फित्काैली डटकमडा. तीर्थबहादुर श्रेष्ठलाई ललितपुर प्रतिभा पुरस्कार
शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कार पहिलोपटक समर्पण गर्न लागिएको हो ।

काठमाडाैं, २०८१ माघ १० । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ वनस्पतिविज्ञ तथा लेखक डा. तीर्थबहादुर श्रेष्ठलाई समर्पण गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यो पुरस्कार पहिलोपटक समर्पण गर्न लागिएको हो । काठमाडौँमा जन्मेर ललितपुरमा बस्नुभएका उहाँ नेपालका सुप्रसिद्ध वनस्पतिविज्ञ हुनुहुन्छ । वनस्पतिका विषयमा उहाँद्वारा लिखित विभिन्न शोधलेखहरूका साथै नेपाली भाषामा ‘नेपाल अध्ययन (भाग १ र २)’ तथा ‘नेपाल नखुलेका पाटाहरू’ जस्ता र अङ्ग्रेजी भाषामा Development Ecology of the Arun River Basin in Nepal जस्ता कृतिहरू प्रकाशित छन् ।
त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको बताइएकाे छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।
ललितपुर जिल्लामा जन्मिएर वा ललितपुर जिल्लालाई कार्यस्थल बनाएर संस्कृति, वन्यजन्तु, वातावरण, विज्ञान–प्रविधि, खेलकुद जस्ता विधामध्ये कुनै एक विधामा अध्ययन–अनुसन्धान तथा प्रकाशनका माध्यमबाट राष्ट्रिय स्तरको योगदान गर्ने प्रतिभाशाली व्यक्तिलाई हरेक वर्ष समर्पण गर्ने गरी प्रा. डा. मुकेश — जनक चालिसेले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हाे ।
पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन वनस्पतिविज्ञ तथा लेखक डा. तीर्थबहादुर श्रेष्ठप्रति शब्दयात्रा प्रकाशनले हार्दिक आभार व्यक्त गरेकाे छ ।
०००
– हरि मञ्जुश्री काे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































