फित्काैली डटकम‘प्रतीक ढकाल नियात्रा सौरभ’ सलोन कार्थकलाई अर्पण
नियात्राकार इल्या भट्टराईले स्रष्टा सलोन कार्थकलाई रातो टीका लगाइदिइन्, प्रा.डा. खगेन्द्रप्रसाद लुुइटेलले दोसल्ला ओढाए, डा. सावित्री कक्षपतिले माल्यार्पण गरिन्, पुरस्कार संस्थापक इ. प्रज्ञा ढकाल तथा इ. निरज रजौरेले नगद थैली अर्पण गरे अनि प्रमुख अतिथि घनश्याम राजकर्णिकारले सम्मानपत्र अर्पण गरे ।

काठमाडौँ , २०८२ जेठ १३ । प्रमुख आतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार । सभाध्यक्ष पर्वतीय साहित्य समाजका अध्यक्ष तथा जयन्ता–पवित्रा ढकाल कोषका संरक्षक प्रतीक ढकाल । विशेष अतिथिहरुमा कीर्तिमानी यायावर तथा युवा कुटनीतिज्ञ प्रदीप खनाल, त्रि.वि. नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, साहित्यकार डा. सावित्री मल्ल कक्षपती, नियात्राकार इल्या भट्टराई, पर्वतारोहण व्यवस्थापन संघका अध्यक्ष डम्बर पराजुली, सगरमाथाको उचाइ नाप्ने सर्भेयर तथा साहित्यकार खिमलाल गौतम, पूर्वप्रशासक तथा उपन्यासकार केदार पनेरु, पुरस्कार संस्थापकबाट प्रतीक ढकालकी छोरी प्रज्ञा ढकाल, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाई लगायत ।
अतिथिहरुमा कवि तथा समाजका उपाध्यक्ष भुवनहरि सिग्देल, नाट्यकर्मी अशेष मल्ल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कवि तथा गीतकार दिनेश अधिकारी, गीतकार बुद्धवीर लामा लगायतको भव्य उपस्थिति । दर्शकदीर्घामा उत्तिकै विशिष्ट साहित्यकारहरु ।
कार्यक्रमकी सञ्चालक तथा समाजकी सचिव भवानी खतिवडाले मधुर र लयात्मक स्वरमा पानसमा बत्ति बालेर कार्यक्रम समुद्घाटन गर्न आग्रह गरिन् । त्यही बेला पृष्ठभूमिमा बज्यो जन्मदिनको शुभकामना गीत । सहभागी सबैले ताली बजाए । जन्मदिनको शुभकामनाका स्वरले हल नै गुन्जयमान भयो ।
समाजका अध्यक्ष प्रतीक ढकालको जन्मदिन पारेर यो भव्य कार्यक्रमको आयोजना गरिएको छ । भारतको दार्जिलिङ, रिम्बिकका स्रष्टा सलोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ’ अर्पण गर्ने कार्यक्रम । जयन्ता–पवित्रा ढकाल कोषले स्थापना गरेको यो पुरस्कार पर्वतीय साहित्य समाजले स्रष्टा कार्थकलाई अर्पण गर्न लागेको हो । २०७५ सालमा स्थापित पुरस्कारको यो सातौ संस्करण हो ।
नियात्राकार इल्या भट्टराईले स्रष्टा सलोन कार्थकलाई रातो टीका लगाइदिइन्, प्रा.डा. खगेन्द्रप्रसाद लुुइटेलले दोसल्ला ओढाए, डा. सावित्री कक्षपतिले माल्यार्पण गरिन्, पुरस्कार संस्थापक इ. प्रज्ञा ढकाल तथा इ. निरज रजौरेले नगद थैली अर्पण गरे अनि प्रमुख अतिथि घनश्याम राजकर्णिकारले सम्मानपत्र अर्पण गरे । तालीले गुञ्जयमान सभा हलले नै स्रष्टा कार्थकको भव्य सम्मान गर्यो ।
यो पुरस्कारको राशी ५५ हजार नगद रहेको छ । ‘जीवित छँदैको सम्मान, स्रष्टाको वास्तविक सम्मान’ भन्ने मूल नारासाथ समाजले यो पुरस्कार दिँदै आएको छ । नेपाली नियात्रा क्षेत्रमा योगदान गर्ने स्रष्टालाई समाजले यो पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । कोषले घोषणा गरेको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ पुरस्कार पहिलो पटक २०७६ सालमा डा. तारानाथ शर्मालाई समर्पण गरिएको थियो । त्यसपछि क्रमशः डा. सत्यमोहन जोशी (२०७७), देविचन्द्र श्रेष्ठ (२०७८), भुवनहरि सिग्देल (२०७९), गीता खत्री (२०८०), घनश्याम राजकर्णिकार (२०८१) लाई यो पुरस्कार समर्पण गरिसकिएको छ । यही सिलसिलालाई निरन्तरता दिँदै सातौँ संस्करण अर्थात् वि.सं. २०८२ को यो पुरस्कार सलोन कार्थकलाई समर्पण गरिएको हो ।
