साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्गमद्वारा आयोजित लघुकथा उत्सवमा स्रष्टा सम्मान, बहस तथा वाचन

स्रष्टा शार्दूल भट्टराईलाई रू. २० हजार राशिको 'गोपालप्रसाद स्मृति सम्मान २०८१'  र डा. दामोदर पुडासैनी 'किशोर'लाई रू. २५ हजार राशिको 'साहित्य सङ्गम मकवानपुर सम्मान २०८०' द्वारा सम्मानित गरियाे ।

Nepal Telecom ad

हेटाैडा, २०८१ जेठ १९ ।  साहित्य सङ्गम मकवानपुरले ‘लघुकथा उत्सव-२०८१’ मा स्रष्टा सम्मान तथा लघुकथा वाचन कार्यक्रम गरेको छ । शनिबार हेटौँडामा एक कार्यक्रमबिच स्रष्टा सम्मान, बहस तथा लघुकथा वाचन गरिएको हो ।

मकवानपुरको सबैभन्दा जेठो साहित्यिक संस्थाका रूपमा रही कथा, कविता, गजल, मुक्तक लगायत साहित्यका विविध विधाको विधागत कार्यशाला, लेखन, वाचन, स्रष्टा सम्मानलगायतका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सङ्गम उपाध्यक्ष सानु खनालले स्वागतका क्रममा बताउनुभयो ।

कार्यक्रमका क्रममा सङ्गमका पूर्व सदस्य स्व. खेम बानियाँलाई समेत सम्झना गरियो भने कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेलले आगामी दिनमा समेत लघुकथा लेखनमा चौतारीसँग सहकार्य गर्दै अघि बढ्ने अपेक्षा राख्नुभयो । यस्तै सङ्गमका सल्लाहकार तुलसी घिमिरेले साहित्य सङ्गमको स्थापनाले साहित्यिक क्षेत्रमा स्थापित स्रष्टाहरूको महत्वपूर्ण भूमिका रहेको जानकारी दिनुभयो ।

स्रष्टा सम्मानः भट्टराई र पुडासैनी सम्मानित
सम्मानित स्रष्टाद्वय शार्दूल भट्टराई र डा. दामोदर पुडासैनी ‘किशोर’ का सम्बन्धमा सङ्गमका सल्लाहकार सुवास खनालले परिचयात्मक मन्तव्य राख्नुभयो ।

जनसेवाश्री, पारिजात स्मृति सम्मान, महाकवि देवकोटा राष्ट्रिय सम्मान २०७९ आदिबाट सम्मानित शार्दूल भट्टराई सङ्गमद्वारा रू. २० हजार राशिको ‘गोपालप्रसाद स्मृति सम्मान २०८१’ बाट सम्मानित हुनु भएको छ । नाटक, कविता, अनुवाद, सम्पादन तथा समीक्षामा तल्लीन उहाँका ‘बाँसुरीको आतङ् (नाटकसङ्ग्रह)’ र ‘पुल खस्यो (कवितासङ्ग्रह)’ प्रकाशित छन् । विश्वप्रसिद्ध साहित्यकारमाथिका गहकिला लेखन गर्ने उहाँले ३ दशक बैङ्कका कर्मचारीका रूपमा बिताउनु भएको हो ।

साहित्य सङ्गम मकवानपुरका ३ कार्यकाल सचिव रहनुभ‌एका केशव श्रेष्ठ ज्योतिद्वारा स्थापित रू. २५ हजार राशिको ‘साहित्य सङ्गम मकवानपुर सम्मान २०८०’ द्वारा सम्मानित डा. दामोदर पुडासैनी ‘किशोर’ का ‘डोल्पो ओ डोल्पो’ कृतिमार्फत् सम्मानका लागि छनोट हुनु भएको हो । मन्तव्यका क्रममा उहाँले यस कृति लेखनका लागि डोल्पा जिल्लामा २ महिना बसाई गरेको र त्यहाँको कला, भाषा, संस्कृति र सामाजिक रितीथीतिबारे अध्ययन गरिएको बताउनुभयो ।

नमेटिएका चिठीहरू र गृष्मको निलो बतास मदन पुरस्कारका उत्कृष्ट कृतिको सूचीमा सूचीकृत पुडासैनीद्वारा लिखित कृतिहरू हुन् ‌। उहाँ लेखा परीक्षणमा नेपालको पहिलो पिएचडीसमेत हुनुहुन्छ ।

