साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथाकार प्रधानाङ्गको कथाकृति ‘जलेको रात’ लोकार्पण

'आलेख' साहित्यिक मासिकको आयोजनामा वरिष्ठ कथाकार सुशीला प्रधानाङ्गको कथासङ्ग्रह 'जलेको रात' को लोकार्पण बालकोटस्थित कथाकार बस्नुभएको निवासमा नै सम्पन्न गरियो ।

Nepal Telecom ad

भक्तपुर, २०८२ माघ १६ । शहीद दिवसका दिन ‘आलेख’ साहित्यिक मासिकको आयोजनामा वरिष्ठ कथाकार सुशीला प्रधानाङ्गको कथासङ्ग्रह ‘जलेको रात’ को लोकार्पण बालकोटस्थित कथाकार बस्नुभएको निवासमा नै सम्पन्न गरियो ।

वरिष्ठ समालोचक भाषाविद प्रा.डा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभाध्यक्ष ‘आलेख’साहित्यिक मासिकका सम्पादक अच्युत घिमिरे हुनुहुन्थ्यो ।

पुस्तकका बारेमा वरिष्ठ समालोचक युवराज मैनाली र ठाकुर शर्मा भण्डारीले समीक्षा गर्नुभएको थियो । मैनालीले कथाहरू हाम्रै समाजका हामीले भोगेका दुःख- अभावका, महिला विद्रोहका, सकारात्मक सोचका भएकाे बताउनुभयो। यहाँका कथाहरूको महत्त्वपूर्ण पक्ष भनेको कथाहरू पढ्न थालेपछि नसिध्याई छोड्न नमिल्ने, कौतुहलता जगाउने र कथाहरू उत्कृष्ट भएका कुरा बताउनुभयो।

यसरी नै भण्डारीले पहिलो कथासङ्ग्रहले उहाँलाई स्थापित बनाएको छ। उहाँका कथाहरू नेपाली समाजमा हामीले भोगेका, देखेका कुराहरूको जीवन्त प्रस्तुति हो, कथामा प्राय महिलाहरूका समस्याहरु छन् भन्नुभयो।

मन्तव्यको क्रममा वरिष्ठ बाल साहित्यकार प्रमोद प्रधानले ७५ वर्षको उमेर कटे पनि सुशीला दिदीको जुन सक्रियता छ ,लेखनमा जुन विशिष्टता छ, त्यो नेपाली साहित्यको लागि ठूलो उपलब्धि हो भन्नुभयो ।

मन्तव्यको क्रममा कथाकार प्रधानाङ्गले आफूले भोगेका कुराहरू नै मैले कथाका विषय बनाएको, कसैले मलाई केही भन्यो भने म आफै मलाई नै तुलना गर्छु र कथा लेख्छु, कथामा मेरै छोराछोरी, बुहारी, मैले भोगेकै कुराहरू छन् र तिनलाई म सकारात्मक दृष्टिकोणमा कथामा प्रस्तुत गर्छु भन्ने कुरा उहाँले गर्नुभयो।

प्रमुख अतिथिको मन्तव्यमा प्रा.डा. लामिछानेले यी कथाहरूले पाठकका मन छुन्छन्, यी कथाहरूले नेपाली साहित्यका पाठकमा निकै प्रभाव पार्ने मैले विश्वास लिएको छु भन्नुभयो।

कार्यक्रममा सीता शर्मा, डम्बर घिमिरे, डा. सावित्री श्रेष्ठ लगायतले मन्तव्य प्रस्तुत गर्नुभएको थियो । गीतकार वसन्तराज अज्ञात, कथाकारका छोरी, छोरा, बुहारी, नाति र आफन्तहरू लगायत शुद्ध स्राेताको रूपमा रहनुभएको थियो।

साहित्यकारहरूबीच पारिवारिक भेटघाट र सम्बन्ध जस्तो लाग्ने कार्यक्रम बडो रमाइलो र रोचक ढङ्गले सम्पन्न भयो। कार्यक्रमको स्वागत मन्तव्य डा. यादेवी ढकालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सजनी नौबागेले गर्नुभएको थियो।

०००
अच्युत घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x