रामशरण न्याैपानेनातिको चिन्ता
चिन्ता धेर छ नातिको हृदमा बल्दैछ आगो यहाँ बाजे लुब्ध र घातकी हुन पुगे लागेर दुष्कर्ममा लाग्यो हेर कलङ्क घोर कुलमै मेट्नै नसक्नेगरी पापी भ्रष्ट दलाल भन्छ दुनियाँ गर्जेर झन् बेसरी॥

रामशरण न्यौपाने :
चोला अम्मर छैन हो मनुजको जाइन्छ आफैँ मरी
यस्तो दुच्छर कार्य गर्नु किन हा ! आफू हुँदा सत्तरी
तृष्णा दूर गरेर नाम प्रभुको जप्दै बसुन् सुस्तरी
बाजेले अब राजनीति नगरुन् दुर्नाम हाम्रो गरी॥१
गर्दै शोषण देशको र जनको मारी स्वयं नै तर
बोकाई ऋणभार हा ! गरिबको छाती चिरी चर्चर
निन्दा धेर बढ्यो समाज बिचमा साह्रै गनायो घर
जम्मा धेर गरेर कृष्ण धन को मर्दासँगै लान्छ र ?॥२
अत्याचार गरी कमाउन गई के काम कालो धन ?
आफै कर्म गरी स्वनाम धनले धानिन्छ यो जीवन
अर्को व्यक्ति रुवाउँदै खुसहुने मानिन्न जाती नर
ठान्छन् हिंस्रक जन्तुतुल्य सबले ओडार बन्छन् घर॥३
चिन्ता धेर छ नातिको हृदमा बल्दैछ आगो यहाँ
बाजे लुब्ध र घातकी हुन पुगे लागेर दुष्कर्ममा
लाग्यो हेर कलङ्क घोर कुलमै मेट्नै नसक्नेगरी
पापी भ्रष्ट दलाल भन्छ दुनियाँ गर्जेर झन् बेसरी॥४
बेला छैन खुलेर हिँड्न सकिने ठाडो गराई शिर
आफ्नै माथ नुहुन्छ लाज घिनले लागेर साह्रै पिर
मर्यादा पनि हुन्न यो मुलुकमा पुस्तौँ घृणामा परी
साह्रै निन्दित बन्नु पर्दछ सधैँ आधा मरे झैँ गरी॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































