फित्काैली डटकमदेवकोटाको ११६औँ जयन्तीका अवसरमा कलाकार राजन काफ्ले तथा रञ्जु दाहाल सम्मानित
देवकोटाको ११६औँ जयन्तीका अवसरमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य नियात्राकार तथा नेपाली यात्रा साहित्यका प्रथम विद्यावारिधि निर्मोही व्यासले गर्नुभएको थियो ।

राैतहट, २०८१ कार्तिक १६ । शिव सावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको संयुक्त आयोजनामा चन्द्रपुर, रौतहटमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जयन्तीका अवसरमा चन्द्रमोहन अधिकारीद्वारा आफ्ना मातापिताका नाममा स्थापित शिवसावित्री अधिकारी कलासम्मानद्वारा ललितकलाकर्मी राजन काफ्लेलाई सम्मान गरेको छ ।
चार दशक लामो साधना गरेका चन्द्रनिगाहपुरका पुत्र ललितकर्मी राजन काफ्लेलाई चित्रकला तथा मूर्तिकलाका क्षेत्रमा सिद्धहस्त भइसकेका हुनाले सम्मान गरिएको हो । यसै गरी नियात्रा लेखनमा निरन्तर साधनारत नियात्राकार रञ्जु दाहाललाई सघन साधनाको छोटै समयमा नियात्रा विधामा दखल गरेका हुनाले साहित्यकार रमेशमोहन अधिकारीद्वारा आफ्नी भान्जी दिदीका नाममा स्थापित शकुन्तला ढुङ्गेल स्मृति नियात्रासम्मानद्वारा सम्मान गरिएको हो ।
रञ्जु दाहालका ‘प्रियसँगको यात्रा’ तथा ‘डोहोडोहो डोल्पो’ नियात्राकृतिहरू प्रकाशन भइसकेका छन् ।
सोही अवसरमा भएको माध्यमिक विद्यालयस्तरीय ‘छिमेकी हजुरआमा’ शीर्षकको कविता प्रतियोगितामा नमुना मावि गरुडाका राजन साह बनिया, श्री पाँच महेन्द्र जनता मावि कर्मैया सर्लाहीकी राधा श्रेष्ठ तथा मुनलाइट एकेडेमी चन्द्रपुरकी सुदिना श्रेष्ठ उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएका थिए । उत्कृष्ट विद्यार्थीहरूलाई जनही रु. एक हजारका साथै ‘संयात्राको संयोग’ नियात्राकृति उपहारका रूपमा प्रदान गरिएको थियो ।
कार्यक्रममा मधेस प्रदेशका सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका गणेशकुमार अधिकारी, रामचन्द्र पौडेल, लालबाबु शर्मा, घनश्याम पन्त, सुमित्रा आचार्य, जीवन आचार्य, गोविन्द काफ्ले, एस.पी. बराल, लक्ष्मण पौडेल, यज्ञ गौतमले आआफ्ना रचना सुनाउनुभएको थियो । यसै गरी सपूत कार्की, सञ्जय साह, रेणु गुप्ता, तेजविक्रम कार्की, लक्ष्मी श्रेष्ठ ‘रेशमी’, लक्ष्मण आचार्य, श्याम थापा, अभिजितकुमार राम, मोहम्मद इसहाक हुसैन, प्रदीप धनञ्जय, सीता शर्मा, मकवानपुरका वीणा पोखरेल तथा भारतीय गजलकार मोहम्मद कमरुद्दिन नदाफलगायतले कविता, मुक्तक, हाइकू, गजल आदि सुनाउनुभएको थियो ।
कार्यक्रममा रामचन्द्र कुशवाहा, रेणुका जिसी, बिन्दा साहनी, अनुप तिमल्सिनाजस्ता साहित्यकार तथा शिवचन्द्र शाह, विपीन विहारी सिंह, भरतप्रसाद अधिकारी, सीताराम दाहालजस्ता साहित्यसेवीहरूको पनि उपस्थिति थियो ।
कार्यक्रमको प्रमुख आतिथ्य नियात्राकार तथा नेपाली यात्रा साहित्यका प्रथम विद्यावारिधि निर्मोही व्यासले गर्नुभएको थियो ।
शिवसावित्री प्रतिष्ठान नेपालका महासचिव चन्द्रमोहन अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा सम्मानित स्रष्टाहरूबारे साहित्यकार रमेशमोहन अधिकारीले बोल्नुभएको थियो । प्रतियोगी कविताको निर्णय साहित्यकार शङ्कर भट्टराई तथा किसुनदयाल यादवले गर्नुभएको थियो ।
कवि राम आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्वागत बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीका अध्यक्ष लम्बोदर काफ्लेले तथा सभाध्यक्षता शिव सावित्री प्रतिष्ठान नेपालका अध्यक्ष उत्तममोहन अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रम चन्द्रनिगाहपुरको तराई होटल इनमा सम्पन्न भएको थियो ।
०००
-रमेशमाेहन अधिकारीकाे साैजन्यमा











































हार्दिक धन्यवाद फित्कौली !