फित्काैली डटकमघनश्याम राजकर्णिकारलाई प्रतीक ढकाल नियात्रा सौरभ सम्मान
साहित्यकार ढकालको जन्मदिनको आवसर पारेर आइतबार रु ५१००० राशिसहितको उक्त पुरस्कार नियात्राकार राजकर्णिकारलाई कमलपोखरीस्थित उनकै निवासमा समर्पण गरियो ।

काठमाडौँ । २०८१ जेठ १३ । पर्वतीय साहित्यका उन्नायक तथा वरिष्ठ नियात्राकार प्रतीक ढकालले नियात्रा विधामा समर्पित स्रष्टाहरूका लागि स्थापना गर्नुभएको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ वर्ष २०८१ का लागि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई समर्पण गरिएको छ ।
साहित्यकार ढकालको जन्मदिनको आवसर पारेर आइतबार रु ५१००० राशिसहितको उक्त पुरस्कार नियात्राकार राजकर्णिकारलाई कमलपोखरीस्थित उनकै निवासमा समर्पण गरियो ।
राजकर्णिकारलाई उनको पचास वर्षभन्दा पनि लामो र वन्दनीय नियात्रा साधनाको कदर गर्दै यो पुरस्कार अर्पण गरिएको पुरस्कारलाई व्यवस्थापन गरिरहेको पवर्तीय साहित्य समाज नेपालकी सचिव भवानी खतिवडाले जानकारी गरान् । कार्यक्रममा प्रतिभा छनोट उप–समितिका संयोजक समालोचक महेश पौड्यालले राजकर्णिकारले शिशु अवस्थामा रहेको नियात्रालाई एक परिपक्व विधाको रूपमा स्थापित गर्न ठूलो भूमिका खेलेको बताए ।
समालोचक प्रा. डा. कृष्णप्रसाद दाहालले आफूले यत्तिको लामो समयसम्म एउटै विधामा यसरी तल्लीन भएर लेख्ने अर्को नियात्राकार नदेखेको बताए । उनले साहित्यकार राजकर्णिकारको सफलताका पछाडि उनकी धर्मपत्नी शान्ता राजकर्णिकारको पनि हात भएको बताए । स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले खराब मान्छेको बाहुल्य भएको आजको समयमा असल कार्य गर्ने थोरै मान्छे भए, ठूलो उपलब्धि सम्भव हुने भन्दै पुरस्कार पाउने र दिने दुवै पक्षले असल र प्रेरणादायी कार्य गरेकोे टिप्पणी गरे ।
पुरस्कार पाउँदाको खुसी व्यक्त गर्दै नियात्राकार राजकणिकारले आफू व्यावसायिक घरानाको मान्छे भएर पनि साहित्यमा लाग्नुका पछाडि दुई कारण रहेको बताए । पहिलो कृष्ण पाउरोटी, र दोस्रो समालोचक माधवलाल कर्माचार्य । कृष्ण पाउरोटी उद्योगले नै उनलाई बेकरी सम्बन्धमा जर्मनीमा पढ्न जाने चाँजो मिल्याइदिकोले आफूमा विदेश भ्रमण गर्ने, नयाँ मुलुक देख्ने र देखेको कुरा लेख्ने कुराको सूत्रपात गरिदिएको बताए । सुरुमा धेरै विधामा छरिएका राजकर्णिकारलाई यात्रा–संस्मरणतिरै केन्द्रित हुनचाहिँ माधवलाल कर्माचार्यले प्रेरित गरेको बताए ।
पुरस्कारका संस्थापक प्रतीक ढकालले आफ्नो सानो प्रयासले ठूला साहित्यकारलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
राजकर्णिकारका ‘देश प्रदेशको भ्रमण’ (२०३४), ‘विदेशको यात्राः स्वदेशको सम्झना’ (२०३७), ‘बौद्ध तीर्थयात्रास् नालान्दादेखि लुम्बिनीसम्म’ (२०६०), ‘यात्रा अमेरिकाको माया नेपालको’ (२०६९), ‘यात्राको लहरीमा हिउँफूलकी रानी’ (२०७४), ‘घामै प्यारो आमै प्यारो’ (२०७७) लगायत महत्त्वपूर्ण नियात्राकृतिहरू प्रकाशित छन् ।
यसअघि यो पुरस्कार वरिष्ठ नियात्राकारहरू डा. तारानाथ शर्मा, सत्यमोहन जोशी, भुवनहरि सिग्देल र गीता खत्रीलाई प्रदान गरिसकिएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest






































