ४५१ औँ शृङ्खलामा पनि कुनै समसामयिक विषयमा छलफल तथा बहस गर्नेगरी उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

०००
– रमेश पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x