आर.सी. रिजालज्ञान
बुढेसकालमा सकेसम्म शरीरलाई चलायमान राख्नुपर्छ। त्यसैले मलाई युरिकएसिड, सुगर, प्रेसर जस्ता रोगको टेन्सनै छैन।

आर.सी. रिजाल :
दामोदर रिटाएर भएपछि घरपरिवारले उनलाई फुरुङ्ग पारे।
सुरुवात यसरी गरे– एकदिन उनलाई चिया पकाउन लगाए। घरका परिवारले- आहा ! चिया त यस्तो पो हुनपर्छ भने। एकदिन मासु पकाउन लगाए- आहा भने। अर्कोदिन रोटL। दामोदरेले- खै रोटL त बेल्नै जानिएन गोलो भएन भने। बुहारीहरुले- “आ बुवा किन गोलो चाहियो ? खाँदा टुक्रा पारेर खाने हो। जसरी पकाए पनि हजुरको हातै मीठो” भन्दै तारिफ गरे।
नातिनातिना पनि हजुरबासँग रत्तिएका थिए। बच्चाहरुको झोला बोकेर स्कुल पुर्याउन र ल्याउने उनको डिउटीझैँ थियो। दिउँसोको खाजा पनि उनले पकाएको मात्र मिठो हुनलाग्यो। परिवारका सदस्यले बुवाले माझेको भाँडा र धोएको लुगा कस्तो चम्किलो भन्थे।
छिमेकीहरुले आफ्नो घरबुढालाई दामोदरको उधाहरण दिन थाले। एकदिन छिमेकी बुढाहरु चियापसलमा जम्मा भए। सुदर्शन बाजेले कुरा उठाए- ए दामोदर ! तिमीले अति गर्न लाग्यौ। भान्साको कामसम्म त ठिकै थियो। नातिनातिनालाई नुहाउने, तेल लगाउने, हुँदाहुँदा अब त आँगन करेसाबारी र घर अगाडिको नालीसमेत सफा गरेको देख्दा हामीलाई त लाजमर्दो पार्यौ। लोग्नेमान्छेले यस्तो काम गर्न हुन्न भने।
दामोदरले- खै तिमीहरुले कुरा बुझ्या ? म लुइँटेलको गोठमा दुध लिन बिहान झण्डै चार किलोमिटर हिँड्छु। बुढेसकालमा सकेसम्म शरीरलाई चलायमान राख्नुपर्छ। त्यसैले मलाई युरिकएसिड, सुगर, प्रेसर जस्ता रोगको टेन्सनै छैन। तिमीहरु बुढेसकाल लाग्यो भन्दै उपरखुट्टी लगाएर सुत्ने र खाने गर्छौ। आफ्नो घरको कामलाई गुह्यधन्दा मान्दा रोगको फन्दामा पर्लाउ। घरपरिवारले अह्राएर हैन मैले त ज्ञान पलाएर काम गरेको हुँ। मेरो बाथरुम हेर्न आओ ऎना हेर्न पर्दैन। कुरा बुझ्यौ त भन्दै उनी स्कुलतिर लागे।
“वास्तवमा दामोदरले ज्ञान बाँडेर गयो। कुरा काट्ने आधारै छैन” भन्दै सबै उठे।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest




































