फित्काैली डटकम‘हाम्रो मगरजोङ’ पत्रिकाको लोकार्पण कार्यक्रम
कार्यक्रममा कवि तथा गीतकार मदन ओझाको प्रमुख अध्यक्षता, पोख्रेबुङ -३, का पञ्चायत प्रधान विकास शङ्करको प्रमुख आतिथ्य तथा अमर दुङ्मालीको विशिष्ट आतिथ्य रहेको थियो ।

दार्जिलिङ / २२ जून २०२५ अर्थात् ८ असार २०८२ आइतवारको दिन भारतीय भूमिको दार्जिलिङ जिल्लाअन्तर्गत मगरजोङमा ‘हाम्रो मगरजोङ’ नामक समसामयिक साहित्यिक पत्रिका प्रवेशाङ्कको विधिवत रूपमा लोकार्पण गरियाे ।
मगरजोङ दारीगाउँ सार्वजनिक भवनमा सम्पन्न कार्यक्रममा कवि तथा गीतकार मदन ओझाको प्रमुख अध्यक्षता, पोख्रेबुङ -३, का पञ्चायत प्रधान विकास शङ्करको प्रमुख आतिथ्य तथा अमर दुङ्मालीको विशिष्ट आतिथ्य रहेको थियो ।
दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेपश्चात् विजेन्द्र राई, शारदा स्टेफी, डी के थापा, मालामित सुब्बाले गीत प्रस्तुत गरे । यसै कार्यक्रमको अवसरमा सन्ध्यामित लेप्चा, दावा तामाङ, मनोहर शर्मा, दीप प्रधान, निश्चल राई काले र सेवन ओझा आदिले कविता वाचन गरेका थिए ।
विशिष्ट अतिथि अमर दुङमालीले कार्यक्रममा वाचित कविताहरूको समीक्षा राख्दै स्वर्गीय विनोद स्याङ्देन र आजका अध्यक्ष कवि एवम् गीतकार मदन ओझाको योगदानको चर्चा गरेका थिए ।
प्रमुख अतिथि विकास शङ्करले भने साहित्यिक पत्रिकाहरूको निम्ति तन, मन, धन र वचनले सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । यसै सन्दर्भलाई जोड्दै अध्यक्ष मदन ओझाले पत्रिका परिवारलाई शुभकामना व्यक्त गरे ।
भर्खरै लोकार्पित नेपाली साहित्यिक पत्रिकाका सम्पादक दिपेन प्रधानले पत्रिका निकाल्दाको बाधाअड्चनहरूमाथि प्रकाश पार्दै सम्पूर्ण लेखक अनि सहयोगीहरूप्रति आभार व्यक्त गरेका थिए ।
त्यसैगरी “हाम्रो मगरजोङ” पत्रिकामाथि समीक्षात्मक टिप्पणी कृष्णप्रसाद ठटालले राख्दै मगरजोङ शब्दको उत्पत्ति र प्रयोगमाथि व्यापक चर्चा गरेका थिए । यसैलाई जोड दिँदै प्रधान सम्पादक भक्त प्रधानले आफ्नो भनाइ प्रस्तुत गरी धन्यवाद ज्ञापन गरेका थिए ।
मनको साइनो परिवारको आयोजना, प्रशान्त प्रधानको स्वागत मन्तव्य रहेको कार्यक्रममा सन्तराज मग्रातीको सहजीरण रहेको कथाकार दीप प्रधानले जानकारी दिए ।
०००
फित्कीली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest







































