फित्काैली डटकमबज्जिका साहित्यमा महिला याेगदान निम्ति सम्मेलन
रौतहटको गरुडास्थित एम्स एकेडेमीमा भएको साहित्यकार तथा बज्जिकासेवीहरुको भेलाले चर्चित कवयित्री संगीता सहनीको अध्यक्षतामा सम्मेलनको सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

रौतहट, २०८२ कात्तिक । बज्जिका साहित्यमा महिलाको योगदानलाई विशिष्टीकरण गर्ने उद्देश्यले रौतहटमा बज्जिका महिला सम्मेलन गठन गरिएको छ । मुख्य रुपमा बज्जिका भाषामा सक्रिय रहेका महिला साहित्यकारले अझ बढी महत्वपूर्ण सक्रियता देखाउन पाउने अवसरका लागि सम्मेलनको गठन गरिएको हो ।
बज्जिका संवाद यात्राकी संस्थापक साहित्यकार ममता यादवको सभापतित्वमा रौतहटको गरुडास्थित एम्स एकेडेमीमा भएको साहित्यकार तथा बज्जिकासेवीहरुको भेलाले चर्चित कवयित्री संगीता सहनीको अध्यक्षतामा सम्मेलनको सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
सम्मेलनको कोषाध्यक्षमा सरिता साह तथा सदस्यहरुमा रोशनी यादव, मधु चौधरी, अनुष्का चौधरी र करुणा पंडितको चयन गरिएको छ । यसै गरी समितिको सदस्य सचिवमा ममता यादव तथा सल्लाहकारमा रेणु गुप्ताको चयन सर्वसम्मतिले गरिएको छ । बज्जिका भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा परिचितहरुलाई पहिलो चरणमा तदर्थ समितिमा राखिएको जनाइएको छ ।
सम्मेलन गठनको अवसरमा साहित्यकार सञ्जय साह मित्रले महिला सर्जकहरुले बज्जिका वाङमयको क्षेत्रमा दूरगामी प्रभाव पर्ने गरी संस्थाको गठन गरेकामा खुसी व्यक्त गरेका छन् । यसै गरी बज्जिका जागरण भेला काठमाडौँका संयोजक इन्द्रजीत सहनी, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, नवसर्जक साहित्य चौतारी नेपाल (मधेश प्रदेश)का अध्यक्ष तथा बज्जिका संवाद यात्राका संयोजक अभिजीत कुमार राम, बज्जिका अनलाइन कार्यक्रमका संयोजक संजय महतो राज तथा साहित्यकार शिवचन्द्र प्रसाद साहसमेतले सम्मेलनको गठनमा खुसी व्यक्त गर्दै बज्जिका साहित्य र संस्कृतिको सेवामा महिलाहरुको झन् सक्रिय उपस्थिति हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमका सहभागीहरुले नवगठित संस्थालाई आवश्यकतानुसार सबै किसिमको सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।
आगामी दिनमा महिला सम्मेलनलाई क्रमशः प्रदेश र राष्ट्रिय स्तरमा विस्तार गरिने अध्यक्ष सहनीको प्रतिबद्धता रहेको छ ।
नेपाल र भारतमा गरी बज्जिका भाषाको क्षेत्रमा सयौँ महिला सर्जक सक्रिय रहेको भए पनि महिलाको पहिलो साहित्यिक संस्था भएको बताइएको छ ।
०००
सञ्जय साह मित्रकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest




































