कीर्तिशेष ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार समर्पण
दाहाल यज्ञनिधिको छैटौं स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कृतिशेष स्वर्गीय नेपाललाई प्रदान गर्नुभएको हो ।
काठमाडौं, २०८१ साउन २५ गते । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधि पुरस्कार-२०८१ इतिहासकार एवम् साहित्यकार स्वर्गीय ज्ञानमणि नेपाललाई प्रदान गरिएको छ । शुक्रबार दाहाल यज्ञनिधिको छैटौं स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कृतिशेष स्वर्गीय नेपाललाई प्रदान गर्नुभएको हो ।
उक्त सम्मान ताम्रपत्र र एक लाख ५० हजार नगद स्वर्गीय नेपालका जेठा छोरा सन्तोष नेपालले ग्रहण गर्नुभयो । इतिहासकार नेपालको २०८१ जेठ १ गते मंगलबार निधन भएको थियो । पुरस्कार दाहाल यज्ञनिधि सुधा सदनका अध्यक्ष सुधा दाहाल र कुलपति राईले संयुक्त रुपमा प्रदान गर्नुभएको हो ।
आफ्नो पितालाई देहवासनोप्रान्त प्राप्त पुरस्कार ग्रहण गरे लगत्तै छोरा सन्तोष नेपालले ‘वैयाकरण नेपाल प्रतिष्ठान’का अध्यक्ष एकमणि नेपाललाई रकम हस्तान्तरण गर्नुभयो । यो पुरस्कार रकमलाई ‘सिड मनी’ बनाएर ज्ञानमणि नेपालको नाममा इतिहास र साहित्यमा योगदान गर्ने स्रष्टालाई पुरस्कार प्रदान गर्नेगरी राख्ने घोषणासमेत उहाँले कार्यक्रममै गर्नुभयो ।
त्यसैगरी दाहाल यज्ञनिधि बाल प्रतिभा पुरस्कारबाट दरबार हाई स्कुलको कक्षा ८ मा उत्तीणर् हुँदा नेपाली विषयमा सर्वोत्कृष्ट जिपिए ल्याउने छात्र दिनेश कार्की र छात्रा आस्ना पाण्डेलाई प्रदान गरिएको छ । २० हजार राशिको उक्त पुरस्कार छात्र र छात्रालाई संयुक्त रुपमा प्रदान गरिएको हो ।
बाल प्रतिभा पुरस्कार दाहाल यज्ञनिधिले लामो समय प्राध्यापन गर्नुभएको दरबार हाइस्कुलको कक्षा ८ बाट उतीणर् हुँदा नेपाली विषयमा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई हरेक वर्ष प्रदान गरिँदै आएको छ ।
कार्यक्रममा डा. रमेश शुभेच्छुले सम्पादन गर्नुभएको कृति ‘दाहाल यज्ञनिधिको जीवनदृष्टि’ सार्वजनिक भएको छ । उक्त कृतिमाथि प्रा.डा जिवेन्द्रदेव गिरीले समीक्षात्मक मन्तव्य राख्नुभयो । मन्तव्यका क्रममा यस कृतिबाट दाहालको जीवनी व्यक्तित्व र कृतित्वलाई बुझ्न सहयोग पुगेको बताउनुभयो ।
कृतिका सम्पादक शुभेच्छुले लेखकहरू डा. वद्रीविशाल भट्टराई, प्रमोद प्रधान र दिनेश लुइटेललाई धन्यवाद दिनुभयो । संस्थाका उपाध्यक्ष समेत रहेका शुभेच्छुले संस्थाको परिचयसहित दाहाल यज्ञनिधि र इतिहासकार ज्ञानमणि नेपालको परिचय पनि प्रस्तुत गर्नुभएको थियो । उहाँले ज्ञानमणि नेपाल जीवनको अन्तिम घडीसम्म पढेको पढ्यै पढेको पढ्यै लेखेको लेख्यै गरेर आफ्नो समयका विशिष्ट प्राज्ञिक बौद्धिक व्यक्तित्व बनेको अभिप्रेरक पात्र रहेको बताउनुभयो । त्यस्तै उहाँले दाहालको र नेपालको उच्च स्वाभिमानी व्यक्तित्वमा साम्य रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै इतिहासकार एवम् प्राज्ञ दिनेशराज पन्तले नेपाली साहित्यका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको नाममा स्थापना भएको सम्मान उहाँजस्तै अर्का विशिष्ट प्रतिभालाई प्रदान गरिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा दाहाल यज्ञनिधिका कविता कवि दिल पौडेल, विनोदविक्रम केसी र प्रभा भट्टराईले वाचन गर्नुभयो । कार्यक्रममा दाहाल यज्ञनिधिकी आमा कृष्णकुमारी दाहाल, प्रा.डा.केदार न्यौपानेसहित नेपाली साहित्यका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
दाहाल यज्ञनिधि सुधा सदनको अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्व र बालप्रतिभालाई सम्मान गरिँदै आएको छ । वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो ।
उहाँका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), ‘जदौ’ जीवनी र व्यक्तित्व केन्द्रित कृति (२०७६) र दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१) प्रकाशित छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest