साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाॅं दिल्लीमा २११ औँ भानु जयन्ती ‘स्रष्टा एवम् अभियन्ता अभिनन्दन’

‘स्रष्टा एवम् अभियन्ता अभिनन्दन तथा कविता वाचन प्रतियोगिता’ सम्पन्न भएको छ । भारतको राजधानी नयाॅं दिल्लीको चित्तरंजन पार्कमास्थित बिपिन चन्द्र पाल ऑडिटोरियममा सो कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

हाम्रो स्वाभिमान ट्रष्ट (पतञ्जलि) हरिद्वारको आयोजनामा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसर पारेर ‘स्रष्टा एवम् अभियन्ता अभिनन्दन तथा कविता वाचन प्रतियोगिता’ सम्पन्न भएको छ । भारतको राजधानी नयाॅं दिल्लीको चित्तरंजन पार्कमास्थित बिपिन चन्द्र पाल ऑडिटोरियममा सो कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नेपाली भाषा, संस्कृति, साहित्य, एवम् संस्कारको सम्वर्धन, प्रवर्धन एवं विकासको लागि कार्य गर्दै आएको छ ।

उक्त कार्यक्रममा ५-२५ वर्ष समूहका २३ जना प्रतियोगीबीच कविता वाचनका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सहभागी १० वर्ष मुनिका प्रतियोगीहरूलाई १५ अङ्क, १०-१५ वर्षसम्मका सहभागीहरूलाई १० अङ्क, १५-२० वर्षसम्मका सहभागीहरूलाई ५ अंक अतिरिक्त दिइने नियम राखिएको थियो । प्रत्येक प्रतियोगीलाई प्रमाण-पत्रका साथ प्रथम, द्वितीय र तृतीय भएका विजेताहरूलाई आकर्षक नगद पुरस्कारका साथमा प्रतिक र सम्मान पनि प्रदान गरियो।

दिल्ली राज्य स्तरका विजयी प्रतियोगीहरूमध्ये प्रथम दृष्टि क्षेत्री, द्वितीय, अस्मिता पराजुली, तृतीय दीपिका पंथी र सान्त्वना निर्मला पुन भए । प्रतियोगिताको निर्णायक मण्डलीमा रोहित लामगादे ज्यू, स्वामी जनार्दनाचार्य एवम् डा. नारायणदत्त सुवेदी रहनुभएको थियो।

१४ जुलाई २०२४ मा भएको राज्य स्तरीय प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूले हरेक राज्यबाट सोही दिन साॅंझ ०७:०० बजे अनलाइन (Zoom) मार्फत राष्ट्रिय स्तरको प्रतियोगिताका लागि अनलाइन सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमको उद्घाटन अतिथिहरू स्वामी जनार्दनाचार्य, कवि रोहित लामगादे, डा. नारायणदत्त सुवेदी, प्रो.डा. युवराज पोखरेल, कर्णल शुकुल प्रधान, प्रो. ओमनाथ बिमली, डा. विजयकुमार सिंह, विनायक हेगड़ेद्वारा दीप प्रज्ज्वलन गरेर गरिएको थियो।

नयाॅं दिल्लीबाट नेपालीभाषी नानीबाबुहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा भारतीय सेनाका कर्णल शुकुल प्रधान एवम् दक्षिण एशिया विश्वविद्यालयका प्रो.डा. युवराज पोखरेललाई समाजप्रति उत्कृष्ट योगदानका लागि लाइफटाइम अचिभमेन्ट एवार्डले सम्मनित गरिएको थियो।

प्रमुख अतिथि बद्री तिवारी (काउन्सिलर, नेपाली राजदूतावास) द्वारा उहाॅंहरु दुवैलाई फूलबुके, दोसल्ला एवम् साइटेसन प्रदान गरी विशेष स्रष्टा अभिनन्दन गर्नुभएको थियो ।

यसै अवसरमा ईशान आश्रमका महेश दत्त शर्माद्वारा हिन्दी भाषामा लेखिएको पुस्तक “जाना है गंगा पार” लाई डा. नारायण दत्त सुवेदीद्वारा नेपाली भाषामा उल्था गरिएको “जानु छ गंगा पारी” पुस्तकको लोकर्पण गरिएकाे थियो।

हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले नेपालीभाषी समाजलाई आफ्नो भाषा, संस्कृति, साहित्य, संस्कार एवम् गौरवशाली इतिहासको साक्षात्कार गराउँदै हामीबिचबाट आ-आफ्नो व्यापार, व्यवसाय, पेशा, नोकरी इत्यादिमा उन्नति प्रगतिको शिखर चढ्दै गर्दा आफूलाई नेपालीजाति हुनुमा गर्व गर्न सक्ने वातावरण निर्माण गर्ने उदेश्यका साथ आफ्नो स्थापनाकालदेखि नै निरन्तर यस अभियानमा लागिरहेको र भारत बाहिर पनि यूरोपबाट अमेरिका हुँदै विश्वभरिका नेपालीभाषीहरूबीच यस अभियानलाई पुर्याउने प्रक्रिया अगाडि बढिसकेको जानकारी संस्थाका केन्द्रीय मुख्य संयोजक योगगुरु डा. मोहन कार्कीले गराउनुभयो।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावासबाट फाइनान्स काउन्सिलर बद्री तिवारी एवम् अतिथिहरू प्रो. ओमनाथ विमली, डा. युवराज पोखरेल, कर्णल शुकुल प्रधान, ईशान आश्रमबाट डा. विजय कुमार सिंह, विनायक हेगड़े, जड़ीबुटी व्यवसाय संघ नेपालका अध्यक्ष सीए प्रेम तिवारी रहनुभएको थियो । उहाॅंहरुले आदिकवि भानुभक्तको सम्झनामा कविता वाचनका साथै आफ्नो मन्तव्य पनि राख्नुभयो।

मीनु भुसाल (सल्लाहकार, महिला समिति, दिल्ली राज्य समिति, हाम्रो स्वाभिमान ट्रष्ट) तथा पूनम शर्मा (सदस्य, महिला योग समिति दिल्ली) ले सञ्चालन गरेको उक्त कार्यक्रममा हाम्रो स्वाभिमान ट्रष्टको केन्द्रीय युवा प्रभारी वेदप्रकाश शर्माले संस्थाको परिचय एवम् गतिविधिको बारेमा जानकारी दिँदै भाषा नै जाति एकीकरणको कडी भएको बताउनु भयो । केन्द्रीय साॅंस्कृतिक सचिव घनश्याम शर्माले नेपाली संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ हाम्रो स्वाभिमान ट्रष्ट हरिद्वारले हरेक वर्ष मनाउँदै आएको हरितालिका तीज महोत्सव यस वर्ष पनि भारतको राजधानी नयाॅं दिल्ली, आइटीओस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा (वातानुकुलित हल) ७ सेप्टेम्बर २०२४ को दिन भव्य रुपमा मनाउन गइरहेको जानकारी जानकारी गराउनु भयो ।

संस्थाका दिल्ली राज्य समितिका पूर्वअध्यक्ष तेजराम न्यौपानेले अध्यक्षता गर्नुभएको भानुजयन्ती २०२४ को कार्यक्रमका उपस्थित सम्पूर्ण साहित्यप्रेमीलाई आयोजक समितिका संयोजक रमेश बस्नेतले धन्यावाद ज्ञापन गर्नु भएको थियो।

१४ जुलाई २०२४ मा भएको राज्य स्तरीय प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगिहरूले हरेक राज्यबाट सोही दिन साॅंझ ०७:०० बजे अनलाइनमार्फत राष्ट्रिय स्तरको प्रतियोगिताका लागि सहभागि हुनुभएको थियो । साथै, राष्ट्रिय स्तरका विजयी प्रतियोगीले सर्टिफिकेट एवम् नगद क्रमश: ₹२१,०००/- ₹१५,०००/- ₹११,०००/- पुरस्कार प्राप्त गरेका छन्।

राष्ट्रिय स्तरको कविता वाचन प्रतियोगीताका विजयी प्रतियोगिहरूमा प्रथम मालती देवी (असम), द्वितीय आरती धिताल, तृतीय यशराज पौडेल र सान्त्वनामा दृष्टि क्षेत्री, दीपिका पन्थी, ध्रुवराज भट्टराई रहेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x