साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाेपालप्रसाद रिमाल पुरस्कार डा.रामप्रसाद ज्ञवालीलाई

साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता र वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंको प्रमुख आतिथ्य तथा पूर्व सदस्य सचिव प्राध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ विशेष अतिथि रहनु भएकाे थियाे ।

Nepal Telecom ad

काठमाडौँ, साहित्य सदन नेपालले नेपाली गद्य कविताका प्रवर्तक, क्रान्तिकारी विद्रोही कवि तथा यथार्थवादी नाटककार गोपालप्रसाद रिमालको १०७ औँ जन्मजयन्ती मनाउँदै उनका नाममा स्थापित गोपालप्रसाद रिमाल पुरस्कार कवि एवं समालोचक डा.रामप्रसाद ज्ञवालीलाई प्रदान गरेको छ ।

साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता र वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंको प्रमुख आतिथ्य तथा पूर्व सदस्य सचिव प्राध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ विशेष अतिथि रहेको सो समारोहमा प्रा.डा. कपिल लामिछाने, गोपालप्रसाद रिमालका सुपुत्र मदन रिमाल, प्रा.डा. देवी नेपाल,जनगायक रामकृष्ण दुवाल, बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेल, पुरस्कृत व्यक्तित्व ज्ञवालीकी जीवनसँगिनी उषा पन्थी ज्ञवाली अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

सदनका सचिव कवि प्रह्लाद पोख्रेलले सञ्चालन र सदनका कोषाध्यक्ष वसन्त रिजालले स्वागत मन्तव्य तथा उपाध्यक्ष मित्रलाल पंज्ञानीले रिमालको योगदान माथि सारगर्भित प्रकाश पार्नु भएको उक्त समारोहमा प्राज्ञ प्रा.डा.देवी नेपालले पुरस्कृत व्यक्तित्व डा. ज्ञवालीको बहुमुखी व्यक्तित्व र कृत्वका बारेमा विषद रूपमा प्रकाश पार्नुहुँदै साहित्य सदन नेपालले यस किसिमका कार्यक्रम गरेर सदनलाई उचाइमा लगिरहेको बताउनु भयो। कार्यक्रममा जनगायक रामकृष्ण दुवालले रिमालको कवितालाई गायन गरेर रौनक प्रदान गर्नुभएको थियो ।

प्रारम्भमा राष्ट्रगान र रिमालको तस्बिरमा माल्यार्पण गरी प्रारम्भ भएको उक्त समारोहमा डा.ज्ञवालीलाई फूलको माला,दोसल्ला र नगद राशि प्रदान गरी पुरस्कृत र सम्मान गरिएको थियो ।

कार्यक्रममा सदनका सदस्यहरू सुनीता बुढाथोकी र रमेश खनालले रिमालका कविता वाचन गर्नुभयो भने सदनका सदस्य विश्वनाथ तामाङकाे संयोजनमा कलाकारहरू सीताराम पोखरेल, जानुका भट्टराई र रेनु दुलालले रिमालको मसान नाटकको अंशलाई अभिनय गर्नुभएको थियो ।

कार्यक्रममा रिमालका सुपुत्र मदन रिमालले मन्तव्यका क्रममा बुबाले नै जय नेपाल ! भन्ने प्रचलन चलाउनु भएको उल्लेख गर्नु भएको थियो भने विशेष अतिथि जगत् उपाध्याय ‘प्रेक्षित’ले रिमाल साहित्यकार मात्र नभएर परिवर्तनका सम्वाहक राजनीतिक व्यक्तित्व पनि भएको तर त्यो पक्ष भने ओझेलमा रहेको बताउनुहुँदै पुरस्कृत व्यक्तित्व ज्ञवालीलाई बधाई दिनुभएको थियो ।

पुरस्कृत व्यक्तित्व ज्ञवालीले रिमालका नाममा स्थापित पुरस्कार प्राप्त गर्दा आफू गौरवान्वित भएको र साधनालाई निरन्तरता दिन पुरस्कारले अरू उत्साहित बनाएको बताउनुभयो ।

समारोहमा प्रमुख अतिथि वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंले प्रगतिशील कवि रिमालका नाममा स्थापित यस्तो गौरवमय पुरस्कार अर्को प्रगतिशील स्रष्टा ज्ञवालीलाई प्रदान गरेर साहित्य सदन नेपालले सही मूल्याङ्कन गरेको बताउँदै रिमालका नाममा स्थापित पुरस्कार प्राप्त गर्नुको अर्थ उनले देखाएका बाटोबाट विचलित हुने छुट नभएको बताउनुभयो ।

कार्यक्रमका अन्त्यमा सभाध्यक्ष प्रा.डा.हेमनाथ पौडेलले रिमाल गद्य कविताका प्रवर्तक र यथार्थवादी नाटकका प्रारम्भकर्ता भएको उल्लेख गर्दै युगान्तकारी साहित्यकार रिमालका नाममा स्थापित पुरस्कार अर्का विशिष्ट एवं सशक्त प्रगतिशील स्रष्टा ज्ञवालीलाई प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले सो अवसरमा उपस्थित सबैलाई धन्यवाद पनि दिनुभयो ।

साथै उहाँले यस किसिमको भव्य कार्यक्रम सम्पन्न गर्न गरिमामय उपस्थित भएर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै सभा समाप्त भएको घोषणा गर्नुभयो । साहित्य सदन नेपालको प्रेक्षालयमा सम्पन्न समारोहमा साहित्यिक, प्राज्ञिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो ।

०००
श्राेत : काव्यघर नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x