विगतमा साहित्य सङ्गममा ३ कार्यकाल सचिवको जिम्मेवारीमा भएका डा. केशव श्रेष्ठ ‘ज्योति’ ले साहित्यिक संस्थाहरूमा युवालाई नेतृत्व हस्तान्तरण गर्दै जानुपर्ने र सोहीअनुसारको सिकाइ रहनु पर्ने बताउनुभयो । साथै उहाँले साहित्यिक संस्थामा विभिन्न विचारका सर्जकहरूको सहभागिता हुन सक्ने तर त्यसले संस्थालाई भने राजनीतिबाट भिन्न राखिनुपर्ने विचार राख्नुभयो । उहाँले उपस्थित सबैका अतिथि र दर्शक/स्रोताका लागि २/२ थान पुस्तक उपहार समेत प्रदान गर्नुभएको थियो ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित सो कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले स्थानीय सरकारले साहित्य, कलालगायतको क्षेत्रमा आफूहरूले सक्दो सहयोग गर्ने र आगामी समयमा त्यसलाई अझ धेरै बढावा गर्दै लैजाने बताउनुभयो । साथै उहाँले विगतमा वडा अध्यक्षका रूपमा रहँदा स्ल्याब ढलान मात्रै विकास हो भन्ने भ्रम आफूमा रहेको र हाल त्यसमा परिवर्तन भएको साथै समाजले समेत त्यो सोचभन्दा माथि उठेर शिक्षा, साहित्य तथा कलाको विकास अझ दीगो विकास हो भन्नेतर्फ सकारात्मक भएर सोच्नुपर्ने सुझाव दिनुभयो ।

लघुकथाबारे बहसः ‘लघुकथाः सिद्धान्त र बाटो’
‘लघुकथाः सिद्धान्त र बाटो’ शीर्षकमा लघुकथाका संरचना तथा समीक्षालगायतका विषयमा बहस आयोजना गरिएको थियो । बहसमा लघुकथाकारत्रय चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौँकी सुमन वर्षा सहभागी हुनुभयो । एसके निधन सहजकर्ता रहेको यस सत्रको अभिभावकत्व साहित्य सङ्गमका सल्लाहकार तुलसी घिमिरेले गर्नु भएको हो । बहसका क्रममा लघुकथाकार रेग्मीले लघुकथाको सुरूवात, मध्य र विचारको प्रयोग तथा यसको अन्त्यका तौरतरिकाबारे बताउनुभयो ।

यस्तै सहजकर्ता निधनले कथा, लघुकथा र सूत्रकथाको भेदबारे सोध्नुभएको सवालमा लघुकथाकार लोहनीले शब्दसीमा, कथाका गुण र अनावश्यक भावभङ्गी तथा व्याख्याका आधारमा कथाहरूको भिन्नात्मकता रहने बारे चर्चा गर्नुभयो ।

यस्तै लघुकथाकार सुमन वर्षाले लघुकथाका भिन्न स्वरुप रहेको र उठानका क्रममा राजनैतिक द्वन्द्व, समाजका विषयवस्तु, दैनिकीका कुराहरू जुनसुकै विषयवस्तु उठान गरेता पनि त्यसलाई निश्कर्षमा पुर्‍याएको छ वा छैन भन्ने विषयले पनि लघुकथाको भिन्नतालाई पहिचान गर्न सकिने बताउनुभयो ।

बहसका क्रममा लोहनीले लघुकथा पहिले लेखियो कि सिद्धान्त पहिले बन्यो भन्ने प्रश्नमा जुनसुकै लेखन पहिले हुने र सिद्धान्तमा हाल्ने काम पछि हुने बताइराख्दा सुमन वर्षाले लेखकले कसरी लेख्ने भनेर सूत्र हेरेर नलेख्ने बरू नवीन प्रयोग गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

लघुकथा वाचन सत्रः ‘लघुकथा मझेरी’
लघुकथा वाचनमा मकवानपुरका किशन पौडेल, रमेशमोहन अधिकारी, रामकुमार विष्ट ‘विष्ट अङ्कल’, श्याम श्रेष्ठ, मिथिला अधिकारी सहभागी हुनुभयो । यस्तै चितवनकी स्रष्टा रचना शर्मा, बैतडीका धनदेव जोशी, प्युठानका हरि जिसी, काठमाडौँका स्रष्टाद्वय किसान प्रेमी र केशव श्रेष्ठ ‘ज्योति’ ले आ-आफ्ना लघुकथाहरू सुनाउनुभयो । यस सत्रलाई सङ्गम कार्यसमिति सदस्य रजनी पौडेलले सहजीकरण गर्नु भएको हो । भीमविराग सङ्गीत कला साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष केशवलाल श्रेष्ठको अभिभावकत्वमा सञ्चालित यस सत्रपश्चात् रचना वाचन गर्ने स्रष्टा, सबै सत्रहरूमा सहजीकरण गर्ने सहजकर्ताहरूलाई धन्यवादपत्र वितरण गरियो ।

विशिष्ट आतिथ्य रहेको थियो भने साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले विगतमाझैँ कार्यक्रम सम्पन्न गर्नका लागि उपस्थित दर्शक/स्रोता र सहयोगी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेकोमा सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

हेटौँडा पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभ‌एको हो ।

०००
– फित्कौली अनलाइनका लागि संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x