फित्काैली डटकमसमीक्षक प्रा.डा. गोविन्दमानसिंह कार्की सम्मानित
कार्यक्रममा प्रमुख अतिथि कवि तथा गीतकार एवं पूर्वअर्थमन्त्री एस. पी. कोइरालाले प्रा.डा. कार्कीलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो।

काठमाडाैं । नेपाली साहित्यको उन्नयनमा हालका दिनहरूमा विशेष योगदान पुर्याउँदै आएका समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीलाई विशेष सम्मान गरिएको छ।
काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सो कार्य सम्पन्न गरियो। युवा साहित्यकार नीरा श्रेष्ठद्वारा आयोजित तथा नित्य वेयर्स ललितपुरद्वारा प्रायोजित नववर्ष २०८३ को पूर्वसन्ध्याको सो सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि कवि तथा गीतकार एवं पूर्वअर्थमन्त्री एस. पी. कोइरालाले प्रा.डा. कार्कीलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो।
नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकको सभापतित्वमा भएको उक्त कार्यक्रममा अन्य आमन्त्रित विशिष्ट व्यक्तित्वहरूमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि कवि तथा गीतकार एस.पी. कोइरालाले प्रा.डा. गोविन्दमानसिंह कार्कीलाई सम्मान गर्दै प्रा.डा. कार्कीले प्राज्ञिक क्षेत्रबाहेक साहित्यमा समेत सक्रिय रहेको उल्लेख गर्नुभएको थियो। श्रीकोइरालाले प्राडा कार्कीलाई सेवानिवृत्त जीवन अझ सक्रिय रहने शुभकामना समेत दिनुभएको थियो। गुरुभक्ति र गुरुदक्षिणाका रूपमा चेली नीरा श्रेष्ठ महर्जनले सम्मानको आयोजना गर्नु आफैंमा ठूलो कुरा भएको बताउँदै उहाँले नीरा श्रेष्ठको खुलेर प्रशंसा गर्नुभएको थियो।
कार्यक्रममा स्रष्टाहरू गीता अर्याल, निरा श्रेष्ठ महर्जन, विजयध्वज थापा, मुकुन्द पौडेल, एस्पी कोइराला, कृष्ण बाउसे, निर्मलरमण पराजुली, ध्रुवराज थापा ‘पुरुष’, कपिल अज्ञात, बद्री उप्रेती, भानुराज जोशी, मदन नेपाल, पवनकुमार बुढाथोकी, अमर अधिकारी र राज रजकद्वार रचना वाचन गरिएकाे थियाे ।
सभापतिको आसनबाट बोल्दै नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले शालीन व्यक्तित्वका धनी प्रा.डा. गोविन्दमानसिंह कार्कीको सामाजिक, साहित्यिक तथा शैक्षिक योगदानबारे चर्चा गर्दै उहाँको सेवानिवृत्त जीवन अझ सुन्दर, सक्रिय, स्वस्थ र दीर्घ रहोस् भनी कामना गर्नुभयो।
सम्मानित व्यक्तित्व प्रा.डा. कार्कीको ६२ औँ शुभजन्मोत्सव समेत यही साता परेकोले सो कार्यक्रममा उहाँको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरियो। उक्त अवसरमा कार्की त्रिभुवन विश्वविद्यालयको शिक्षण पेशाबाट ३५ वर्षे सेवा अवधि पूरा गरी हालै मात्र सेवानिवृत्त भएको जानकारी दिँदै निकट भविष्यमा हुने उहाँको विदेश भ्रमणका लागि शुभकामना दिइयो।
कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. कार्कीले आफ्नो लेखन यात्राबारे संक्षेपमा प्रकाश पार्दै जन्मस्थल भोजपुरको संस्मरण गर्दै प्राप्त सम्मानका लागि आभार प्रकट गर्नुभयो।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष कवि राधेश्याम लेकालीले प्रा.डा. गोविन्दमानसिंह कार्कीको व्यक्तित्व, कृतित्व तथा योगदानको चर्चा गर्नुभएको थियो।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा प्रा. डा. कपिल अज्ञातले शुभकामना मन्तव्य राख्नुभएको थियो। मन्तव्यका क्रममा सम्मानित व्यक्तित्वको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँको सक्रियता र साहित्यप्रतिको योगदानको चर्चा गरियो।
दर्शकदीर्घामा वरिष्ठ साहित्यकारहरू रामप्रसाद पन्त, प्रमोद प्रधान, सुभाषचन्द्र पौडेल भीमफेदीया, विमल भौकाजी, राजेश खनाल, शङ्कर भारती, डी. आर. राई, प्रकाश घायल, श्रीबाबु कार्की, राजनप्रसाद न्यौपाने, उमेश पाण्डेलगायतको उपस्थिति थियो।
पवन आलोक नियात्रा पुरस्कारकी संस्थापक रेखा कँडेल, वरिष्ठ समाजसेवी तथा संगीत-साहित्यप्रेमी जीवन श्रेष्ठ तथा साहित्यप्रेमी कल्पना श्रेष्ठको गरिमामय उपस्थितिले कार्यक्रम थप शोभायमान भएको थियो। कार्यक्रममा सञ्चालक निरालाई जेनजी पुस्ताकी रोजविन सेर्पाबाट सहयोग भएको थियो।
०००
कृष्ण बाउसेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































