फित्काैली डटकमलुइँटेललाई हास्यव्यङ्ग्यका लागि गोपालराज पन्त स्मृति सम्मान
प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तको सभाध्यक्षतामा सम्पन्न सम्मान अर्पण समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।

काठमाडौं, २०८१ साउन २५ । पन्त स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको नगद रु. ५० हजार रकम सहित सम्मानपत्र सहितको गोपालराज पन्त स्मृति सम्मान हास्ययङ्ग्यकार तथा फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेललाई प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तको सभाध्यक्षतामा सम्पन्न सम्मान अर्पण समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।
२०८० को दशकलाई नेपाली हास्यव्यङ्ग्यको पुनरजागरण दशकको रुपमा स्थापित गर्ने घोषणाकासाथ हास्यव्यङ्ग्यको अनलाइन पत्रिका फित्कौली डटकमको सञ्चालन र सम्पादनमा सक्रिय लुइँटेलका ‘छेपन’, ‘सिङ न पुच्छर’, ‘चम्चा चिन्तन’, ‘बाँदरका हातमा नरिवल’, ‘नेपाली हास्यव्यङ्ग्य’ लगायत छवटा हास्यव्यङ्ग्य कृतिसहित २ दर्जन कृति प्रकाशित छन् ।
रङ्गमञ्चमा उत्कृष्ट हास्यव्यङ्ग्य अभिनयमा विलक्षण प्रतिभा प्रस्तुत गर्दागर्दै कीर्तिशेष भएका गोपालराज पन्तको स्मृतिमा स्थापित उक्त सम्मानद्वारा यस अघि गोपालराज मैनाली, चट्याङ मास्टर, बसुन्धरा भुसाल, आर.सी रिजाल, राजाराम पौडेल, लक्ष्मण गाम्नागे, डम्बर घिमिरे, नरेन्द्रराज पौडेललगायत हास्यव्यङ्ग्यकर्मीहरू सम्मानित भइसकेका छन् ।
प्रतिष्ठानद्वारा रुसी सांस्कृतिक केन्द्र, कमलपोखरीको सभाकक्षमा आयोजित विशेष समारोहमा २०८० का लागि बाल नृत्यकलामा- सदिच्छा बाल प्रतिभा पुरस्कार श्री पूर्णिमा सिंहलाई, चित्रकलामा- सीताश्री स्मृति सम्मान पुरस्कार श्री विनय हुमागाईलाई, उपन्यास लेखनमा- रामराज पन्त स्मृति सम्मान पुरस्कार श्री किरण आचार्यलाई समर्पण गरियो ।
त्यसै गरी लोककथा/संस्कृतिमा- मैया वासु पन्त स्मृति सम्मान पुरस्कार डा. निर्मला पोखरेललाई, साहित्यिक पत्रिकामा- बन्धु पन्त स्मृति सम्मान पुरस्कार श्री विमल भौकाजी (शारदा मासिक)लाई, समालोचनामा- टीका मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार श्री युवराज मैनालीलाई, समाजसेवामा- आमा इन्दिरा पन्त स्मृति सम्मान पुरस्कार श्री सरिता अर्याललाई र बालसाहित्यमा- सुशीला पन्त स्मृति बालसाहित्य सम्मान पुरस्कार श्री सुशीला देउजालाई समर्पण गरिएको थियो ।
उक्त सम्मान पुरस्कारको नगद रकम क्रमश १० हजार, २५ हजार, ५० हजार, १५ हजार, १० हजार, १०/१० हजार रहेको छ ।