यसैगरी गएको एक वर्षको अवधिमा नेपाल, भारत, चीन, पाकिस्तान, बाङ्लादेश र श्रीलङ्का गरी छ वटा देशका ॐकार परिवारभित्रका चार सय पचासभन्दा बढी तीर्थस्थलको भ्रमण गरी एसियाली रेकर्ड बुुकमा अभिलिखित भएका अथक यायावर तथा युवा कूटनीतिज्ञ प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमानी यायावर सम्मान’ बाट सम्मानीत गरियो ।
प्रदीप खनाललाई मोहन चापागाईंले रातो टीका लगाइदिए, खिमलाल गौतमले दोसल्ला ओढाए, डम्बर पराजुुलीले माल्यार्पण गरे, इ. प्रज्ञा ढकालले नगद थैली अर्पण गरिन् भने प्रमुख अतिथि घनश्याम राजकर्णिकारले सम्मानपत्र अर्पण गरे । यो पुरस्कारको राशी ५१ हजार नगद रहेको छ । यो पुरस्कार समाजले पहिलो पटक खनाललाई प्रदान गरिएको हो ।
सम्मान ग्रहणपछि बोल्दै कार्थकले आफ्नो साहित्यिक यात्रा भित्रेपत्रिकाबाट शुरु भएको जानकारी गराए । लैनसिंह वाङ्देल, ताना शर्मा पढ्दै जाँदा आफूलाई नियात्रा लेखनमा अभिरुचि जागेको उनले बताए । कहिले नभेटेको, नचिनेको व्यक्ति तथा संस्थाबाट र अपेक्षा नगरिएको पुरस्कार प्राप्त गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरे । उनले भने, ‘नियात्रा विधाको उन्नयन गर्ने हेतुले यो पुरस्कार प्रदान गरेकोमा आफू, आफ्नो परिवार तथा सम्पूर्ण दार्जिलिङबासीको तर्फबाट धन्यवादसहित यो पुरस्कार ग्रहण गर्दछु ।’
अर्का पुरस्कृत स्रष्टा प्रदीप खनालले आफूले कहिले पनि पुरस्कारका लागि काम नगरेको र पुरस्कार पाउँछु भन्ने अपेक्षा नगरेको बताए । अनपेक्षित नगदसहितको सम्मानले आफू कृतज्ञ भएको उनले बताए । ‘काम गर्दै जाँदा सम्मान र पुरस्कार पनि प्राप्त हुँदो रहेछ भन्ने मलाई आज थाहा भयो’ उनले भने । २०२३ को मध्यदेखि २०२४ को माध्यसम्म पशुपतिनाथदेखि ४ आदिशक्तिपिठ, १८ महाशक्तिपिठ, ५२ शक्तिपिठ, १०८ सिद्धपिठ, ४ धाम, सप्त पुरी, १२ ज्योतिर्लिङ्ग, शिख धर्मका ११, बुद्ध धर्मका १३ र अरु धर्मका गरी एक वर्षमा ४५० तीर्थको भ्रमण गर्न सकेको उनले उल्लेख गरे । यात्रा गरिएका स्थानको बारेमा लेखन कार्य भइरहेको र चाँडै बहुभाषामा पुस्तककृति प्रकाशित गर्ने पनि उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घनश्याम राजकर्णिकारले भारतमा बसेर नेपाली भाषामार्फत साहित्य सेवामा लागेका सलोन कार्थकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । यो कार्यक्रम नेपाली नेपाली एक हौं भन्ने भावनाको मूर्त उदाहरण भएको उनको भनाइ छ ।
कार्यक्रममा साहित्यिकार डा. सावित्री मल्ल कक्षपति, मोहन चापागाईं, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल लगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रम समापन गर्दै सभाध्यक्ष तथा समाजका अध्यक्ष प्रतीक ढकालले निक्कै रोचक मन्तव्य दिए । स्रष्टा र अतिथिहरुको विशेष परिचय प्रस्तुत गर्दै ढकालले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest






































