फित्काैली डटकमविर्तामोडमा ‘पठन संस्कृति वर्ष-२०२६’ को घोषणा र कृति लाेकार्पण
विशिष्ट वक्ताहरु त्रय लीला उदासी, महेन्द्रकुमार गिरी तथा केदार शर्माद्वारा ‘पठन संस्कृति वर्ष – २०२६’को कार्यक्रमको व्यानर उघारेर घोषणा कार्यक्रम गरिएकाे थियो ।

झापा २०८२ पुस १४ । ‘रिडर्स अभियान, नेपाल’, ‘अभियानका लागि अभियन्ता’, ‘वीरता रिडर्स’, ‘झापाली साहित्य समाज’ समेत ४ संस्थाले होटल हेवन ग्रान्ड विर्तामोडमा आयोजना गरेको ‘पठन संस्कृति वर्ष–२०२६’को घोषणा कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रम अनौपचारिक रूपमा सुरु भयो- शून्य समय भनेर खगिन्द्रा खुसीको संचालनमा कविता, गीत, गजल गायनका रूपमा ।
स्रष्टाहरु गीता सुवेदी नेपाल, दीपा दाहाल, राजेश ढुङ्गाना, सुनीता तामाङ, मायामितु नेउपाने, रञ्जिता खड्का, केशव आचार्य, भगवती ढुङ्गेल, हरिनारायण भट्टराई, डिल्लीरमण नेपाल, कृष्ण बराल, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, केदार शर्मा, रश्मिशेखर सुवेदी, लीला अनमोल, राजकुमार विश्वकर्मा, पुण्यप्रसाद खरेल, कृष्णप्रसाद मिश्र, रेखा सापकोटा, नमुना निरौला दाहाल, दीपेन्द्र आचार्य, लक्ष्मी अच्युत ढुङ्गाना तथा पुष्प शाहले आफ्ना रचना सुनाउनु भयो ।
यति सृजनाहरु सुनाइसकेपछिको कार्यक्रम औपचारिक रूपमा सन्चालन गर्नुभयो ‘रिडर्स अभियान, नेपाल’का अध्यक्ष सन्तोष आचार्यले । ‘अभियानका लागि अभियान’का अध्यक्ष प्रकाश गुरुङलाई सभापतिमा बसाउनु भयो र वरिष्ठ अधिवक्ता लीला उदासी, सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी तथा पत्रकार–लेखक केदार शर्मालाई विशिष्ट अतिथिको रूपमा अग्रासनमा बसाएर अभियानमा सामेल १०० भन्दा बढी संघ–संस्थाका प्रमुखहरुलाई आतिथ्य गराउनु भयो ।
विशिष्ट वक्ताहरु त्रय लीला उदासी, महेन्द्रकुमार गिरी तथा केदार शर्माद्वारा ‘पठन संस्कृति वर्ष – २०२६’को कार्यक्रमको व्यानर उघारेर घोषणा कार्यक्रम गरिएकाे थियो ।
कार्यक्रमका सहसंयोजक केशव मैनालीले स्वागत मन्तव्य व्यक्त गरेपछि दुई वटा पुस्तक लोकार्पण गरिए– क) तीर्थ सिग्देलको पुस्तक ‘त्यो झापा’को लोकार्पण, त्यस कृतिको सृजनाका सहयोगीहरु परमानन्द मिश्र, दुर्गा राजवंशी, प्रेमसागर खनाल, कुलप्रसाद नेउपाने, दयानन्द गोस्वामी लगायतद्वारा गराइयो भने ख) उपन्यासकार हेम गुरागाईंको उपन्यास ‘दिगो समाधान’लाई साहित्यकारहरु पुण्यप्रसाद खरेल, केशव आचार्य तथा तारा राईद्वारा लोकार्पण गराइयो ।
सञ्चालक सन्तोष आचार्यले कार्यक्रम सञ्चालनको पृष्ठभूमिका रूपमा आजका कार्यक्रमका बारे, यसमा सहभागी संघ–संस्थाको काम र पठन संस्कृतिको महत्व बारे प्रकाश पार्नुभयो र यसपछि वक्तव्यको कार्यक्रममा प्रवेश गराउनुभयो ।
वक्ताहरुलाई २० मिनटको समय दिइएको थियो । लगभग समयभित्रै पाँच–सात मिनट यताउतामै वक्ताहरुले कुरा राख्नुभयो । लीला उदासीले तीर्थ सिग्देलको पुस्तक ‘त्यो झापा’को विशेषता, त्यस कृतिले उठाएको ऐतिहासिकता, पुस्तकले दिने ज्ञान र सन्देश तथा यसका सीमाहरुका बारे बोल्नुभयो ।
महेन्द्रकुमार गिरीले अभियानको महत्व, अभियान कसरी कसरी संचालन गर्न सकिन्छ, के के व्यवधान आउन सक्छन्, अभियानलाई सफल पार्न के के कुरामा विशेष ध्यान दिनुपर्छ ? भन्नेबारे बोल्नुभयो भने केदार शर्माले पुस्तकको महत्व, पुस्तक पढ्नुको महत्व, पुस्तक पढेर आलोचनात्मक चेतको विकास गर्ने र सृजनात्मक उपयोग गर्ने बारे तथा पुस्तक पढन्तामा जाग्नसक्ने अहं र त्यसलाई जित्नुपर्ने बारे र पुस्तक पढ्ने संस्कृति विकास गर्न कस्ता कस्ता काम गर्न मनासिव हुन्छ भन्ने इत्यादि विषयमा बोल्नुभयो ।
दिन चिसो थियो । कार्यक्रमको मध्यतिर झन्डै दुई सयको उपस्थिति देखिएको सभा आखिरीतिर पचास जतिमा आउन लागेथ्यो । वक्तव्यपछि अध्यक्षको आदेश भन्दै सञ्चालक सन्तोष आचार्यले कार्यक्रम समापन भएको जानकारी गराउनुभयो । कार्यक्रम राम्रो र भव्य रहेकाे अनुभूति सबैले गरेका थिए ।
०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































