साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सरोवरको ४४ औँ श्रृङ्खलामा दहीचिउरासँगै असारे गीत

असारे गीतको लोक गीति परम्पराको अध्ययन र लेखनमा सक्रिय डा. बालचन्द्र मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता गोपीचन्द्र कार्कीले गर्नु भएको थियो भने विशेष अतिथि हुनुहुन्थ्यो हास्यव्यङ्ग्य साहित्यकार नरनाथ लुइँटेल ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असार १४ । चन्द्रागिरी नगर क्षेत्रमा क्रियाशील साहित्यिक संस्था चन्द्रागिरी साहित्य सरोवरको ४४ औँ श्रृङ्खला असार १५, असारे (काँठे) गीत विशेष प्रस्तुतिका रूपमा सम्पन्न भयो ।

असारे गीतको लोक गीति परम्पराको जगेर्ना र संरक्षणका निम्ति अध्ययन–अनुसन्धान र लेखनमा सक्रिय डा. बालचन्द्र मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता गोपीचन्द्र कार्कीले गर्नु भएको थियो भने विशेष अतिथि हुनुहुन्थ्यो हास्यव्यङ्ग्य साहित्यकार नरनाथ लुइँटेल ।

सामुहिक राष्ट्रियगान पछि कार्यक्रममा सहभागी स्रष्टाहरूलाई स्वागत गर्दै गोपीचन्द्र कार्कीले असारे भाकामै लेखिएको गीति सिर्जना सुनाउनु भएको थियो ।

कार्यक्रममा कृष्ण बस्नेत, सुभद्रा महत, राजुप्रसाद लामिछाने, नानीबाबा अधिकारी, जगन्नाथ तिमल्सिना, कृष्णबहादुर कार्की, सकुन्तला कार्की, श्रीकृष्ण भारती, सकुन्तला लुइँटेल र हरिशरण आचार्यले असार विषयमै केन्द्रित र असारे लोकलयमा सिर्जित रचना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अन्य स्रष्टाहरू सङ्गीता खरेल, तिलक गाउँँले, विद्याकुमारी बज्राचार्य, कृष्ण घिमिरे, ऋषिराम भुषाल, सुदन लुइँटल र बालस्रष्टा साम्राज्ञी आचार्यले आआफ्‌ना समसामयिक गीत, चारु, गजल, मुक्तक, लघुकथा एवम् कविता सिर्जना सुनाउनु भएको थियो ।

कार्यक्रमको अन्त्यतिर स्थानीय शोभा तामाङ र अञ्जु कार्कीहरूको समूहले असार पन्ध्र केन्द्रित काँठे भाकाको गीति प्रस्तुतिले विशेष रौनक थपेको थियो ।

विशेष अतिथि नरनाथ लुइँटेलले यस भेकको लोक परम्परामा अनादिकालदेखि मुखमुखै गाइँदै आएको काँठे भाकाको गीतलाई सम्भवत पहिलो पटक अक्षर र छापामा ल्याउने धादिङका केवलपुरे किसान हुन् भन्नु भयो । उहाँले कवि किसानद्वारा लेखिएको र २००९ सालमै प्रकाशित ‘बाघ आयो’ शीर्षकको काँठे भाकाको गीति अंश गाएर उदाहरण प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले आफ्‌नो काँठे भाकामै रचित सामयिक व्यङ्ग्य गीत पनि सुनाउनु भयो ।

प्रमुख अतिथि डा. बालचन्द्र मिश्रले परम्परादेखि प्रचलित काँठे लोकभाका पहिलो पटक आफ्‌नै आमाबाट सुनेको बताउँदै यस भेकको यो सम्पदा हराउँदै गएकोमा यसको जगेर्ना र संरक्षणका लागि खोज अनुसन्धान र लेखनमा लागेको बताउनु भयो । उहाँले विभिन्न सन्दर्भमा आफूले लेखेका काँठे भाकाकै गीति सिर्जनाका अंशहरू प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा सुनाइएका सिर्जनाहरूको संक्षिप्त समीक्षा समेत गर्नु भएको थियो ।

तीनथाना स्थित मुनाल क्लबको सभाकक्षमा सम्पन्न कार्यक्रममा २१ जनाका रचना प्रस्तुति रहे पनि काशीराज दाहाल, तेजप्रकाश श्रेष्ठ लगायत ५२ जनाको सहभागिता रहेको थियो भने साहित्य सरोबर सम्बद्ध बिमला महर्जन भण्डारीले कार्यक्रमको सुसञ्चालन गर्नु भएको थियो ।

चन्द्रागिरी साहित्य सराेवरकाे याे कार्यक्रमलाइ उज्यालो सामुदायिक सिकाइ केन्द्र चन्द्रागिरीले साथ र सहयोग प्रदान गरेकाे छ ।

कार्यक्रममा सहभागीहरूलाई असारे खाजाका रूपमा आलुको अचारसहित दहीचिउरा खुवाइएको थियो ।

०००
–गोपीचन्द्र कार्कीको सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x