फित्काैली डटकमप्रभास घिमिरेको निधनमा मकवानपुर शोकाकुल
आफ्नो अध्ययनका लागि वृन्दावन, भारत फर्कने तथा प्रवचक देवी प्रतिभाका साथमा कार्यक्रममा सहभागी हुनेक्रममा २१ गतेको यात्राले उहाँलाई सांसारिक यात्राबाट मुक्त गरिदियो ।

मकवानपुर, २०८१ कार्तिक २५ । प्रभास अर्थात् चारैतिर छरिएको उज्यालो; प्रकाश; ज्योति; दीप्ति । साहित्य सिर्जनामा उदाउँदो ज्योति नवसर्जक प्रभास घिमिरेको भौतिक शरीर हामीमाझ रहेन । कार्तिक २० गते आफ्नो अध्ययनका लागि वृन्दावन, भारत फर्कने तथा प्रवचक देवी प्रतिभाका साथमा कार्यक्रममा सहभागी हुनेक्रममा २१ गतेको यात्राले उहाँलाई सांसारिक यात्राबाट मुक्त गरिदियो ।
घिमिरेका साथ ६ जना सवार कार दुर्घटनामा परेपछि ३ जनाको निधन भइसकेको र बाँकी उपचाररत रहेको परिवारस्रोतबाट जानकारी प्राप्त भएको छ भने कार्तिक २३ गते त्रिवेणी धाम, हेटौँडामा स्वर्गीय घिमिरेको अन्तिम दाहसंस्कार गरिएको थियो ।
सिस्नुपानी नेपाल मकवानपुरद्वारा आयोजित राष्ट्रव्यापि खुला हास्यव्यङ्ग्य कविता प्रतियोगितामा द्वितीय स्थानले पुरस्कृत उहाँ हास्यव्यङ्ग्य सिर्जनाका साथै अन्य साहित्यिक गतिविधिहरूमा सक्रिय हुनुहुन्थ्यो । सिस्नुपानी नेपाल मकवानपुरद्वारा गत कार्तिक १० गते आयोजित देउसीभैलो कार्यक्रममा उहाँको प्रस्तुतिको हास्यव्यङ्ग्य प्रवचन प्रस्तुति नै अन्तिम कार्यक्रमका रूपमा रह्यो ।
नवसर्जक साहित्य चौतारीका संस्थापक तथा केन्द्रिय सदस्य घिमिरेको असामयिक निधनप्रति चौतारीले सोमबार अनलाइन माध्यममा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपानेले सहजीकरण गर्नु भएको कार्यक्रममा चौतारीका विभूति अधिकारी, सल्लाहकार डीबी बर्तौला, अर्चना दाहाल तथा साहित्यकार रमेशमोहन अधिकारीले घिमिरेको असामयिक निधनले मकवानपुर शोकाकुल रहेको बताउँदै उहाँका रचनाहरू सङ्ग्रहित पुस्तक प्रकाशन गर्नुपर्ने सल्लाह दिनुभयो ।
यस्तै सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलले प्रभास घिमिरे हास्यव्यङ्ग्य लेखनमा पछिल्लो पुस्ताका सक्रिय सर्जक रहनु भएको र उत्कृष्ट कार्यक्रमहरू दिनु भएको साथै उहाँसँगका व्यक्तिगत र संस्थागत सम्बन्धबारे अवगत गराउँदै अत्यन्त सम्भावना बोकेको एक स्रष्टाको अकस्मात निधनले साहित्यिक क्षेत्रमा अकल्पनीय क्षति भएको बताउनु भयो ।
१ मिनेटको मौन धारण गरिएको कार्यक्रममा नवसर्जक विभूति अधिकारीले घिमिरेका छन्द कविता वाचन गर्दै खण्ड काव्य प्रकाशनका लागि अनुरोध गर्नुभयो ।
चौतारीका संरक्षक तथा परिकल्पनाकार दीपक गौतमले साहित्यिक तथा धार्मिक वृत्तमा चीरपरिचित रहनु भएका स्वर्गीय घिमिरेका रचनाहरूको सङ्ग्रह ‘स्मृति ग्रन्थ’ प्रकाशन गरेर उहाँप्रति सच्चा सम्मान हुने र तिनै कृतिले उहाँ हामीमाझ चीरकालसम्म रहनुहुने बताउनुभयो । उहाँले २७ गते मङ्गलबार सर्जक सञ्जाल मकवानपुरको आयोजनामा परिवारजनलाई भेटेर उहाँप्रति श्रद्धासुमन व्यक्त गर्ने जानकारी गराउनुभयो ।
नवसर्जक साहित्य चौतारी नेपालका अध्यक्ष तथा श्रद्धाञ्जली कार्यक्रमका अध्यक्ष प्रशन्ना गौतमले रेडियो कार्यक्रमदेखि नै सहकार्य रहेकोमा अनुशासित र असल व्यक्तित्व प्रभास घिमिरेको असामयिक निधनले एक होनहार नवसर्जकको अभाव सदैव खड्किरहने र यस अकल्पनीय घटनाबाट मर्माहत भएको बताउँदै स्वर्गीय घिमिरेको आत्मा शान्तिको कामना गर्नुभयो ।
०००
-संप्रस पाैडेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest










































