साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोजराज रेग्मी मुखालेका दुई हास्यव्यङ्ग्य कृतिमाथि अन्तर्क्रिया

फित्कौली डटकमले पद्मोदयमोड स्थित  ग्रीनलिफ रेष्टुराँको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेल प्रमुख आमन्त्रित हुनुहुन्थ्यो । पौडेलले एकैपटक जुम्ल्याहा कृति जन्माउने मुखालेलाई बधाई दिँदै विधागत स्पष्टताका लागि स्रष्टा सचेत रहनु पर्ने बताए ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असार ६ । भोजराज रेग्मी मुखालेका हालै प्रकाशित दुई हास्यव्यङ्ग्य कृति ‘औडाहा डटकम’ र ‘जङ्गबहादुरको फ्रेन्डरिक्वस्ट‘मा केन्द्रित रहेर अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भयो ।

फित्कौली डटकमले पद्मोदयमोड स्थित  ग्रीनलिफ रेष्टुराँको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेल प्रमुख आमन्त्रित हुनुहुन्थ्यो । पौडेलले एकैपटक जुम्ल्याहा कृति जन्माउने मुखालेलाई बधाई दिँदै विधागत स्पष्टताका लागि स्रष्टा सचेत रहनु पर्ने बताए ।

कृति प्रकाशक फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेलले नेपाली हास्यव्यङ्ग्य सम्बर्धनका निम्ति अनलाइन पत्रिका, कृतिहरूको प्रकाशन, हास्यव्यङ्ग्य युटुव च्यानलका साथै हास्यव्यङ्ग्य लेखनमा उत्प्रेरणा र प्रोत्साहनका निम्ति हरेक वर्ष ५ जना स्रष्टालाई सम्मानित र पुरस्कृत गर्दै आएको बताएका थिए । उनले २०८० को दशकलाई नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण दशक बनाउने अभीष्टका साथ फित्कौली हास्यव्यङ्ग्य अभियानमा समर्पित रहेको बताए ।

जुम्ल्याहा कृतिका स्रष्टा भोजराज रेग्मी मुखालेले रचना गर्भ उल्लेख गर्दै कार्यक्रममा समुपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा प्रतिक ढकाल, भवानी खतिवडा, भारती न्यौपाने र हेम भण्डारीले कृति प्रकाशनका लागि मुखालेलाई शुभकामना एवम् बधाई दिएका थिए ।

कार्यक्रममा दुवै कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै डा. रमेश शुभेच्छुले वर्तमान राजनीतिक विसङ्गतिलाई प्राथमिकतासाथ दुवै कृतिले मनोरञ्जक प्रहार गरेको बताए । उनले विकृत परिवेशमाथि बिम्बात्मक अभिव्यक्तिले कृतिहरू सुन्दर र मनोरञ्जक बनेको उल्लेख गर्दै व्यङ्ग्य सिर्जना गर्नु बढी जिम्मेवारीको कर्म हो भने ।

अर्का समीक्षक डा. नवराज खतिवडाले हास्यव्यङ्ग्यको सैद्धान्तिक प्रस्थापनाहरूको चर्चा गर्दै भैरव अर्याल, मोहनराज शर्मा, डा. माधवप्रसाद पोखरेल, भाउपन्थी, नरेन्द्रराज पौडेल, नरनाथ लुइँटेल लगायतका कथनहरू उठाउँदै सिद्धान्तका कसीमा मुखालेका रचना उम्दा रहेको बताए ।

‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ माथि केन्द्रित भएर समीक्षात्मक टिप्पणी गर्दै डा. भरतकुमार भट्टराईले बलशाली व्यङ्ग्य कथाहरूको कृति हो भने । सङ्ग्रहमा परेका ‘देखाउने दाँत’, ‘एक पित्को प्रेम’, ‘प्रोफेसर भाइरल’, ‘गोलचक्कर’ जस्ता व्यङ्ग्य कथाले युगान्त प्रभाव छाडेको बताउँदै मुखालेको भाषिक सामर्थ्य प्रशंसनीय रहेको बताए ।

कथाशिल्पी मन्दिरा मधुश्रीले कथाकृतिमाथि टिप्पणी गर्दै सङ्ग्रहका हास्यव्यङ्ग्यात्मक कथाले कतै हाँसोको खित्का छुटाउँने त कतै व्यङ्ग्यले मनै चिसो पार्ने बताइन् । उनले कथाका पात्रहरूको नामका र उनीहरूको चरित्र बीच गजपको समन्वय पाइन्छ, उखान र टुक्कालाई नवीकृत गर्नु मुखालेको विशेषता देखिएको र यसले कथालाई बढी रोचक र व्यङ्ग्यात्मक कला प्रदान गरेको उल्लेख गरिन् ।

कार्यक्रममा पवन आलोक र श्रीओम श्रेष्ठले फित्कौलीको अभियान अत्यन्त सार्र्थक र प्रभावशाली रहेको, छोटो अवधिमै धेरैको ध्यान खिच्न सकेको बताउँदै मुखाले र फित्कौली दुवैलाई शुभकामना प्रदान गरेका थिए ।

अर्का वक्ता हेम भण्डारी र भारती न्यौपानेले निस्क्रिय र सिथिल हुँदै गएको हास्यव्यङ्ग्य लेखन अब नयाँ उर्जासहित प्रस्तुत हुनु सुखद सन्दर्भ रहेको बताउँदै कृतिकारलाई हार्दिक बधाई दिएका थिए ।

लोकप्रिय समीक्षा लेखक अनिता कोइरालाद्वारा सहजीकरण तथा सञ्चालन गरिएको कार्यक्रममा हास्यव्यङ्ग्यप्रति रुचि राख्ने हास्यव्यङ्ग्यकर्मीहरू देवीप्रसाद चापागाइँ, चक्र दवाडी, तारानिधि भट्टराई, डा.लोकेन्द्रप्रसाद पौडेल, मरुभूमि नारायण,  नगेन्द्रराज रेग्मी, खगराज बराल, मिरमा सुवेदी, लक्ष्मी रेग्मी, डिल्लीरमण सुवेदी लगायतका उल्लेख्य स्रष्टा एवम् द्रष्टाहरूको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x