फित्काैली डटकमकविता प्रतियोगितामा मानसी पोखरेल प्रथम
कलेजका २५ सय विद्यार्थीहरूमध्ये पहिलो चरणको छनोटबाट सहभागी ८० जनालाई उछिन्दै पोखरेलले प्रथम स्थान हासिल गरेकी हुन् ।

विराटनगर, २०८१ भदौ १३ । मोरङको विराटनगर महानगरपालिका- ९ स्थित शिक्षादीप कलेजमा बिहीबार आयोजित कविता प्रतियोगितामा कक्षा ११ विज्ञान संकायकी छात्रा मानसी पोखरेल प्रथम भएकी छिन् ।
कलेजका २५ सय विद्यार्थीहरूमध्ये पहिलो चरणको छनोटबाट सहभागी ८० जनालाई उछिन्दै पोखरेलले प्रथम स्थान हासिल गरेकी हुन् ।
अगस्ट २९ अर्थात् ‘Embrace a world free of nuclear weapons day’ का अवसरमा ‘शान्तिका लागि निशस्त्रीकरण’ शीर्षकमा आयोजित कविता प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरू सहभागी थिए ।
यस्तै, इशान पौडेल, सिरिन भट्टराई, प्रतीक भट्टराईले दोस्रो स्थान हासिल गरे भने सम्पता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई, साम्राज्ञी बस्नेत तृतीय भए । यसैगरी, अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल, खुस्बु ढकाल र समीर साहले सान्त्वना पुरस्कार पाए ।
उनीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, निणर्ायकत्रय साहित्यकारहरू चुणामणि नेपाल ‘अकिंचन’, मीनकुमार नवोदित र कमलकिशोर श्रीवास्तलगायतले नगद र प्रमाणपत्रबाट पुरस्कृत गरे ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कविताका माध्यमबाट आफ्ना भावनाहरू पोख्न मिल्ने भएकाले पनि थकाहट हटाएर आनन्दपन ल्याउन प्रतियोगिताको आयोजना गरिएको सुनाए । सुरुवातदेखि नै साहित्यिक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै उनले भावि दिनमा पनि निरन्तरता दिने सुनाए ।
‘कविता सुन्दा यति धेरै आनन्द आउँछ कि आफ्नो थकान मेटिन्छ,’ उनले भने, ‘कवितामार्फत् विद्यार्थीहरूले आफ्नो भावना पोख्न सक्नेछन्, मन शुद्ध बनाउने छन् । धेरै प्रतियोगी भएका कारण छनौट गर्नुपर्दा सबैलाई सहभागी गराउन सकेनौं । फेरि पनि यस्ता कार्यक्रम गरेर उनीहरूलाई मौका दिनेछौं ।’
प्रतियोगिताका निणर्ायक मीनकुमार नवोदितले विद्यार्थीहरूले पठनपाठनका अलाबा सिर्जनात्मक बनेर अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने बताए । ‘विद्यार्थीले सिर्जनशील बनेर सधैँभरि अगाडि सर्न जरुरी छ,’ उनले भने, ‘साहित्यतिर इच्छा जताउनु र सिर्जनशील बन्नु भनेको अमर पेसा अँगाल्नु हो ।’
कार्यक्रममा विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशक भुपेन्द्र दाहाल र रामचन्द्र अधिकारीसहित विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कक्षा ११ र १२ का दुई हजार पाँच सय विद्यार्थीहरूमध्ये पहिलो चरणको छनोटबाट ८० जनालाई कविता प्रतियोगितामा सहभागी गराइएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।
प्रथम भएको कविता
शान्तिका लागि निशस्त्रीकरण
-मानसी पोखरेल
आउ, एउटा कविता कोरौँ
शान्तिको मधुर ध्वनि छरौँ ।
तिमीलाई थाहा छ,
तिमी युद्धमा जाँदा
एक्लो तिमी मात्र जाँदैनौ ।
साथमा जान्छ परिवारको शान्ति
प्राणप्रिया भार्याको मुहारको कान्ति
जान्छ बृद्ध बाआमाको सहारा
छोराछोरीको काखसँगै आहारा
भोक, प्यास अनि रातको निन्द्रा
दाजुबहिनीको मुस्कान र तन्द्रा
घरखेत अनि बस्तुभाउको माया
आँगनमा झुलेको पिपलको छाया ।
त्यसैले,
आउ, एउटा कविता कोरौँ
शान्तिको मधुर ध्वनि छरौँ ।
तिमीलाई थाहा छ,
युद्धमा तिमी मात्र हार्दैनौ
एक्लो तिमी मात्र मर्दैनौ
साथमा उनीहरू पनि हार्छन्
सजाइएका सारा सपनाहरू मर्छन् ।
युद्धले त युद्ध नै निम्त्याउँछ
आक्रमणले प्रत्याक्रमण मात्र गराउँछ
शान्ति त प्रेम हो, मुस्कान हो
सम्पूणर् सत्य हो, जहाँ मानवता रमाउँछ
हतियार रहेसम्म शान्ति हराउँछ
शान्तिले मात्र सद्भाव ल्याउँछ ।
त्यसैले,
आउ एउटा कविता कोराैँ
शान्तिको मधुर ध्वनि छरौँ ।
ड्रोन र मिसाइल, बम र बारुदले
अकल्पनीय युद्ध भड्काउँछ
धेरैलाई टुहुरो र बेसहारा बनाउँछ
कतिपयलाई शरणार्थी त
कतिपयलाई घरबारविहीन गराउँछ
रासायनिक र जैविक क्षेप्यास्त्रले
लाखौँ, करोडौँको एउटै चिहान खनाउँछ ।
शान्तिले मात्र मिठो सुगन्ध फैलाउँछ
त्यसैले,
आउ एउटा कविता कोरौँ
शान्तिको मधुर ध्वनि छरौँ ।
लड्ने नै हो भने,
नयाँ लडार्इं लडौं ।
सुन्दर विचार, उत्कृष्ट दर्शन
विज्ञानका नूतन सिद्धान्तहरू खोजाँै ।
युद्धको उन्माद छोडौँ,
ज्ञानी बुद्धको सत्मार्ग रोजौ
विशिष्ट चिन्तन-मनन गरौँ
विचारको युद्ध लडौँ
शस्त्र त्यागेर शास्त्रार्थ गरौँ ।
आऊ एउटा कविता कोरौँ
शान्तिको मधुर ध्वनि छरौँ ।
आऊ एउटा कविता कोरौँ
शान्तिको मधुर ध्वनि छराैँ ॥
०००
-नन्दलाल आचार्यद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































