फित्काैली डटकमनेपाल प्रज्ञा-प्रतिष्ठानमा बहुभाषिक कविगोष्ठी सम्पन्न
बहुभाषिक सिर्जना वाचन कार्यक्रममा नेपालीभाषा, विभिन्न मातृभाषा र अङ्ग्रेजीभाषामा गरी ५९ जना कविहरूले प्रज्ञा- प्रतिष्ठानको देवकोटा कक्षमा कविता वाचन गर्नुभएको थियो।

काठमाडौँ, २०८२ असाेज २३ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गैरआवासीय नेपाली सङ्घ, भाषा साहित्य समितिको सहकार्यमा’साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रमको आयोजना गरिएको थियो। गैरआवासीय नेपाली सङ्घको २२ औँ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको थियो ।
प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र विशिष्ट अतिथि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
बहुभाषिक सिर्जना वाचन कार्यक्रममा नेपालीभाषा, विभिन्न मातृभाषा र अङ्ग्रेजीभाषामा गरी ५९ जना कविहरूले प्रज्ञा- प्रतिष्ठानको देवकोटा कक्षमा कविता वाचन गर्नुभएको थियो।
कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाले नेपाली भाषा रअर्का प्रज्ञासभा सदस्य जनक रसिकले डोट्याली भाषामा कविता वाचन गर्नुभएको थियो ।
कविगोष्ठीमा प्रा.डा. गाेविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी धड्कन, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, रश्मि थापा, सिर्जना सरोवर, जानकी गुरुङ, सुशीला राई, राधिका कल्पित, विजय हितान, शशी श्री आचार्य, रश्मि रिमाल, याेगराज राजन, सुनिल आङ्बाे,रविन्द्र आशिष, जाँयस जया, उत्तम तुम्सा, जमुना पाैडेल, कर्ण दयाल, दिपा लक्सम र निरन्ती तुम्बापाेले नेपाली भाषामा आआफ्ना कविता वाचन गर्नुभएको थियो ।
मातृभाषाका कवि अञ्जु राजवंशी (राजवंशी), ओमकृष्ण श्रेष्ठ (नेपालभाषा), जगत् वशिष्ठ (खस), गणेश वाम्बुले राई (वाम्बुले), डम्बर थामी (थामी), निशेष आङ्देम्बे (याक्थुङ), पदम बालाहाङ राई (बान्तावा), पेम्बा गेलु शेर्पा (शेर्पा), भूमिका थारु (डङ्गौरा थारु), राकेशबहादुर बुढा मगर (खाम मगर), आलाेक तिवारी (अवधी), शर्मिला राना थारु (राना थारु), शोभा सुनुवार (सुनुवार), रचना माेक्तान तामाङ (तामाङ), स्नेहा झा (मैथिली), मनु ठाडा मगर (ढुट मगर), रितेश त्रिपाठी (भोजपुरी), प्रगति राई (चाम्लिङ), विमला गुरुङ (तमु), प्रकृति थारू (थारू), शिलाखा वाम्बुले राई (वाम्बुले)ले आआफ्नो मातृभाषा र निरा श्रेष्ठले अङ्ग्रेजी भाषामा कविता वाचन गर्नुभएको थियो।
साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुलपति राईले ‘नेपालका सबै भाषाको प्रतिनिधित्वसहित गरिएको सिर्जना वाचनले नेपाली समाजको मौलिक अनुहार प्रतिबिम्बित भएको बताउनुभएको थियो। उहाँले संसारभरि छरिएर रहेका नेपालीहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विस्तारित गरेका छन् । जसले बहुभाषिक देश नेपाललाई समान रूपमा समृद्ध बनाउने विश्वास गर्न सकिन्छ । प्रज्ञा-प्रतिष्ठानको संरचना विगतको जस्तो एकल भाषी नभई बहुभाषिक प्राज्ञिक केन्द्रको रूपमा अघि बढेको बताउनुभएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले नेपाली भाषा र साहित्यको विकासमा गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्दै अघि बढ्न सकिने कुरा स्वागत मनतव्यमा बताउनुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले धन्यवाद मनतव्यसहित मुलुक चलाउन नेपालमा बोलिने सबै तहतप्का र समुदायका भाषालाई प्रवर्द्धन गर्दै राज्यले समान व्यवहार गर्नुपर्ने बताउनु भएको थियोे । प्रज्ञा-प्रतिष्ठानबाट बहुभाषिक साहित्यिक सांस्कृतिक कार्यक्रम हुनु भनेको गौरवमय कुरा भएको चर्चा गर्नुभएको थियो।
विशिष्ट अतिथि तथा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीका छोराछोरीलाई नेपाली भाषा, साहित्य, संस्कृतिप्रति आकर्षित गर्दै आफ्नो मौलिकताको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो । उहाँले भाषा जोगाएनौँ, संस्कृति बचाएनौँ र साहित्य सिर्जना गरेनौँ भने सभ्यता र इतिहास पनि नामेट हुने खतरा रहेकाले यिनको समृद्धिमा लाग्नुपर्ने बताउनुभएको थियो ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व महासचिव जानकी गुरुङले आफूहरू जहाँ रहेपनि नेपालप्रतिको अगाध स्नेह,माया र ममतामा कुनै कमी नअाउने बताउनुभएको थियोे । उहाँले नेपालीभाषा प्रवासमा रहेका नेपालीका सन्तानहरूलाई समयमै सिकाएर आफ्नो मातृभाषा जोगाउन सके मात्रै पहिचान बँच्ने बताउनुभएको थियो । साथै गैरआवासीय नेपाली सङ्घका महिला संयोजक रश्मीकाली थापाले समेत आफ्नो धारणा राख्नुभएको थियो।
सभाध्यक्ष ,गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा भाषा, साहित्य समितिका संयोजक विश्वदीप तिगेलाले कार्यक्रमको समापनसहित एनआरएनएले मनमुटु जोड्दै नेपालसँग सम्पर्क र समन्वय गरेर सधैँजसो काम गरिरहेका छौँ। भाषा,साहित्य, संस्कृतिको उन्नायमा जोड दिँदै विषम परिस्थितिमा पनि सहयोगी बनेर समाजसेवा र विकास निर्माणमा समेत एनआरएनएले योगदान दिइरहेको बताउनुभएको थियो।
उहाँले नेपाल बहुभाषिक देश भएकाले सबै भाषाको उत्तिकै समान हैसियत र स्वत्व कायम गर्न पनि बहुभाषिक सिर्जना वाचन महत्त्वपूर्ण हुने भएकाले यो कार्यक्रमको आयोजना गर्नुपरेको बताउनुभएको थियो ।कार्यक्रमको उद्घोषण एनआरएनए भाषा साहित्य समितिका सदस्य कथा कवि अमित थेबेले गर्नुभएको थियो।
०००
प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest







































