साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लाेकार्पित

सुरभि साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि बैरागी काइँलाको प्रमुख आतिथ्य तथा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न भएको हो।

Nepal Telecom ad

काठमाडाैं, २०८१ साउन १२ । स्रष्टा गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ।

सुरभि साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि बैरागी काइँलाको प्रमुख आतिथ्य तथा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न भएको हो।

अनामनगरस्थित सिलौटो कटेजमा भएको कार्यक्रममा मञ्चमा आसीन व्यक्तित्वहरूबाट कथासङ्ग्रह ‘विशृङ्खलित सपना’को लोकार्पण भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बैरागी काइँलाले मैनालीको कथामा नेपाली समाजको राम्रो चित्रण भएको बताए। कथामा घर छ,परिवार छ, इष्टमित्र छन्, बिरामी आमाको कथा छ, अपराध बोध महसुस गरेको कुरा छ। अवकाश प्राप्त गरेपछि लेखिएका अनुभवहरू छन् भन्दै उनले यी कथाले आँखा खोल्ने प्रयत्न गरेको बताए ।

नियात्रा, समालोचना र निबन्ध लेखिसकेका मैनालीले पहिलो कथासङ्ग्रह लिएर आएकोमा सफलताको शुभकामना सहित बधाई पनि दिएका थिए।

प्रा.डा.लेखप्रसाद निरौलाले लोकार्पित पुस्तकमाथि आफ्नो समीक्षात्मक टिप्पणी गर्दै पुस्तकभित्रका १७ थान कथाहरूको छुट्टाछुट्टै व्याख्या गरेका थिए। मैनालीका कथाहरू सरल छन् र सलल बगेको छ भन्दै विदेश जाने प्रवृत्तिप्रति कडा प्रहार रहेको बताए। उनका कथाका विषयवस्तु राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सम्मको रहेको बताउँदै केही कथाहरू नियात्रा जस्ता तथा केही कथाहरू निबन्ध जस्ता देखिन्छन् भनेर औँल्याए। उनले आफ्नी आमा र रोशी खोलालाई बिर्सन नसकेको कुरा उल्लेख गर्दै कथाकार गुरुप्रसाद मैनालीपछि दोस्रो मैनाली आख्यानमा देखा पर्नुमा बधाई तथा शुभकामना समेत दिएका थिए।

अर्की समीक्षक अनिता कोइरालाले मैनालीका कथाहरू यथार्थ घटनामा आधारित रहेको र बोधगम्य भाषामा कथा बनेर आएको बताइन् । कथासङ्ग्रहमा हिमाल, पहाड र तराईका कथा छन्, जनयुद्धमा प्रशासकको मनोदशा कथा बनेर आएका छन्, प्रशासनमा भ्रष्टको आरोप लागेर विक्षिप्त भएका कथा छन् र प्रशासनभित्रको विशृङ्खलित सपनाहरू घटना बनेर आएका छन् भनेर बताइन्। प्रशासनको उच्च तहमा पुगेर पनि आफ्नो थातथलोका बारेमा कथा लेख्ने गोपी मैनालीको प्रस्तुत गर्ने शैली नवीन हुनुका साथै रूवाउने खालको रहेको बताइन्।

आफ्नो लेखकीय मन्तव्य राख्दै कथाकार मैनालीले अनुभूति मिश्रित घटनाहरू आफ्ना कथा भएका छन्, मेरी आमा कथाको मुख्य पात्र हुन् भन्दै समाजबाटै पात्र र घटनाहरू टिपेको कुरा बताए। साथै उनले घुमिफिरी रोशी खोला र आमाका विषय आएका छन् भन्दै कथामा नयाँ प्रयोग गरेको बताए।

कथाकार गोपी मैनालीको यो आठौँ साहित्यिक कृति हो भने यसअघि समालोचना, नियात्रा र निबन्धका कृतिहरू प्रकाशनमा आइसकेका छन्। लोकार्पित पुस्तक ‘विशृङ्खलित सपना’ सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कृति हो।

कार्यक्रममा पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा, सुरभि साहित्य प्रतिष्ठानका संरक्षकद्वय विजय चालिसे तथा गोविन्द घिमिरे’वेदमणि’, इतिहासविद् दिनेशराज पन्त, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी तथा सिने कलाकार सरोज खनालले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा सभापति बाजुराम पौडेलले आफ्नो स्वागत मन्तव्य राख्दै सुरभि साहित्य प्रतिष्ठानको बारेमा संक्षेपमा प्रकाश पारेका थिए भने परिवारजनका तर्फबाट लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गरेका थिए।

०००
– समाचार श्राेत : शब्दपथ / तस्विर: सुवासचन्द्र पाैडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x