फित्काैली डटकमनगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
नगरभित्रका १५ विद्यालयका छात्रछात्राहरू प्रतियोगीका रुपमा सहभागी भएका थिए। शहीद दिवसकै अवसरमा “शहीदको आदर्श र युवा पुस्ताको जिम्मेवारी” शीर्षकमा वक्ताहरूले आआफ्नो वक्तृता प्रस्तुत गरेका थिए।

काठमाडाैं, २०८२ माघ १५ । सहिद दिवस २०८२ को पूर्वसन्ध्यामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मध्यपुर ठिमी नगर कार्यसमिति भक्तपुरद्वारा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरभित्रका १५ विद्यालयका छात्रछात्राहरू प्रतियोगीका रुपमा सहभागी भएका थिए। शहीद दिवसकै अवसरमा “शहीदको आदर्श र युवा पुस्ताको जिम्मेवारी” शीर्षकमा वक्ताहरूले आआफ्नो वक्तृता प्रस्तुत गरेका थिए।
कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रम करिब ३ घण्टासम्म चलेको थियो। प्रतियोगितामा नवरत्नलाई स्कुलकी छात्रा वितिशा मानन्धर प्रथम, दिव्य दीपज्योति स्कुलकी छात्रा सान्वी भुसाल द्वितीय, एमिनिटी स्कुलका छात्र दीक्षान्त गुरागाई तृतीय तथा सिबिएम स्कुलकी छात्रा समृद्धि थापाले सान्त्वना स्थान प्राप्त गरे।
लर्ड बुद्ध एकेडेमी मध्यपुरको सभाकक्षमा आयोजित उक्त कार्यक्रम मध्यपुर ठिमी नगर प्याब्सनका सचिव मनोज दीक्षितले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा मध्यपुर नगर प्याब्सनका अध्यक्ष सुमन बस्नेत सभापति, प्याब्सन केन्द्रीय समितिका सचिव चन्द्रकुमार अधिकारी प्रमुख अतिथि, प्याब्सन केन्द्रीय समितिका सचिवालय सदस्य सुरेन्द्र श्रेष्ठ विशिष्ट अतिथि तथा अतिथिहरू प्याब्सन भक्तपुर जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष निलेश आचार्य, प्याब्सन भक्तपुर जिल्ला समितिका सचिव सूर्यबहादुर भण्डारी, प्याब्सन मध्यपुर ठिमी नगर कार्यसमितिका उपाध्यक्ष बुद्धरत्न बादे, कोषाध्यक्ष सोमकृष्ण प्रजापति र निर्णायकका रूपमा डा. मधुसूदन लामिछाने र भावकेशर बराल हुनुहुन्थ्यो।
सामूहिक राष्ट्रगानपश्चात् ज्ञातअज्ञात शहीदहरूको सम्मान र स्मृतिमा एक मिनेट मौनधारण गरेर प्रारम्भ भएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिले दीप प्रज्ज्वलनसहित गर्नुभएको थियो। सहभागी छात्रछात्राहरूले आफूलाई प्राप्त कोडअनुसारको क्रममा वक्तृता प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा सहभागी विद्यालयका शिक्षक शिक्षिका तथा आयोजक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको समेत सहभागिता रहेको थियो। वक्तृत्वकलाको क्रम सकिएपछि अतिथिहरूले शुभकामना मन्तव्य राख्नुभयो।
शुभकामना मन्तव्यका क्रममा शहीदहरूको योगदान र सम्मानको चर्चा गर्दै विद्यार्थी देशप्रतिको कर्तव्यबोध र शहीदको सपना साकार पार्न लाग्नुपर्ने विचार राख्नुभयो। सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने पुरस्कृत छात्रछात्राहरूलाई नगदसहित मेडल र ट्रफी प्रदान गरियो।
निर्णायकका तर्फबाट बोल्दै भावकेशर बराल र डा मधुसूदन लामिछानेले अभिव्यक्ति कौशलमा जोड दिँदै सिर्जनशील, तर्कशील र विनयशील बन्न यस्ता कार्यक्रमहरू उपयोगी हुने विचार राख्नुभयो।
प्रमुख अतिथिले मन्तव्यका क्रममा पुरस्कृत तथा सहभागी सबै विद्यार्थीहरूलाई बधाईज्ञापन गर्दै मध्यपुर नगर प्याब्सनले गरेका कार्य प्रशंसायोग्य रहेको विचार राख्नुभयो। अन्त्यमा कार्यक्रमका सभापति मध्यपुर नगर प्याब्सन अध्यक्ष सुमन बस्नेतले नगर प्याब्सनले शिक्षक, कर्मचारी तथा विद्यार्थीमुखी विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै यी र यस्तै रचनात्मक कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
०००
भावकेशर बरालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































