साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृतिहरूको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न

प्रमुख आमन्त्रित व्यक्तित्व गङ्गाप्रसाद उप्रेतीले स्रष्टा हिरण्यकुमारी पाठकको बहुआयामिक प्रतिभाको प्रशंसा गर्दै आठ दशकको उमेरमा पनि यस्ता कृतिहरूको सृजना हुन सकेकोमा बधाई दिएका थिए।

Nepal Telecom ad

काठमाडौं, २०८२ असोज ३१ । आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकको लघुकथाकृति ‘तेल भिसा’र कविताकृति’ सम्बन्धको चुकुल’ तथा हिरण्यकुमारी पाठकद्वारा नै सम्पादित ‘सर्जक गणेश रसिक स्मृति अङ्क’ नारीस्वर’को लोकार्पण गरिएको खबर छ।

साहित्यिक पत्रकार संघको आयोजनामा संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख आमन्त्रित व्यक्तित्व रहेका थिए भने चर्चाकारहरूमा प्रा.डा.गोविन्दमानसिंह कार्की, उप-प्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली तथा कवि शैलेन्द्र साकार रहेका थिए। मञ्चमा आसिन व्यक्तित्वहरूबाट पालैपालो तीन थान कृतिहरूको लोकार्पण गरिएको हो।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व गङ्गाप्रसाद उप्रेतीले स्रष्टा हिरण्यकुमारी पाठकको बहुआयामिक प्रतिभाको प्रशंसा गर्दै आठ दशकको उमेरमा पनि यस्ता कृतिहरूको सृजना हुन सकेकोमा बधाई दिएका थिए।मन्तव्यका क्रममा उनले पाठकको प्राज्ञिक सफलतामा उनकी सुपुत्री नम्रता शर्माको ठूलो योगदान रहेको बताए। साथै, उनलेअहिलेसम्मको अनुभवलाई साहित्य मार्फत् नै पाठकले अरू कृतिहरू दिन सकून् भनेर शुभकामना पनि दिएका थिए।

कार्यक्रममा कवि शैलेन्द्र साकारले गणेश रसिक आफ्नो गाउँले दौँतरी रहेको र हिरण्य भोजपुरे र रसिक गायन क्षेत्रमा लागेर भोजपुरको लोकलयलाई गीत सङ्गीत मार्फत् चिनाउन सफल भएको बताए।रसिकलाई सम्झेर साकार भावुक हुँदै मान्छे कामले बाँच्छ उमेरले होइन भन्ने उक्तिमा आफू रहेको बताए।

कृतिहरूको परिचर्चाका क्रममा प्रा.डा.गोविन्दमानसिंह कार्कीले लघुकथाकृति ‘तेल भिसा’का बारेमा बोल्दै सरल भाषामा लेखिएका लघुकथाहरू समसामयिक विषयवस्तुमा आधारित रहेको,सामाजिक विकृति र विसंगति मुखरित हुने गरेको र मनोबैज्ञानिक पनि हुने गरेको बताए।

विदेशमा रहेको छोरालाई भेट्न जान तितौरा मस्यौरा समेत ठीक पारेर राखेको बेला कोरोनाले गर्दा जान नपाएको पीडा, छोरा विदेशमा कुलतमा फसेको कुरा,पशुबली बिरुद्धको कुरा,रातो बाकसमा बाबुको शरीर आएको देख्नु परेको एक बालकको कथा र महिला अधिकारको कुरा गर्दै हिड्ने लोग्ने ले स्वास्नी पिट्ने कथा जस्ता मार्मिक कथाहरू उक्त कृतिमा रहेको बताउँदै प्रा.डा.कार्कीले पाठकको कथाहरू ज्यादै उत्कृष्ट रहेको बताए।

त्यसैगरी,अर्का चर्चाकार उप-प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले कविताकृति ‘सम्बन्धको चुकुल’का बारेमा बोलेका थिए। चर्चाका क्रममा उनले पाठकका कविताहरू आलंकारिक भएर पनि सरल भएको र थोरै शब्दमा धेरै कुरा कवितामा उल्लेख भएको बताए।उनका कविताहरूमा राष्ट्र,राष्ट्रियता, पारिवारिक सम्बन्ध र प्रेम र समय सान्दर्भिक विषयवस्तु मुखरित भएको बताए।

कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो स्वागत मन्तव्यमा जेन-जि आन्दोलनका क्रममा सहिद हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकबाट अब निर्माणमा लाग्नु परेको यथार्थ बताए।मन्तव्यमा उनले स्रष्टा हिरण्यकुमारी पाठकको व्यक्तित्व तथा कृतित्वमाथि पनि संक्षेपमा प्रकाश पारेका थिए।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा कवि डा.विष्णुविभु घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्दै हिरण्यकुमारी पाठकका कविताहरू सरल र सरस भएको र कविताहरू मैदानमा बग्ने स्वच्छ नदी जस्तै भएको बताए।

कवि घिमिरेले पाठकका कविताहरू विवादरहित रहेको पनि बताए।साथै,उनले आफ्नो अनुभव र अनुभूतिलाई अब कृतिको रूपमा ल्याउन पनि आग्रह गरेका थिए।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै स्रष्टा हिरण्यकुमारी पाठककी सुपुत्री पत्रकार नम्रता शर्माले कार्यक्रममा उपस्थित सबै प्रति आभार पनि प्रकट गरेकी थिइन्।उक्त अवसरमा उनले आफ्नी आमाको साहित्यिक यात्राको पनि चर्चा गरेकी थिइन्।

कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार एवं समाजसेवी शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, साहित्यकारहरु भागिरथी श्रेष्ठ, ज्ञानु पाण्डे, मातृका पोखरेल, विवश पोखरेल, रामकाजी कोने, हेम पाठक, ठाकुर शर्मा, शेखर गिरी, विमल भौकाजी, मणि लोहनी, प्रद्युम्न जोशी, सविता ढुंगाना, जयदेव भट्टराई, पवन आलोक, शंकर भारती, सुभाषचन्द्र पौडेल, गंगा कर्माचार्य पौडेल, वेदकुमारी न्यौपाने, सन्ध्या पहाडी, डा. शान्तिमाया गिरी, सावित्री श्रेष्ठ, नीता श्रेष्ठ, उषा के. सी., निशा के. सी., डा. बुनु दाहाल, विनोद नेपाल, उमेश पाण्डे, विजयध्वज थापा, ममता मृदुल, जीवनकुमार श्रेष्ठ, हरिश कल्पित, तारा के.सी., रुपा रिसाल, नीरा श्रेष्ठ, कल्पना श्रेष्ठसहितको बाक्लो उपस्तिथि रहेको थियो ।

अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि यादव भट्टराईले गरेका थिए।

०००
सुभाषचन्द्र पौडेल ‘भीमफेदीयाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x