फित्काैली डटकमप्रधान, शर्मा र पोखरेल तीनजना भैरव पुरस्कार गुठीद्वारा पुरस्कृत
यस वर्षको भैरव पुरस्कार भारत- सिलगुढी निवासी वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण प्रधानलाई समर्पण गरिएको छ । यो पुरस्कारको राशि रु. १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गरिएको हो ।

काठमाडौं, २०८२ असोज २९ं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारहरू भैरव पुरस्कार गुठीले बुधवार समर्पण गरेको छ ।
गुठीले भैरव स्मृति भवन जोरपाटीको सभाकक्षमा आयोजित पुरस्कार समर्पण समारोहमा अर्यालको नाममा स्थापित तीन पुरस्कार तीन अलग अलग स्रष्टाहरूलाई समर्पण गरेको हो ।
यस वर्षको भैरव पुरस्कार भारत- सिलगुढी निवासी वरिष्ठ हास्यव्यङ्ग्यकार कृष्ण प्रधानलाई समर्पण गरिएको छ । यो पुरस्कारको राशि रु. १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गरिएको हो ।
त्यस्तै रु. १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई समर्पण गरियो भने रु. ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई समर्पण गरियो ।
गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले पुरस्कार एवम् सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
यस अघि सभालाई अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले भैरवका केही व्यङ्ग्य कविताहरूको स्मरण गराउँदै स्वागत गर्नुभएपछि स्व. साहित्यकारहरू भैरव अर्याल, भैरव रिसाल, विजय चालिसे लगायतका दिवंगत साहित्यकारहरू र हालैको जेन्जी आन्दोलनमा दिवंगत युवाहरूसमेतमा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको शुभकामना मन्तव्यपछि खगेन्द्र सङ्ग्रौलाले भैरवका कृतिहरू बजारमा उपलब्ध छन्, सुबोध्य र सरल छन् भन्दै भैरवसँगको पहिलो भेटको चर्चा गर्दै उहाँको माध्यमबाट आफ्ना कथाहरू गोरखापत्र र मधुपर्कमा प्रकाशित भएर तत्कालीन साहित्यकार मित्रहरूमा आफ्नो पहिचान पुगेको चर्चा गर्नुभएको थियो । उहाँले भैरवले पीडाजन्य अवस्थाबाट असमयमै मृत्यु वरण गरे पनि आफ्ना कृतिहरू मार्फत हामीबीच जीवित र जीवन्त रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरू मध्ये हास्यव्यङ्ग्यकार कृष्ण प्रधानका बारेमा मन्तव्य दिँदै नरनाथ लुइँटेलले प्रधान बहुआयामिक स्रष्टा रहेको चर्चा गर्नु भयो ।
त्यसैगरी भैरव वाङ्मय पुरस्कार प्राप्त गर्ने वरिष्ठ चित्रकार हरिप्रसाद शर्माको कलाकारितामाथि ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कर्माचार्यले प्रकाश पार्नुभएको थियो भने भैरव प्रतिभा पुरस्कार प्राप्त विवश पोखरेलको परिचय प्रमोद प्रधानले प्रस्तुत गर्नुभयो ।
सोही अवसरमा पुरस्कृत स्रष्टा कृष्ण प्रधानको ४२ औँ हास्यव्यङ्ग्य कृति ‘पुरस्कार लुड्याउनेहरू’ को लोर्कापण गरिएको थियो ।
पुरस्कृत स्रष्टाहरूले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि गर्वको विषय भएको बताउनु भएको थियो ।
गुठीले पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहनु भएको चयन समिति गठन गरेको थियो ।
कार्यक्रमको अन्त्यमा सभानायक रोचक घिमिरेले दुईवटा मात्रै पुरस्कारले बढी प्रतिभा क्षेत्र समेट्न नसकेको महसूस भएर दुुइ वर्ष अर्घिदेखि भैरव वाङमय पुरस्कार समेत ३ वटा पुरस्कार दिन थालिएको खुलासा गर्नुभयो । उहाँले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिँदै सभा समापन भएको घोषणा गर्नुभयो ।
कार्यक्रममा उपस्थित अन्य साहित्यकर्मीहरूमा भोजराज रेग्मी मुखाले, खोलाघरे साहिंलो, बुद्धिसागर पौड्याल, महेश्वर खनाल, मिसन अधिकारी, गङ्गाप्रसाद भेटवाल, शीतल गिरि, नारायणप्रसाद भण्डारी जनकपुरी, मेनका पोख्रेल आचार्य, ममता मृदुल, आलोक चालिसे, कोषराज नेउपाने, प्रा.डा. हेमनाथ पौडेल, घनश्याम प्रसाईं, वसन्त रिजाल, विमल अर्याल, अच्युत घिमिरे, राजन पुडासैनी, ठाकुरप्रसाद खतिवडा, महेन्द्र चालिसे, चक्र दवाडी, ध्रुव थापालगायत दर्जनौंँ हास्यव्यङ्ग्यप्रेमीहरूको घनिभूत सहभागीता थियो ।
यस अघि नेपाली हास्यव्यङ्ग्यका विशिष्ट शिल्पीहरू केशवराज पिँडाली, श्याम गोतामे, रामकुमार पाँडे, श्रीधर खनाल, विष्णु प्रभात, होम सुवेदी विश्व शाक्य, उत्तमकृष्ण मजगैयाँ, नरेन्द्रराज पौडेल, चट्याङ मास्टर, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, मुन पौडेललगायत भैरव पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ ।
गुठीको साधारण सभा र नवनिर्वाचित कार्य समिति
आजै भैरव पुरस्कार गुठीको साधारण सभा पनि सम्पन्न भएको छ । साधारण सभाले पुनः रोचक घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नयाँ कार्यसमितिमा गोपाल प्रसाद बराल उपाध्यक्ष, बसन्त रिजाल सचिव, विमलप्रसाद अर्या सहसचिव र अजित नेपाल कोषध्यक्ष निर्वाचित गरेको छ ।
कार्यसमिति सदस्यहरूमा गोविन्द घिमिरे वेदमणि, बद्रीप्रसाद अर्याल, निर्मल अर्याल, मेनका पोखरेल, निर्मला अर्याल, घनश्याम प्रसाईं, उद्धव रायमाझी र भवानी सापकोटा निर्वाचित हुनु भएको छ ।
०००
निर्मल अर्याल र खोलाघरे साहिँलोको संयुक्त सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