सम्मानित व्यक्तित्वहरूको योगदानसँग सम्बन्धित भएर डा. विजया पन्तद्वारा परिचय प्रस्तुतिपछि अध्यक्ष इन्दु पन्तले पुष्पमाला र मुख्य अतिथि जगमान गुरुङले नगद राशि रहेको थैली र सम्मान पत्र समर्पण गर्नु भएको थियो ।
समारोहमा प्रतिष्ठानद्वारा नियमित प्रकाशित हुँदै आएको ‘नवज्योति‘को १५ अाैँ अङ्क प्रमुख अतिथि गुरूङले लोकार्पण समेत गर्नु भएको थियो ।
संयोगवस यस वर्ष सम्मानित हुनेहरूमा नरनाथ लुइँटेल, विमल भौकाजी, युवराज मैनाली तीनैजना हास्यव्यङ्ग्यकार पृष्ठभूमि भएका व्यक्तित्वहरू हुनुहुन्छ ।
सम्मानित व्यक्तित्वहरूले आफू सम्मानित तथा पुरस्कृत भएकामा गौरवानुभूति भएको बताउँदै प्रतिष्ठानप्रति आभार व्यक्त गरेका थिए ।
साहित्य, कला संस्कृति र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्धेश्यले २०५८ सालमा स्थापित पन्त स्मृति प्रतिष्ठानले स्थापना कालदेखि नै विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गर्दै आएको छ । वरिष्ठ साहित्यकार गीता केशरी प्रतिष्ठानकी संस्थापक अध्यक्ष र इन्दु पन्त वर्तमान अध्यक्ष हुनुहुन्छ ।
०००
सम्मान ग्रहणपछि लुइँटेलले प्रस्तुत गर्नुभएको व्यङ्ग्यात्मक मन्तव्य :
अत्तो न पत्तोसँग तालुमा आलु फलेपछि
समारोहका अध्यक्ष, प्रमुख अतिथि, गन्यमान्य, अग्रगन्य पश्चगन्य
सबैमा मेरो हार्दिक नमस्कार ।
नखुइलेको तालुमा आलु फलेको यस अवसरमा यहाँहरु सबैलाई नमस्कार गर्ने चानस पाइयो । यस्तो चानसमा डानस गर्ने मौका कमैले पाउने गरेका छन् ।
कुरोको कन्तुरो के हो भने म गम्भीर प्रकृतिको भएर पनि हास्यव्यङ्ग्य रुचाउने लठुवा परेँ । साहित्यिक यात्राको आरम्भदेखि नै बाङ्गो अभिव्यक्तितर्फ आकर्षित हुँदै आए पनि मूल पेशा पढ्ने पढाउने नै हुन पुग्यो । पछिल्लो अध्यापन थलो त्रिभुवन विश्वविद्यालयबाट टायर नहुँदै रिटायर भएपछि अर्थउपती केही नहुने एउटा पेसा समातेको छु ।
त्यो कस्तो पेसा हो भन्नु होला । त्यो भनेको फित्कौली हान्ने पेसा । अक्षरका मट्याङ्ग्रा भेला पार्यो, फित्कौलीमा तन्कायो हान्यो । तन्कायो हान्यो । हान्नेलाई मजै छ तर मट्याङ्ग्रो पुरपुरामा लाग्नेलाई रुनु न हाँस्नु । अहिले बिहानै पनि एक दर्जन मट्याङ्ग्रा हानिराखेर यहाँ उपस्थित हुन आइ पुगेको हुँ । नपत्याए फित्कौली डटकम क्लिक गरी पिलिक्क हेर्नुहोस् त सिरानमै देख्नु हुनेछ कुलमान सर र केपी बाका बीचको कार्टुन दोहोरी । हो, यही त हो फित्कौली हान्ने पेसा । ठ्याक्कै तीन वर्ष भो । बिहान उठेदेखि राती सुत्नु भन्दा अघिसम्म म यतैतिर व्यस्त छु । यतैतिर अलमस्त छु ।
