साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘छालबाटो’ कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्ने घोषणा

दीर्घसाधक रमा शर्मालाई पद्मश्री साधना सम्मान र प्रा.डा. अभिनारायण सुवेदीलाई पद्मश्री गौरव पुरस्कार प्रदान गर्ने कुरा पनि प्रतिष्ठानले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

Nepal Telecom ad

चितवन, २०८२ भदाै १५ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले ‘छालबाटो’ कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्ने घोषणा गरेको छ ।

दीर्घसाधक रमा शर्मालाई पद्मश्री साधना सम्मान र प्रा.डा. अभिनारायण सुवेदीलाई पद्मश्री गौरव पुरस्कार प्रदान गर्ने कुरा पनि प्रतिष्ठानले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

प्रतिष्ठानले वि.सं.२०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको हो । वि.सं.२०८१ मा प्रकाशित तथा यस प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित भएको थियो । त्यसबारे समाचार ‘शब्दपथ’मा पहिल्यै प्रकाशित भइसकेको छ । ‘छालबाटो’ रमेश भुसालको संस्मरणात्मक कृति हो ।

प्रेस विज्ञप्तिअनुसार रमेश भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा समेटेको छ ।

यसरी नै नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई प्रत्येक वर्ष नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको हो ।

आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।

त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा. डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा. डा.अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उहाँ साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय हुनुहुन्छ ।
यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने कुरा आज भदौ १५ गते प्रकाशित प्रेसविज्ञप्तिमा जनाइएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x