फित्काैली डटकमदेवकोटा जयन्तीका अवसरमा सखी प्रतिष्ठानद्वारा सम्मान समर्पण
देवकोटा सङ्ग्रहालय मैतीदेवीमा भव्य रूपमा सम्पन्न कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा प्रमुख अतिथि सञ्चारकर्मी निर्देशक प्रकाश सायमी रहनु भएको थियो ।

काठमाडाैं, २०८१ कार्तिक २८ । कार्तिक २७ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन हो । महाकविको ११६ औं जन्मजयन्ती अवसर पारेर सखी प्रतिष्ठानले तथा सम्मान पुरस्कार समर्पण कार्यक्रम काे अायाेजना गरेकाे थियाे ।
देवकोटा सङ्ग्रहालय मैतीदेवीमा भव्य रूपमा सम्पन्न कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा प्रमुख अतिथि सञ्चारकर्मी निर्देशक प्रकाश सायमी रहनु भएको थियो ।
महाकविको प्रतिमालाई माल्यार्पण गरेर कार्यक्रमको शुरु गरिएको थियो ।अध्यक्ष मन्जिला अनिलद्वारा विशिष्ट अतिथिहरूलाई स्वागत गरिएको थियो ।
वरिष्ट नियात्राकार घनश्याम राजकर्णिकारलाई देवकोटा नियात्रा सम्मान २०८१, वरिष्ट आख्यानकार र गायिका पद्मावती सिंहलाई देवकोटा गीतकार सम्मान २०८१, वरिष्ट कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठलाई देवकोटा कलाकारिता सम्मान २०८१, साहित्यकार र सूचना आयोगका आयुक्त कमला ओलीलाई बाल साहित्य र समाजसेवा सम्मान २०८१ र डायस्पोरामा सक्रिय भए बापत् विनोद स्पन्दनलाई देवकोटा साहित्य पुरस्कार २०८१ प्रदान गरिएको थियो ।
सम्मानित, पुरस्कृत प्रतिभाहरूलाई टीका, सल ओढाएर, फूल माला र रुद्राक्षको माला सहित सम्मानपत्र प्रदान गरिएको थियो । स्पन्दन विदेश भएकाले उनका भाइ गणेश धिमालले पुरस्कार ग्रहण गरेका थिए ।
प्रमुख अतिथिको मन्तव्य राख्दै वरिष्ट पत्रकार तथा चत्रचित्रकर्मी र साहित्यकार प्रकाश सायमीले नेपाली साहित्यलाई विश्वमा पुर्याउँन गर्नु भएको प्रयासलाई हामीले बुझेर देवकाेटालाई विश्वमा पुर्याउने कार्यमा लागेमा मात्र उहाँप्रतिको सच्चा सम्मान हुने बताउँनु भयो ।
कार्यक्रममा महाकविका रचना– गीत कविताहरू विभन्नि स्रष्टाहरुले प्रस्तुत गर्नुभएको थियो । कवि मोमिलाले देवकोटामाथि लेखिएको आफ्नो निबन्ध वाचन गरेकी थिइन्, साहित्यकार किशोर पहाडीले ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत गाएका थिए । यसैगरी इन्दिरा ढकाल, मथुरा प्रधान, कमला रिसालले महाकविका रचनालाई गाएर श्रद्धा व्यक्त गरेका थिए । कवि मुरारि सिग्देलले महाकविको ‘भिखारी’ कविता वाचन गरेका थिए ।
झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराई ‘मञ्जरी’ले झ्याउरे छन्दमा महाकविको बारेमा लेखिएको कविता बाचन गरेकी थिइन् । कवि रिता खत्रीले महाकविबारे लेखिएको रचनावाचन गरेकी थिइन् । माननीय मीना श्रेष्ठले राजनीतिको कोट फुकालेर आफू एउटा कविको रूपमा महाकविलाई श्रद्धा व्यक्त गर्न उभिएको बताएकी थिइन् ।
कार्यक्रममा नियात्राकार प्रतीक ढकाल, पत्रकार एवम् राजनीतिकर्मी देवप्रकाश त्रिपाठीले महाकविको व्यक्तित्वबारे प्रकाश पारेका थिए । महाकविका छोरा डा.पद्मप्रसाद देवकोटाले अङ्ग्रेजी रचना वाचन गरी आफ्ना पिताको यस्तो कार्यक्रम आयोजन भएकोमा आयोजक सखीलाई धन्यवाद दिएका थिए ।
अनिलनाथ उप्रेतीको स्वर र सङ्गीत रहेको ‘मेरो जीवन कस्तो ’ गीत पनि सार्वजनिक गरिएको थियो । सखी प्रतिष्ठानकी उपाध्यक्ष गायिका कमला रिसालले देवकोटाको रचनालाई मधुर स्वरबाट गायन गरी उपस्थित पुरस्कृत, सम्मानित सबै अतिथिहरूलाई धन्यवाद दिएकी थिइन् ।
कार्यक्रममा देवकोटाकी भाञ्जी कमला उप्रेती, अनेसास क्यानडाका संस्थापक सुरेन्द्र उप्रेती, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी , कवि कृष्ण बाउसे, कवि शिव अधिकारी, कवि प्रद्युम्न जोशी, गीतकार सुबासचन्द्र ढुंगेल, गीतकार शिला पन्त, टीकाराम यात्री, कथाकार विक्रमभक्त जोशी, हरिश कल्पित, राज रजक, मिशन अधिकारी, मेधा उप्रेती, सुधिरनाथ उप्रेती र सपना उप्रेती लगायतको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रमलाई कवि भैरवी भूगोलको सुन्दर सञ्चालन रहेको थियो । विगत चार वर्ष अगाडि खोलिएको यस प्रतिष्ठानले विविध कार्यक्रम गर्दै आएको छ ।
०००
समाचार श्राेत : नेपाल बाेर्डर डटकम
Subscribe
Login
0 Comments
Oldest







































