
दिवङ्गत हुनुभयाे ‘बसाईं’ कृतिका स्रष्टा लीलबहादुर क्षेत्री
‘बसाईं’ कृतिका स्रष्टा लीलबहादुर क्षेत्रीकाे अब हामी बिच रहनु भएन । उहाँकाे बिहीवार राति आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा निधन भएको छ।

गुवाहाटी, भारत , २०८१ फागुन २९ । ‘बसाईं’ कृतिका स्रष्टा लीलबहादुर क्षेत्रीकाे अब हामी बिच रहनु भएन । उहाँकाे बिहीवार राति आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा निधन भएको छ।
९२ वर्षका क्षेत्रीको जन्म सन् १९३३, १ मार्चका दिन गुवाहाटी टकौबारीमा भएको थियो । १६ वर्षको उमेरमा प्रकाशित पहिलो प्रकाशित कविता ‘शिवस्तुति’बाट नेपाली साहित्यमा प्रवेश गनुर्भएको उहाँको पहिलो उपन्यास ‘बसाइँ’ २०१४ सालमा प्रकाशित भएको थियो ।
यो उपन्यास साझा प्रकाशनबाट प्रकाशन हुन थालेपछि नेपाली भाषाको सर्वाधिक बिक्री हुने उपन्यासको समेत बन्याे ।
उहाँका ‘अतृप्ति’, ‘ब्रम्हपुत्रका छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यास प्रकाशित छन् । कथासङ्ग्रहमा उहाँका ‘तीन दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुरका कथाहरू’ तथा ‘छरिएको बिस्कुन’ प्रकाशित छन् ।
उहाँका ‘दोबाटो’, ‘माग’ तथा ‘शुरुको शुरु’ नाट्य कृति समेत प्रकाशित छन् । ‘असममा नेपाली भाषाको साह्राे–गाह्रो’, ‘पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत’, ‘झ्याउरे पार्टीमा लाग्दा’, ‘पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’, ‘सिमलको भुवा’, ‘अतीतका ऐनामा विविध झाँकीहरू’ लगायत गैरआख्यान कृतिहरू समेत प्रकाशित भएका छन् ।
क्षेत्रीले नेपाल तथा भारतका प्रतिष्ठित पुरस्कार तथा सम्मानहरू प्राप्त गर्नुभएको छ । ती पुरस्कारहरूमा मदन स्मारक व्याख्यानमाला सम्मान, वेदनिधि पुरस्कार, अगम स्मृति पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कार, नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार, हरिभक्त कटुवाल स्मृति पुरस्कार, जगदम्बाश्री पुरस्कार, बसुन्धराश्री पुरस्कार लगायत रहेका छन् ।
दिवङ्गत क्षेत्रीले भारतीय राष्ट्रपतिबाट भारतको प्रतिष्ठित पद्मश्री सम्मान (सन् २०२०) समेत प्राप्त गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest