साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यसुधा नेपालको सातौँ वार्षिकोत्सव : तीन स्रष्टा सम्मानित

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार माया ठकुरी, साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले विशिष्ट अतिथिहररूको उपस्थितिमा तीन व्यक्तित्वलाई दोसल्लासहित जनही १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडाैं । साहित्यसुधा नेपालले आफ्नो सातौँं वार्षिकोत्सवको अवसरमा तीन स्रष्टा व्यक्तित्वहररूलाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा प्रा.डा.अञ्जना वस्तीलाई हरिभक्त साहित्यसुधा सम्मान तथा पुरस्कार २०८२, कवि जगन्नाथ आचार्यलाई केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार २०८२ तथा कवि असीम सागरलाई मनीषा साहित्यसुधा सङ्घर्षशील सम्मान तथा पुरस्कार २०८२ प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार माया ठकुरी, साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले विशिष्ट अतिथिहररूको उपस्थितिमा तीन व्यक्तित्वलाई दोसल्लासहित जनही १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व त्रयले सम्मान पुरस्कारले हौसला र प्रेरणा मिलेको भन्दै साहित्यसुधा नेपालप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

सम्मानित व्यक्तिहरु कवि जगन्नाथ आचार्यले केवलपुरे किसानको कविता वाचन गर्नुभएको थियो भने असीम सागरले आफ्नी पत्नीको भूमिकाको प्रशंसा गर्दै उहाँकै लागि रचना गरेको कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तिहरूको जीवनी तथा कृतित्वबारे साहित्यसुधा नेपालका संरक्षक प्रा.डा देवी नेपाल तथा कवि तथा साहित्यसुधा नेपालका सल्लाहकार कलानिधि दाहालले प्रकाश पार्नुभएको थियो । प्रा.डा. देवी नेपालले पुरस्कारका संस्थापकहरू हरिभक्त सिग्देल, केवलपुरे किसानका छोरा कमल पौडेल (हाल हङ्कङ) साथै साहित्यसुधा नेपालकै परिकल्पनाकार मनीषा प्रसाईंको छोटो परिचय समेत दिनुभएको थियो ।

उहाँहरूले सम्मानित व्यक्तिहरूले नेपाली भाषा र साहित्यको विकासमा खेलेको भूमिकाको चर्चा गर्दै सम्मानले उर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

तीनै जनाको जीवनी तथा कृतित्वमाथि चर्चा गर्ने साहित्यकारहररूले आगामी जीवनमा पनि साहित्यको क्षेत्रमा नयाँ कृतिहरु प्रकाशनका लागि सम्मानले प्रेरणा मिलोस् भनी शुभकामना समेत व्यक्त गर्नुभयो ।

यस्तै, सम्मान तथा पुरस्कार स्थापना गरिएका व्यक्तित्वहरुका तर्फबाट आध्यात्मिक कवि हरिभक्त सिग्देलले आफूले आगामी दिनमा पनि सम्मान तथा पुरस्कारलाई निरन्रतता दिने प्रतिबद्धता व्यक्त गर्दै सम्मानित व्यक्तित्वहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

जेनजी आन्दोलनको स्मरणमा उहाँले आफ्नो कविता समेत वाचन गर्नुभएको थियो भने केवलपुरे किसानकी छोरी गोमा पौडेलले आफ्ना पिताले रचना गर्नुभएका दुई कविता वाचन गर्नुभएको थियो । ती कविताहरु आज पनि उत्तिकै सान्दर्भिक भएको चर्चा उहाँले गर्नुभएको थियो । त्यस्तै, साहित्यसुधा नेपालकी परिकल्पनाकार मनिषा प्रसाईं (हाल इजरायल) को कविता पनि वाचन गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिहरूका तर्फबाट डा.तुलसी भट्टराई तथा डा.अभि सुवेदीले मन्तव्य राख्दै सम्मान पुरस्कार प्रापकहरूलाई बधाई शुभकामनासहित नेपाली साहित्यमा उहाँहरूको थप योगदानको अपेक्षा व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि साहित्यकार माया ठकुरीले पनि सम्मानितहरूलाई शुभकामनासहित साहित्यसुधा नेपालले स्तुत्य कार्य गरेकोमा बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रमकी सभापति साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेले प्रत्येक वर्ष संस्थाले साहित्यमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा अझ धेरै स्रष्टालाई सम्मान गर्न सक्ने गरी वातावरण तयार गर्दै लाने बताउनुभयो ।

२०७५ सालमा स्थापना भएको साहित्यसुधा नेपालले हालसम्म लगभग ३ दर्जन भन्दा बढी (आजको समेत) कार्यक्रम सम्पन्न गरेको सुनाउँदै काफ्लेले भन्नुभयो, ‘साहित्यसुधा नेपालले केही त गर्छ, केही त गरोस्, केही त गर्नेछ भन्ने लागेर हामीले काम गरेका छौं । हामीलाई यहाँहरु र विभिन्न संघ संस्थाहरुबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दछौं । तपाईंहरु थाक्नु हुँदैन है भनेर केही संस्थाले प्रायोजन समेत गर्नुभएको छ । त्यसका लागि कृतज्ञता व्यक्त गर्दछु ।’ उहाँले साहित्यसुधा नेपालले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु गर्ने योजना सुनाउँदै तिनमा सबैको सक्रिय सहभागिताको अपेक्षा समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यसुधा नेपालका उपाध्यक्ष गणेश मार्मिकले स्वागत मन्तव्य राख्नुभएको थियो । साहित्यसुधा नेपालले ‘साहित्यको सम्वर्द्धन, हाम्रो अभियान’ को परिकल्पना बोकेर आफ्ना साहित्यिक गतिविधिहरु अघि बढाउँदै आएको छ ।

आजको कार्यक्रमको विशेषताको रुपमा प्रमुख अतिथि साहित्यकार माया ठकुरी, कार्यक्रमका सभापति एवम् साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्ले र सम्मानित तीनमध्ये एक प्रा.डा. अञ्जना वस्ती गरी तीन महिला रहनुभएको भन्दै महिला सहभागिता पनि उत्साहप्रद नै रहेको चर्चा समेत गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x