फित्काैली डटकम‘विद्यार्थीसँग मिलन समीर’ कार्यक्रम सम्पन्न
युवा कवि तथा सिर्जनशील साहित्यिक अभियन्ता मिलन समीरसँग केन्द्रित रहेर गरिएको "सिर्जनशील संवाद" को पहिलो शृङ्खला "विद्यार्थीसँग मिलन समीर" कार्यक्रम सम्पन्न भएको छ ।

वालिङ, स्याङ्जा २०८२ असार २० । युवा कवि तथा सिर्जनशील साहित्यिक अभियन्ता मिलन समीरसँग केन्द्रित रहेर गरिएको “सिर्जनशील संवाद” को पहिलो शृङ्खला “विद्यार्थीसँग मिलन समीर” कार्यक्रम सम्पन्न भएको छ ।
वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीमा शुक्रबार कार्यक्रम गरिएको हो । साइन भिलेज इन्टरनेशनल एकेडेमीले आयोजना गरेको “सिर्जनशील संवाद” को पहिलो शृङ्खला “विद्यार्थीसँग मिलन समीर” कार्यक्रमको सहजीकरण कक्षा १० कि छात्रा सिमरन खड्काले गरेकी थिइन् ।
सिर्जनशील संवादको क्रममा पाठ्यपुस्तकदेखि बाहिरका पुस्तकको अध्ययनको महत्व, सिर्जनशील लेखन भनेको के हो ? सिर्जनशील लेखनको महत्त्व र अभ्यास, मिलन समीर नामको अन्तर्कथा, विद्यार्थी जीवनमा पाठ्यपुस्तकसँग सम्बन्धित कविता, कथा, निबन्ध, संवाद र दैनिकी जस्ता विविध विधा लेखन- अभ्यासको माध्यमबाट हुने साहित्यको विकासदेखि लिएर साहित्यिक लेखनको सुधारसँगै निखारतासँग सम्बन्धित रहेर सिर्जनशील संवाद गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक गौरव सुवेदीले विद्यार्थीहरुलाई अग्रज पुस्ताको जीवन्त अनुभव र अनुभुतिसँग साक्षात्कार गराएर जीवनप्रति सदैव सकारात्मक सोचको विकास गर्दै सिर्जनशील सिकाइलाई दिगो बनाउनका लागि हरेक महिनाको तेस्रो शुक्रबार नियमितरूपमा आयोजना गरिने योजनासहित “सिर्जनशील संवाद” शृङ्खलात्मक कार्यक्रमको शुरूवात गरिएको र आगामी दिनमा समाजका विविध क्षेत्रमा क्रियाशील उदाहरणीय अग्रज व्यक्तित्वहरुलाई विद्यालयमा निमन्त्रणा गरेर विद्यार्थीहरुको माझमा “सिर्जनशील संवाद” को शृङ्खलालाई अगाडि बढाइने जानकारी दिए ।
स्मरण रहोस्, यस्तो किसिमको कार्यक्रम स्याङ्जाको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो ।
करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर युवा पुस्ताका सशक्त कविको रूपमा स्थापित छन् । समीर स्याङ्जाको साहित्यिक जगतमा सिर्जनशील साहित्यिक अभियन्ताको रूपमा परिचित छन् । स्याङ्जाको व्यापारिक केन्द्रको रूपमा रहेको वालिङ बजार समीरकै विशेष अग्रसरतामा पछिल्लो समय साहित्यिक केन्द्रको रूपमा स्थापित हुँदै गएको साहित्यिक जानकारहरु बताउँछन् ।
उनका हालसम्म गाउँमा साइरन बजेपछि ( कवितासङ्ग्रह- २०६९), प्रिय दुश्मन ( शृङ्खला कविता- २०७९), मिलन समीर र मिलन समीरहरु (शृङ्खला कविताहरु- २०८०) र मिलनमन्त्र (मायालु मुक्तकहरु- २०८०) लगायतका पुस्तकहरु प्रकाशित भइसकेका छन् भने समीरसूत्र (प्रेमिल गजलहरु) प्रेसमा गएको छ ।
गल्याङ प्रज्ञा प्रतिष्ठानको संस्थापक सचिव, वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संस्थापक संयोजक, नेपाली लेखक संघको केन्द्रीय सचिवको रूपमा नेपाली भाषा- साहित्यको स्तरोन्नतिको सन्दर्भमा विशेष क्रियाशील हुँदै आएका समीर स्थानीयदेखि लिएर राष्ट्रियस्तरका थुप्रै सम्मान / पुरस्कारद्वारा सम्मानित/पुरस्कृत भइसकेका छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest






































