साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुस्तक लोकार्पणसहित रचनावाचन शृङ्खला सम्पन्न

भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष स्रष्टा कविराज घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा सभापति भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष दीनानाथ पोखरेल तथा प्रमुख अतिथि प्राडा यज्ञश्वर निरौला हनुहुन्थ्यो ।

Nepal Telecom ad

भक्तपुर, २०८१ पुस २० । भक्तपुर बुढ्यौली साहित्य समाज तथा अनुशीलन नेपालको संयुक्त आयोजनामा स्रष्टा सावित्री खड्काद्वारा रचित आकाशको जून कवितासङ्ग्रह लोकार्पण तथा रचनावाचनको १२ औँ शृङ्खला भक्तपुरको अक्सफोर्ड प्राक्टिकल स्कुलको सभाकक्षमा सम्पन्न भयो ।

भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष स्रष्टा कविराज घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा सभापति भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष दीनानाथ पोखरेल तथा प्रमुख अतिथि प्राडा यज्ञश्वर निरौला हनुहुन्थ्यो ।

स्वर्णशिखा, इन्दुल, भावकेशर बराल, रत्ननिधि रेग्मी शुक्राचार्य, कृष्णप्रसाद पौडेल जस्ताघरे, धरणी गुरागाईँ, डा सीता सुवेदीलगायतका ३ दर्जन जति स्रष्टाको समुपस्थितिमा दोलखाली सर्जक सावित्री खड्काको आकाशको जून कविताकृति लोकार्पण भयो ।

उपस्थित स्रष्टाहरूलाई समाजका तर्फबाट रामशरण न्यौपानेले स्वागत गर्नुभएको थियो । तत्पश्चात् पुस्तक लोकार्पण गरिएको थियो। लोकार्पित पुस्तकबारे प्रमुख अतिथिले संक्षिप्त समीक्षा गरी आफ्नो टोपी शीर्षकको झ्याउरे लयका २ श्लोक कविता वाचन गरेपछि कार्यव्यस्तता देखाउँदै उहाँ बाहिरिनुभएको थियो।

तत्पश्चात् कवि स्वर्णशिखाले शुभकामनासहित भुजङ्गप्रयात छन्दको म शीर्षकको रचना वाचन गर्नुभयो। कवि इन्दुल केसीले शुभकामनासहित खोल हे बुद्ध आँखा कविताका वाचन गरेपछि पदम दाहाल तथा चेवन बस्नेतले कविता वाचन गर्नुभयो।

यसै क्रममा रत्ननिधि रेग्मी शुक्राचार्य लोकार्पित कृतिबाट मन्दाक्रान्ताको १ श्लोक र यो प्रश्न गुन्दै छु म शीर्षकमा मान्छेमा मानवता हराउँदै गएको सन्दर्भसहित शार्दूलविक्रीडितमा श्रुतिमधुर कवितावाचन गरेपछि अनुराग अरुण, शम्भु गजुरेल तथा श्याम मलजुले बहरमा गजल प्रस्तुत गर्नुभयो। स्रष्टा टिपी बराकोटीले झ्याउरेका २ र अनुष्टुपका २ श्लोक बुढ्यौली वयसम्बन्धी रचना प्रस्तुत गरेपछि यसै विषयमा अर्का स्रष्टा रामशरण न्यौपानेले कविता प्रस्तुत गर्नुभयो।

कवि धरणी गुरागाईँले आफ्नो १ श्लोक र लोकार्पित कृतिबाट शार्दूलविक्रीडितका केही श्लोक वाचन गरेपछि ज्ञानराज सुवेदीले प्राकृतिक विपत्ति विषयक स्वच्छन्द शैलीमा कविता प्रस्तुत गर्नुभयो। तत्पश्चात् डा सीता सुवेदी पञ्चचामरमा म देश हुँ शीर्षकमा राष्ट्रभक्तिको भावधारामा श्रुतिमधुर रचना पस्कनुभयो।

कार्यक्रममा बिके मकाजू वृद्धावस्थासम्बन्धी सुसेली गाएपछि कवि भावकेशर बरालले नयाँवर्षको शुभकामना शीर्षकमा नयाँवर्ष प्रतिका आशा र निराशा विम्बित मुक्तलयात्मक रचना कविता प्रस्तुत गर्नुभयो।

रामप्रसाद गुरागाईँले लोकार्पित कृतिका स्रष्टालाई शुभकामना दिएपश्चात् कुसुम घिमिरे अलबिदा मेरो मन शीर्षकमा मुक्तलयात्मक कविता वाचन गर्नुभयो। कवि मदनप्रसाद काफ्लेले पानीको पहिरो शीर्षकमा शिखरिणी छन्दमा बाढीपहिरोले निम्त्याएको विपत्तिको कलापूर्ण वर्णन गरेपछि कवि रामबहादुरले श्रद्धाञ्जली शीर्षकमा मुक्त लयात्मक कविता वाचन गर्नुभएको थियो।

कमला रिजालले यो देशलाई उठाउन शीर्षकको कविता वाचन गरेपछि क्रमश: रचना दाहाल र भावना न्यौपानेले लोकार्पित कृतिबाट शार्दूलविक्रीडितका हारिन्छ एकदिन र आमा शीर्षकका कविता वाचन गर्नुभयो।

यसै क्रममा श्रीबहादुर केसीले धुम्तीमा उभिएर मुक्तलयको रचना र कृष्णप्रसाद पौडेल जस्ताघरेले लोकार्पित कृतिबाट वसन्ततिलकाको १ श्लोक तथा टोपी शीर्षकमा भुजङ्गप्रयातमा टोपीविम्बका माध्यमबाट पुर्खाको गौरवगाथा प्रस्तुत गर्नुभयो।

एमबी पाण्डेले केही गजलका सेरहरु र गजलको शेर र देउडा गीतको एक टुक्रा प्रस्तुत गर्नुभयो। रुमा लम्सालले शृङ्गारिक भावभूमिको प्रतीकात्मक गजल पस्किएपछि शंकर वज्राचार्य शुभकामना सहित आफ्नो सारगर्वित मन्तव्य राख्नुभएको थियो। त्यसपछि लोकार्पित कृतिकी स्रष्टा सावित्री खड्काले आफ्नो काव्य रचनागर्भसहितको मन्तव्य राख्नुभएको थियो।

बुढ्यौली अवस्थासम्बन्धी मार्मिक रचना कविराज धिमिरेबाट प्रस्तुत भएपछि अन्त्यमा सभापतिको मन्तव्यसहित कार्यक्रम समापन समापन भयो।

०००
– भावकेशर बरालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x