फित्काैली डटकम‘रूपान्तरित मनहरू’ संयुक्त कविता सङ्ग्रहको लोकार्पण
उक्त सङ्ग्रहमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको शुभकामना, संविधानसभा सदस्य डा.विन्दा पाण्डेको भूमिका र सो मञ्चका चौथो संयोजक प्रतिमा पन्थीको अवधारणा रहेको छ।

काठमाडौँ । महिलावादी साहित्यिक मञ्चमा सहभागी भएमध्ये १३ जना कविका कविता सङ्गृहीत ‘रूपान्तरित मनहरू’ लाेकार्पण भएकाे छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा-प्रतिष्ठानको लेखनाथ कक्षमा ‘रूपान्तरित मनहरू’ संयुक्त कविता सङ्ग्रहको लोकार्पण गर्नु भएको थियो ।
उक्त सङ्ग्रहमा महिलावादी साहित्यिक मञ्चमा सहभागी भएमध्ये रोशनीदेवी कार्की, प्रतिमा पन्थी, प्रतिमा शर्मा, धनकुमारी अर्याल, रिङ्कु वाग्ले, दिलकुमारी बुढामगर, शान्तालक्ष्मी श्रेष्ठ, सीता ओझा, पङ्कजा जोशी, पवित्रा पौडेल र भवानी पौडेलका कविता रहेका छन् ।
उक्त अवसरमा कुलपति राईले ‘हजारौँ वर्षदेखि पितृसत्ताले महिलामाथि लादेको विभेदको शृङ्खला लामो छ।पूर्वीय सभ्यतामा महिलाको इतिहास लुकाएर अन्याय गरिँदै आएको छ। यसका विरुद्ध १३ जना कविद्वारा प्रतिरोधी धारलाई आत्मसात् गर्दै ‘रूपान्तरित मनहरू’मा अभिव्यक्त हुनु भनेको सुखद कुरा हो’ भन्नुभएको थियोे ।
उक्त सङ्ग्रहबारेअतिथि वक्ताहरू प्रा.डा. सुधा त्रिपाठी, प्राज्ञ चेतनाथ धमला, डा.शैलजा पोखरेल, डा.रेणु अधिकारी, डा.रेणु थापा सोलु, विमला तुम्खेवा, प्रणीता कोयू, सरु जोशी श्रेष्ठ, युवराज काफ्ले र रजनी भिलाले आआफ्नो धारणा राख्नु भएको थियोे ।
महिलावादी साहित्यिक मञ्चका तेस्रो संयोजक कवि शान्तालक्ष्मी श्रेष्ठको अध्यक्षता र मञ्चका दोस्रो संयोजक कवि रोशनीदेवी कार्कीले उद्घोषण गर्नुभएको उक्त कार्यक्रममा मञ्चका प्रथम संयोजक प्रतिमा शर्माले स्वागत मनतव्य राख्नु भएको थियो ।
उक्त मञ्च’को स्थापना भएको एक वर्ष पूरा भएको छ । यसको वैचारिक पक्ष ‘साहित्यमा पितृसत्तात्मक भाष्य परिवर्तन’गर्नु रहेको छ।
सामाजिक न्यायबाट बञ्चित रहेका महिला र तिनले भोग्नु परेका अनेकौँ भुईं उत्पीडन र हिंसाबाट मुक्त गर्ने उद्देश्यका साथ भर्चुअल माध्यमबाट आन्दोलन स्वरूप सुरु भएको शृङ्खलाबद्ध कविता वाचनको संयुक्त सङ्ग्रह ‘रूपान्तरित मनहरू’ प्रस्तावनाको रूपमा नेपाली साहित्यमा देखापरेको हाे ।
उक्त सङ्ग्रहमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको शुभकामना, संविधानसभा सदस्य डा.विन्दा पाण्डेको भूमिका र सो मञ्चका चौथो संयोजक प्रतिमा पन्थीको अवधारणा रहेको छ।
प्रस्तुत सङ्ग्रहका कविताहरूले प्राय: पितृसत्तात्मक यथास्थितिवादको विरुद्ध प्रतिरोधी चेतनालाई आत्मसात् गरेको पाइन्छ ।
०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