साँच्चै भन्ने हो भने यो फित्कौली हान्ने पेसामा मेरो मनज्ञान राजिखुसीले लागेको हुँ, मलाई कसैले लाए अह्राएको पनि हैन, कसैको आदेश निर्देश फर्मान जारी गरी गराई जबरजस्तीमा परेर पनि हैन । असी हजारको गड्डाले प्रति महिना हिर्काइमाग्ने अफरलाई समेत अस्वीकार गरी यता यो पेसामा ओर्लिदा पनि गुनासो खनासो केही नगर्ने मेरी रामप्यारी बिमला लुइँटेल अहिले यहीँ आइपुगेकी छन् । नपत्याए उनैलाइ खुसुक्क अहिले नै सोध्दा पनि हुन्छ ।
भैरव र वासुदेवहरुको अवसानपछि नेपाली हास्यव्यङ्ग्य अलि ओइलाएकै हो । यसरी ओइलाउनु हुँदैन भन्ने लागेपछि म लुखुरलुखुर यता लागेको हुँ । मान सम्मान, पुरस्कार र प्रतिष्ठा पाउँला, फित्कौलीको हँस्याैलीकै माध्यमबाट घर बङ्गला, अकुत सम्पति जोरुँला र मोजमस्ती गरुँला भनेर पनि यता लागेको हुँदै हैन । बरु प्राध्यापन गिरी गर्दा अलि अलि जोगाएको आर्जनको आठ दश लाख बरु फित्कौली मार्फत हास्यव्यङ्ग्य कर्ममै खर्च भइसक्यो । किन यस्तो बेफ्वाँकमा खर्च गरेको भनेर एक शब्द गाली नगर्ने मेरी पत्नी कति सोझी कि हुस्सु होलिन् तपाइँहरु आफै अनुमान लगाउनोस् । बुबाले किन यसो गर्नु भएकाे होला भनेर एकै बचन नलगाउने मेरा छोराछोरी कति साह्रो बुद्धु भएका हुन् म आफैँ छक्क परेको छु ।
यस्ता सोझा, हुस्सु र बुद्धुहरूको अभिभावक म । यस्तै यस्तै उल्टो र उभिण्डो मति भएको व्यक्तिलाई श्रीमतीकै सामु पुरस्कारको पगरी लगाइदिने सोच र छनोट यो पन्त स्मृति प्रतिष्ठानले कसरी गर्यो ? त्यो पनि नगद रु ५० हजारको गह्रुङ्गो थैली समेत । याे मेराे लागि आठाैँ आश्चर्य भएकाे छ । पाँच सात हजारकै पुरस्कारका निम्ति हिर्को हालेर दश जनासँग खुसामदी गर्नेहरुको वर्तमान हुल देख्दा उकउकी लागेर मैले त हा हा पुरस्कार हि ही पुरस्कार शीर्षकको निबन्ध लेखि उनीहरुलाई बेस्मारी गिज्याएको पाे थिएँ ।
यसरी सुइँको न सपनाको यो पुरस्कार मेरा रौँ नखुइिएको तालुमा आलु बन्न पुगेको ठिक साँचो हो । न आमा पटिको साइनो, न बाउपटिको नाता ! चिन्नु न जान्नुसँग पुरस्कार र यो सम्मानको नाममा पन्त स्मृति प्रतिष्ठानले मेरा तालुमा यसरी आलु नै फलाइदिए दिए बापत मैले धन्यवाद र आभारका शब्द व्यक्त नगर्ने हो भने त पापै लाग्छ हाेला । त्यसकारण पनि धन्यवाद भन्छु, आभार व्यक्त गर्छु ।
अन्त्यमा मसँगै अन्यअन्य विधामा पुरस्कृत र सम्मानित हुनुहुने सबै व्यक्तित्वहरुमा हार्दिक बधाई दिँदै मेरा कुराकाे बिट मार्छु । धन्यवाद ।
२०८१ साउन २५
(रूसी सांस्कृतिक केन्द्रकाे सभाकक्ष, कमलपाेखरी)
०००
– रेहित सैजूले तयार गरेको टिपोटको रिपोर्ट







































मुरी मुरी बधाइ छ है जुङ्गे काजीज्युू! अब यो तालुमा आलु फलेर पाएको थैली पनि त फित्कौलीको मट्याङ्गारा भँडारमा खन्याउने होला नि ! कि कसो? त्यत्रो भैरब पुरस्कार त त्यहीँ भण्डारण गरेको भन्ने सुनेको थिएँ ।