साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा ठाकुर शर्मा भण्डारीको ‘नवनी’ लोकार्पित

धुम्बाराहीस्थित भण्डारी निवासमा पारिवारिक वातावरणमा प्राज्ञ प्राध्यापक दिनेशराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा भण्डारी परिवारका सबै सदस्यसहित पचास जनाभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ कार्तिक १ । साहित्यकार तथा समालोचक ठाकुर शर्मा भण्डारीको नवीनतम कविताकृति ‘नवनी’ को साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न एक विशिष्ट समारोहमा उपस्थित सम्पूर्ण स्रष्टाहरूद्वारा एकसाथ लोकार्पण गरिएको थियो ।

काठमाडौँको धुम्बाराहीस्थित भण्डारी निवासमा पारिवारिक वातावरणमा प्राज्ञ प्राध्यापक दिनेशराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा भण्डारी परिवारका सबै सदस्यसहित पचास जनाभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रोचक घिमिरेले कृतिकार शर्मालाई नेपाली साहित्यका सरल, शालीन र साधनाशील स्रष्टाका रूपमा आफूले चिनेको बताउनुभयो ।

यसैगरी कार्यक्रमका सभापति प्रा. दिनेशराज पन्तले ठाकुर शर्मा भण्डारीलाई सक्रिय स्रष्टाका रूपमा चित्रण गर्दै उहाँको सरल र शान्त व्यवहारबाट आफू प्रभावित भएको बताउनुभयो ।

यसैगरी योगगुरु तथा प्राकृतिक चिकित्सक डा. मानसाग्निले विशिष्ट अतिथिका रूपमा मन्तव्य प्रस्तुत गर्दै स्रष्टा भण्डारीको व्यवहार र सिर्जनशीलताको प्रशंसा गर्नुभयो ।

नेपाल सरकारका पूर्व सचिव तथा साहित्यकार समालोचक गोपी मैनालीले लोकार्पित कृतिका बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै प्रस्तुत कृतिमा छन्दोबद्ध र छन्दमुक्त कविताहरू सङ्ग्रह गरिएको र ती कविताहरूमा समाज, राष्ट्र, राष्ट्रप्रेम, राष्ट्रिय अखण्डता, जीवन, मानवता, विकृतिविसङ्गति, युवाशक्ति लगायतका विविध विषयलाई अभिव्यक्त गरिएको बताउनुभयो ।

झण्डै तीन दर्जन कृतिका स्रष्टा ठाकुर शर्मा भण्डारीले नेपाली साहित्यका विशिष्ट स्रष्टा र साधकहरूलाई आफ्नै निवासमा आमन्त्रण गरेर कार्यक्रमको आयोजना गर्ने परिवारको समेत इच्छाअनुसार कार्यक्रम तय गरिएको जानकारी गराउँदै उपस्थित सबैलाई स्वागत गर्नुका साथै सबैलाई सबैसँग परिचित समेत गराउनुभयो ।

सो अवसरमा दायित्व वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष प्रा. डा. भागवत ढकाल, कवि महेश प्रसाई, समालोचक युवराज मैनाली, साहित्यकार सूब सेन, साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतले कृतिकार ठाकुर शर्मा भण्डारीको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्दै उहाँको सिर्जनात्मक उन्नयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

तिहारको पहिलो दिन आयोजना गरिएको सो कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरिएको थियो । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित सो कृतिबाट एउटा कवितालाई नारायण भण्डारी (एनबी जनकपुरी) ले गाएर सुनाउनुभएको थियो ।

अन्यन्तै पारिवारिक रूपमा आयोजित सो कार्यक्रम दायित्व वाङ्मय प्रतिष्ठानका महासचिव एवम् साहित्यकार यादव भट्टराईले संयोजन र सञ्चालन गर्नुभएको थियो ।

०००
यादव भट्टराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x